मोक्षको कामनासहित मनाइने गुंपुन्हि पर्व
नेपाल सम्वत अनुसार गुंला महिनामा पर्ने पर्व हो गुंपुन्हि। नेपालभाषामा ९ अङ्कलाई 'गु' भनिन्छ र यो पर्वलाई पनि

नेपाल सम्वत अनुसार गुंला महिनामा पर्ने पर्व हो गुंपुन्हि। नेपालभाषामा ९ अङ्कलाई 'गु' भनिन्छ र यो पर्वलाई पनि ९ अङ्कसँग जोडेर हेर्ने गरिन्छ। नेपाल सम्वतअनुसारको महिनाहरु सरसर्ति हेर्यो भने गुंला दशौं महिनामा पर्छ तर, कार्तिक कृष्ण पक्षबाट शुरु नभई शुक्ल पक्षबाट शुरु हुने वर्षको महिनाहरु गणना गरी हेरेमा नवौं महिनामा पर्न आउँछ।
त्यसैगरी यो दिनमा ९ थरी गेडागुडी मिसाइ क्वाति पकाएर खाइन्छ। साथमा ९ धाराको पानीले नुहाई, ९ थरी गेडागुडी भएको क्वाति खाई, ९ जोर लुगा फेर्दै ९ पटक मठमन्दिर वा भनौं विहार घुम्न जाने भन्ने सामाजिक मान्यता पनि छ।
वर्षभरिका विभिन्न साँस्कृतिक, धार्मिक गतिविधिहरुमध्ये एकैपटकमा धेरै थरि गतिविधिहरु गरिने पर्व यो गुंपुन्हि नै हो। गुंला महिनाभरि एकाविहानै धाः बाजा बजाउँदै धार्मिक स्थलहरु घुम्न जाने त गरिन्छ नै। गुंपुन्हि एकै दिनभरिमा क्वाति पकाएर खाने, पुरोहितलाई क्वातिसहित सिदा दिने, पुरोहितको हातबाट गैर नेवार समाजमा डोरो र नेवार समाजमा गुंपुचः बाँध्ने, विभिन्न बहाल अथवा विहारहरुमा वौद्ध धर्मसँग सम्वन्धित सामग्रीहरु प्रदर्शन गर्ने गरिन्छ।
त्यस्तै, तराईतिर दिदीबहिनीहरुले दाजुभाईलाई हातमा राखि बाँधिदिने र किसानहरुले खेतमा, अरुले मन्दिरमा भ्यागुतोलाई भात ख्वाउने भन्दै भातको साथै क्वाति, काँक्रो, चिउराको ग्वःजा (भिजेको चिउरालाई स्तूपा आकारमा बनाइने), बोडि, नासपाति, मुला, विमरो, मासुको साथमा टिका, अक्षता, फुल समेत राखेर खेतमा राख्न लगिन्छ। यसै दिनमा तागाधारीहरु जनै फेर्ने पनि गर्छन्।
एक दिनभित्रमा सम्पन्न गरिने यी विभिन्न साँस्कृतिक गतिविधिहरु एकै ठाउँमा बाँधेको छ त, एउटा आस्थाले वा भनौं एउटा भावनाले । पितृमोक्षको कामना गर्दै प्राय यी सबै गतिविधिहरु सम्पन्न भइरहेका हुन्छन्।
हुनत क्वातिलाई कृषिसँग पनि जोडेर हेर्ने गरिन्छ । रोपाईँलाई नेपालभाषामा सिनाज्या भनिन्छ अर्थात, मरि मरि गरिने काम । दिनोरात भोकप्यास नभनी किसानहरु रोपाईँ गर्ने गर्छन् । रोपाईँ सकिने बेलासम्म त शरीर थकित, शिथिल भइसकेको हुन्छ र शक्तिको आवश्यकता हुन्छ।
शिथिल शरीरमा शक्ति संचार गर्न र रोपाईँ पछि धान काट्नको लागि शक्ति संचय समेत गर्न विभिन्न पौष्टिक तत्वले भरिपूर्ण ९ थरी गेडागुडीको मिश्रण क्वाति पकाएर खाने गरिन्छ । यो एउटा सामाजिक पक्ष भइहाल्यो । योसँगै क्वातिको सम्वन्ध पितृमोक्ष पनि रहेको छ।
गुंपुन्हिको दिनमा सर्वसाधारण क्वातिसहितको सिदा तयार गरी आफ्नो पुरोहितलाई दिने गर्छन् । क्वातिदानबाट गुंपुन्हि दिनको शुरुवात हुन्छ । यो मात्र खाद्य पदार्थ नभई फलपिण्डको रुपमा पनि हेर्न सकिन्छ।
