सी जिनपिङ पथ पढाउन नेकपाभित्र होडबाजी
काठमाडौं, असोज ६ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएको सी जिनपिङ प
काठमाडौं, असोज ६ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएको सी जिनपिङ पथको प्रभाव बढेको छ। पार्टीका शीर्षनेताहरूमा उक्त पथको नेपाली व्याख्याता को हुने भन्ने होड नै सुरु भएको छ।
पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल संयोजक रहेको ‘कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समिति’ले ‘सी जिनपिङ् विचारधारा र बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’बारे बृहत् अन्तक्रिया गरेको दुई दिनपछि आज (सोमबार) पार्टी स्कुल विभागले नै यस विषयमा दुईदिने प्रशिक्षण राखेको छ।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिएको जानकारीअनुसार, नेकपा स्कुल विभागको आयोजनामा राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल ‘याक एण्ड यती’मा सोमबार साँझ ५ बजे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ‘सी जिनपिङ् विचारधारा र बीआरआई’ सम्बन्धी उक्त प्रशिक्षणको उद्घाटन गर्ने छन्।
प्रशिक्षणमा जम्मा २४० जना सहभागी हुने छन् । चिनीया विदेश विभागका ४० जना आउने र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यभन्दा माथिका दुई सय जना नेता सहभागी हुने छन् । याक एण्ड यती होटलको उक्त कक्षमा २४० जनाको मात्र सीट क्षमता भएकाले त्यति मात्रका लागि व्यवस्थापन गरिएको थापाले जानकारी दिए ।
असोजकै अन्तिम साता चीनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने समाचारहरू सार्वजनिक भइरहेका बेला यो प्रशिक्षण आयोजना गरिएको हो । नेपालले बीआरआईमा यसअघि नै हस्ताक्षर गरिसकेको छ ।
स्कुल विभाग प्रमुख रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त कार्यक्रमको उद्घाटन शत्रलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रमुख एवम् चीनका वरिष्ठ कूटनीतिज्ञ समेत रहेका सङ ताओले पनि सम्बोधन गर्नेछन्।
थापाका अनुसार, सोमबार उद्घाटन हुने उक्त प्रशिक्षण कार्यक्रम मंगलबारसम्म चल्ने छ। प्रशिक्षणमा नेकपा सचिवालयका अध्यक्षद्वय लगायत सबै नौ जनालाई नै आमन्त्रण गरिएको छ भने स्थायी कमिटीका सबै सदस्य आमन्त्रित छन्। केन्द्रीय कमिटीका एक चौथाई सदस्यलाई प्रशिक्षणमा डाकिएको छ। भोलि चिनियाँ कम्युनिष्ट पार्टीका प्रशिक्षकहरूले प्रशिक्षण दिने थापाले जानकारी दिए।
यसअघि शनिबार ‘कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समिति’ले प्रज्ञाभवन, कमलादीमा आयोजना गरेको प्रशिक्षणमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रको शीर्षक थियो– ‘सी जिनपिङ् विचारधारा र बिआरआई : के विश्व व्यवस्था बदलिँदैछ?’
