राष्ट्रपति भण्डारी र सीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, असोज २५ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भ
काठमाडौं, असोज २५ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
दुई दिने नेपाल भ्रमणका लागि शनिबार साँझ काठमाडौं आएका राष्ट्रपति सीले शीतलनिवास पुगेर समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। उनीहरुबीच दुई देशबीच रहि आएको सम्बन्ध, द्विपक्षीय हित, आपसी सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
भेटमा राष्ट्रपति भण्डारीले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको भन्दै चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद व्यक्त गरेकी थिइन्। भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विश्वास राष्ट्रपति भण्डारीले भेटमा व्यक्त गरेकी थिइन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै होटल सोल्टी पुगेको राष्ट्रपति सी केहीबेर आराम गरेर समकक्षी भण्डारीलाई भेट्न पुगेका थिए।
राष्ट्रपति सीले शनिबार साँझै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग होटल सोल्टीमै भेटवार्ता गरेका छन्।
राष्ट्रपति सी समकक्षी भण्डारीले आफ्नो सम्मानमा होटल सोल्टीमा दिएको रात्रिभोजमा सरिक हुनेछन्।






