सुरुङमार्गसहित दर्जन परियोजनामा सम्झौता हुँदै
काठमाडौं, असोज २६ : नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता सुरू भएको छ। वार्तामा एकदर्जन ठूला परिय
काठमाडौं, असोज २६ : नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता सुरू भएको छ। वार्तामा एकदर्जन ठूला परियोजनामा चिनियाँ सहयोग रहनेगरी समझदारीपत्रमा हस्ताक्षर हुँदै छ।
चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा एकदर्जन परियोजना निर्माणमा सहयोग गर्न नेपालले प्रस्ताव गर्नेछ। जसमा सबैभन्दा चासो भने चीनले केरुङदेखि काठमाडौं जोड्ने सडकमा निर्माण हुने दुई वटा सुरुङमा रहेको छ।
चीनले दुई वटा ठूला सुरुङ निर्माणमा सघाउने गरी सम्झौता हुँदै छ। राष्ट्रपति सीले शनिबार सम्बोधनकै क्रममा सुरुङमार्ग निर्माणमा सघाउने घोषणा गरेका थिए।
चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिँदै सुरुङमार्ग बनाइदिने जनाएको छ। करिब २८ किलोमिटर लम्बाइ हुने दुइटा सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको हो ।
सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सीले दिएका छन्। तर रेलको सम्भाव्यता अध्ययनसँगै निर्माणमा समय धेरै लाग्ने भएकोले चीनले देखिने गरी छिटो काम गर्न केरुङ–काठमाडौं सडकलाई प्राथमिकता दिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई वटा सुरुङ निर्माणमा झन्डै तीन खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ति अधिकारीका अनुसार एक किलोमिटर सुरुङ निर्माणका लागि कम्तीमा १० अर्ब रुपैयाँ लाग्ने छ। २८ किलोमिटर सुरुङका लागि अहिलेको हिसावले दुई खर्ब ८० अर्ब रुपैयाँ लाग्ने उनको अनुमान छ।
काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा सहमति हुँदै छ।
टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो निर्माण हुनेछ। नेपालले यसलाई पनि केही लम्ब्याउने गरी प्रस्ताव गरेको छ। त्यस्तै रसुवाको बेत्रावतीबाट–स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण गर्नका लागि समाझदारीपत्रमा हस्ताक्षर हुँदै छ।
२४ किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु गरिने छ।
प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन्।
वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ भने संयुक्त वक्तव्य समेत निकालिनेछ।