भुसालको कार्यपत्रमाथि नेकपा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गणेश साह र चीनका लागि पूर्व नेपाली राजदूत टङ्क कार्कीले टिप्पणी गरेका थिए।
के हो– ‘सी जिनपिङ् विचारधारा’
चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनले सी जिनपिङ् विचारधारालाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गिकार गर्यो। त्यहाँको संविधान संशोधन गरी उक्त संविधानमा ‘सी जिनपिङ् विचारधारा’ लेखियो। त्यसपछि राष्ट्रपति सी जिनपिङ अध्यक्ष माओत्सेतुङ र अर्का नेता देङ सियाओ पिङपछिका सबैभन्दा शक्तिशाली नेता भएका छन्।
नेकपा स्थायी कमिटी सदस्य भुसालको कार्यपत्रअनुसार, १८औँ महाधिवेशनदेखि नै उनले ‘दुई शताब्दी लक्ष्य’बारे उल्लेख गर्दै आएका थिए। त्यस अवधारणालाई १९औँ महाधिवेशनले व्याख्या गर्यो। सामञ्जस्यपूर्ण आर्थिक, राजनीतिक, साँस्कृतिक, सामाजिक र पर्यावरणीय विकासलाई बढाउनु, गरिबी निवारण गर्नु, दिगो विकास, प्रदुषण नियन्त्रणजस्ता कामहरु गर्दै चीनलाई औसत रूपले समृद्ध मुलुक बनाउनु पहिलो शताब्दी लक्ष्यका रुपमा व्याख्या गरियो।
नयाँ चीन स्थापनाको सय वर्ष २०४९ सम्मलाई पहिलो १५ र दोश्रो १५ वर्षमा विभाजन गरियो र २०३५ सम्ममा समाजवादी आधुनिकीकरणलाई आधारभूत रूपले सम्पन्न गर्ने, गाउँ र शहर, एक र अर्को प्रदेशका साथै (नागरिकहरुको) जीवनस्तरका असमानताहरु अन्त्य गर्ने, कानूनको शासन तथा सुशासनलाई सुदृढ पार्ने लगायतका लक्ष्यहरु राखिएको छ।
अर्को १५ वर्षमा चीनलाई भौतिक, राजनीतिक, साँस्कृतिक, नैतिक र पर्यावरणीय हिसाबले नयाँ उचाइमा पुर्याएर एउटा विकसित समाजवादी मुलुक बनाउने उद्देश्यहरु प्रष्ट पारिएको नेता भुसालको कार्यपत्रमा उल्लेख छ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)
भुसालको कार्यपत्रअनुसार, आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित भएपछि सी जिनपिङ्ले इतिहासकै सबैभन्दा महत्वकांक्षी विकासको अन्तर्राष्ट्रिय योजना अगाडि सारेका छन्। यसले पुरानो रेशममार्गलाई दुई हजार वर्षपछि नयाँ रूपमा ब्यूँताउँछ। एसिया, अफ्रिका, युरोप र ओसिनियाका करिब ७० वटा मुलुकलाई र ६२ प्रतिशत विश्व जनसङ्ख्यालाई प्रत्यक्षतः समेट्छ।
बिआरआई क्षेत्रका मुलुकहरुमा सहकार्य स्थापित गर्नु, बहुपक्षीय तथा बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नु, स्वतन्त्र–बहुलतायुक्त–सन्तुलित तथा दिगो विकास हासिल गर्नु, यस क्षेत्रका मुलुकहरुका विकास रणनीतिहरुका बीचमा समन्वय गर्नु, बजारको सामर्थ्यलाई उपयोग गर्नु, लगानी र उपभोगलाई प्रोत्साहित गर्नु, माग र रोजगारी सिर्जना गर्नु, जनस्तरमा साँस्कृतिक आदान–प्रदानलाई बढाउनु, सम्बन्धित मुलुकका जनताबीच आपसी सिकाइलाई बढाउनु र तिनीहरुका बीच समझदारी, विश्वास, सम्मानका साथ सामञ्जस्य, शान्ति र समृद्धिका बाँच्न सघाउनु यसका उद्देश्य रहेको भुसालको कार्यपत्रमा उल्लेख छ।
बिआरआईले संयुक्त राष्ट्र सङ्घका उद्देश्य तथा सिद्धान्तहरु र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरु : एकअर्कोको सार्वभौमसत्ताको र भौगोलिक अक्षुणताको सम्मान, अनाक्रमण, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्वलाई अवलम्बन गर्छ।
