Kathmandu Press

कांग्रेस सभापति देउवाको प्रश्न-के प्रधानमन्त्रीको हुकुममा चल्न सेना नोकर हो र? 

काठमाडौं, चैत २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षा परिषद् सम्बन्धी विधेयकप्रति चर्को आलोचना गरेका छन्।&nb....

कांग्रेस सभापति देउवाको प्रश्न-के प्रधानमन्त्रीको हुकुममा चल्न सेना नोकर हो र? 

काठमाडौं, चैत २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षा परिषद् सम्बन्धी विधेयकप्रति चर्को आलोचना गरेका छन्। 

शुक्रबार काठमाडौंमा ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकार हरेक ठाउँमा हस्तक्षेप गर्दै हिडेको र अहिले आएर सुरक्षा परिषदले नै सेना परिचालन गर्ने गरी अधिकार आफैमा लिन खोजेको आरोप लगाएका हुन्। उनले भने,‘अब के सेना परिचालन नै प्रधानमन्त्रीले गर्ने? यो पनि कहिँ हुन्छ? के प्रधानमन्त्रीको हुकुममा चल्न सेना कसैको नोकर हो र?’ उनले नेपाली सेना राष्ट्रको सेना भएको बताए। 

देउवाले सरकार हरेक ठाउँमा हस्तक्षेप गर्दै हिडेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु पर्ने बेला आएको बताए। उनले भने,‘सरकार अब यस्तै तरिकाले चल्ने हो भने। हामी त्यसविरुद्ध आन्दोलनमा जानु पर्छ। यस्तो तरिकाले चल्दैन, तपाईँहरु अगाडि बढ्नुस्। हामी साथमा छौं।’

सरकारप्रति आक्रोशित मुद्रामा पेश भएका सभापति देउवाले केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार जनतालाई शान्ति सुरक्षा दिन पूर्णरुपमा असफल भएको आरोप लगाए। उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गरेको बताए।

उनले दुई तिहाईको सरकार आएपनि जनताले महसुस गर्ने खालका काम नभएको बताए। उनले ओली नेतृत्वको सरकार बनेसँगै देशमा महँगी चुलिएको आरोप लगाए। उनले भने,‘ व्यापारी, साधारण जनताले ठाउँ–ठाउँमा कर तिर्दा तिर्दै हैरान भएको भन्ने गुनासो गरिरहेका छन्। कुखुरामा पनि एक जिल्लाबाट अर्कोमा लैजाँदा कर लाग्दोरहेछ। त्यसैले प्रधानमन्त्रीको नाम केपी शर्मा ओलीभन्दा पनि करप्रसाद ओली राख्नु पर्ने बेला भइसकेछ।’

फरक प्रसंगमा देउवाले राष्ट्र टुक्र्याउनु पर्छ भन्ने सीके राउतसँग वार्ता गर्ने सरकारले नेत्रविक्रम चन्दसँग वार्ता गर्न नखोजेको बताए। उनले तत्काल विप्लव समूहसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारले पहल गर्नु पर्ने बताए।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्