सभामुख र सांसदबाट राजीनामा गर्न नेकपाको निर्देशन
काठमाडौं, असोज १४ : सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपा सचिवालय बैठकले निर्देशन दिएको छ।
काठमाडौं, असोज १४ : सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपा सचिवालय बैठकले निर्देशन दिएको छ।
नेकपा सचिवालय बैठकले सभामुख र सांसदबाट राजीनामा गर्न निर्देशन दिएकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार, नेकपा सचिवालय बैठकमा सभामुख महरामाथि लागेकाे आराेपका विषयमा छलफल भएकाे थियाे।
सभामुख महरामाथि बलात्कारकाे आराेप लागेपछि नेकपाले आज बिहान सचिवालयकाे आकस्मिक बैठक बाेलाएकाे हाे। सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे थियाे। दुवै नेताबीच भएकाे छलफलमा राजीनामा दिन लगाउने तय गरिएकाे थियाे।
त्यसपछि बसेकाे नेकपा सचिवालय बैठकले सभामुख महरालाई संघीय संसद्काे सभामुख र सांसदबाट राजीनामा दिन निर्देशन दिएकाे नेकपा प्रवक्ता श्रेष्ठले बताए।
संसद् सचिवालयकी कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै महरा कोठाबाट निस्केको ति महिलाले बताएकी छन्। राति नै प्रहरीले उनको कोठामा पुगेर फोटो खिच्नुका साथै सोधपुछ गरेको थियो।
सोमबार महराको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको थियो। तर, आज बिहान विभिन्न मिडियासँगको कुराकानीमा सभामुख महराले उनको कोठामा गएको स्वीकारेका छन्। तर, उनले केही गलत नगरेको बताउदै आएका छन्।