नेता भुसालका अनुसार, यस्तो मञ्च हो जहाँ मुलुकहरुले व्यापार, लगानी र नाफाको कुरा गर्छन्। त्यस अर्थमा यो आफैमा ‘सबैसँग भएको सबैले बाँड्ने’ समाजवादी परियोजना होइन। तर वर्तमान वित्तिय पुँजीवादी युगमा सबैले स्वतन्त्रतापूर्वक समानताका आधारमा पुँजी बजारमा पहुँच राख्ने र आफ्नो विकासमा लगाउने मौका पाउँछन् जसले वित्तीय पुँजीको अनियन्त्रित शोषणलाई अर्थात् वित्तीय एकाधिकारलाई रोक्छ।
नेता भुसालले लेखेका छन्, ‘यस परियोजनाले चीनको आर्थिक वृद्धिलाई अरु मुलुकहरुको वृद्धिमा लगाउने र त्यसमार्फत् चीनकै दिगो वृद्धिलाई ठाउँ दिन्छ। यसरी चीन र अरु मुलुकहरु सँगसँगै सबैको साझा भविष्य निर्माण गर्ने सम्भावना दिन्छ।’
सी जिनपिङ पथ र नेकपा
आर्थिक महाशक्तिको रूपमा उदाउँदै गरेको विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीन र कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको नेपाल। यहाँ सी जिनपिङ पथको बहस तीव्र भएको छ। विगतमा रुस र चीनलाई हेर्ने दृष्टिकोणको विवादमा नेपालका कम्युनिष्ट पार्टी फुटेको समेत इतिहास छ। त्यसैले कम्युनिष्ट पार्टीमा यस्ता बहसलाई निकै महत्वपूर्ण मानिन्छ।
नेकपाका नेताहरूमा यसको व्याख्याता बन्ने होड नै देखिएको छ। नेकपा प्रचार विभाग उपप्रमुख थापा घनश्याम भुसाल नेतृत्वमा भएको कार्यक्रम र स्कुल विभागको कार्यक्रम अलग–अलग भएको बताउँछन्। ‘यो प्रतिस्पर्धा नै भन्न मिल्दैन’, उनले भने।
स्कुल विभाग प्रमुखको दाबी गर्दै आएका तर अध्यक्ष केपी शर्मा ओलीले नचाहेका कारण नपाएका नेता हुन्– घनश्याम भुसाल। एमाले पूर्व उपमहासचिव उनले नेकपाभित्र र बाहिर ‘मार्क्सवादी चिन्तक’को छवि बनाएका छन्।
एमालेको नवौँ महाधिवेशनमा उनैले अघि सारेको विचार एमालेको अधिकारिक विचार बनेकाले भुसालको नेतृत्वमा स्कुल विभागभन्दा दुई दिनअघि करिब पाँच सय जना पार्टीका विभिन्न तहका नेता-कार्यकर्ता सहभागी गराएर कार्यक्रम गरेका छन्।
त्यसलगत्तै पार्टी स्कुल विभागको कार्यक्रम तय भएको छ तर लामो समय सी जिनपिङ विचारधाराको अध्ययन गरी गत महिना एक साता चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूसँग यसबारे छलफल गरी फर्केका थिए नेता भुसाल। तर, स्कुल विभागको कार्यक्रममा उनको प्रस्तुति नरहेको नेकपाका एक नेताले बताए।
भुसालनिकट केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘पार्टी स्कुल विभाग र मार्क्स जन्म द्वी–शतवार्षिकी समारोह समितिको एकै विषयमा कार्यक्रम पर्नु संयोग मात्र हो ।’ उनले पार्टी स्कुल विभागले कुन तहको कार्यक्रम गर्न लागेको भन्ने आफूहरूलाई पूर्व जानकारी नभएका कारण अन्तर्क्रियात्मक कार्यक्रम राखिएको बताए।
माक्र्स जन्म द्वी–शतवार्षिकी समारोह समितिले आयोजना गरेको कार्यक्रममा पार्टीभित्र ‘ओली गुट’ को ट्याग लागेका नेता कार्यकर्ता सहभागी थिएनन् भने स्कुल विभागको कार्यक्रममा ‘मार्क्स जन्म द्वी–शतवार्षिकी समारोह समिति’ कार्यक्रममा सहभागीमध्ये थोरै केन्द्रीय सदस्यमात्र आमन्त्रित छन्।






