हिमालपार रेलमार्ग निर्माणको काम अघि बढाउने राष्ट्रपति सीको घोषणा
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालपार रेलमार्ग निर्माणको काम अघि बढाउने घोषणा
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालपार रेलमार्ग निर्माणको काम अघि बढाउने घोषणा गरेका छन्।
होटल सोल्टीमा शनिबार साँझ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हिमालपार रेलमार्ग कठिन भए पनि निर्माणको काम अघि बढाउने घोषणा गरेका हुन्।
चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै राष्ट्रपति सीले यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए।
राष्ट्रपति सीले रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनको काम तत्काल सुरु गरिने पनि बताए। ‘सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल गर्नेछौं। केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई पनि अगाडि बढाउन चाहन्छौं,’ उनले भने।
राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताए। नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने घोषणा गरे।
‘चीन सबैसँग सम्बन्ध बलियो बनाउन चाहन्छ’
राष्ट्रपति सीले आफूहरु सबैसँग बलियो सम्बन्ध बनाउन चाहेको बताए। उनले चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए।
उनले सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने बताए। राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन हुँदा त्यसलाई यसलाई समाधान गर्न सकिने बताए। उनले नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए।
नेपाललाई अन्तर्राष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै सीले चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए।