श्राद्धकै बेलामा पिठो आदिको पिण्ड बनाई खोलामा विसर्जन गर्ने त छँदैछ साथमा विभिन्न समय वा अवस्थामा फलपिण्ड दान गर्ने परम्परा पनि रहेको छ। गुंपुन्हिको दिनमा क्वातिदान पनि यस्तै एक प्रकारको फलपिण्ड जस्तै हो । आफ्नो परिवारमा दिवंगत पितृको मोक्षको गर्दै फलपिण्ड दान गरिएको हो यो क्वाति।
यसैगरी यो दिनमा भ्यागुतोलाई भात ख्वाउने गरिन्छ, जसलाई ब्यांजा नकेगु भनिन्छ । किसानहरुले खेतमा, अन्यले मन्दिर वा घरको ढोकाबाहिर भ्यागुतोलाई भात राख्ने गर्छन् । भटमास वा बोडिको पातमा भिजेको चिउराको ग्वःजा बनाई, त्यसमा गोलाकारमा काटेर सिन्का घोपेको काँक्रो, क्वाति, बोडि, नासपाति, मुला, विमरो, मासुको साथमा टिका, अक्षता, फुल समेत राखेर खेतमा, मन्दिरमा अथवा घरको ढोकाबाहिर राख्न लगिन्छ । यो चलनलाई पनि सामाजिक र धार्मिक दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ।
किसानहरुले खेतमा राख्न लग्नु भनेको त आफुले खेतमा लगाएको बालीलाई किटपंतगबाट रक्षा हो । भ्यागुतोको आहारा भनेको किटपंतग नै हो । र विगतका दिनमा काठमाडौं उपत्यकाको किसान, ज्यापु समुदायले खेतमा रसायनयुक्त विषादी प्रयोग गर्दैनथे । किटपंगत खानका लागि खेतमा आउने भ्यागुतोबाटै बालीको रक्षा होस् भन्नका लागि उनीहरु भ्यागुतोको आराधना गर्दथे । त्यहि आराधनाकै स्वरुप हो ब्यांजा नकेगु । यो एउटा सामाजिक पक्ष भयो । यसको अर्को पक्ष पनि मोक्ष नै हो।
वर्षभरिका विभिन्न साँस्कृतिक गतिविधिहरुमा पितृ मोक्षको कामना गर्ने गरिन्छ । रोपाईँको समयमा किसान परिवार निकै व्यस्त रहने गर्छन् । यो बेलामा घरमा कसैको मृत्य भएमा समेत काजक्रिया गरिन्न । मृत शरीरलाई सुकुलमा बेरेर छिँडिमा त्यत्तिकै राखिएको हुन्छ । जब रोपाईँ सकिन्छ, अनि उक्त मृत व्यक्तिको काजक्रिया पनि गरिन्छ र सद्गतिको कामना पनि गरिन्छ । साथमा परिवारमा दिवंगत अन्य सबै पितृको मोक्षको कामना पनि गरिन्छ।
नेवार समाजमा भने व्यक्तिको मात्र होइन, पशुपंक्षी, किटपंतगको समेत मोक्षको लागि साँस्कृतिक गतिविधिहरु गर्ने गरिन्छ । ब्यांजा नकेगु पनि किटपंतगको समेत मोक्षको कामना हो । यसमा राखिने विभिन्न सामग्रीहरुमा क्वाति पनि रहेकै छ । र क्वातिलाई एक फलपिण्डको रुपमा लिइन्छ भन्ने चर्चा माथि भइसकेकै छ।
यो दिन भनेको तागाधारीहरुको लागि सवभन्दा ठुलो दिन हो । यसै दिनमा तागाधारीहरुले श्रावणीकर्म गर्दै वर्षभरि लगाएको जनै निकालेर नयाँ जनै लगाउने गर्छन् र वेदारम्भ पनि यसै दिनमा गर्ने गरिन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले यो दिनमा एकाविहानै नजिकको खोलामा गई अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो, कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान,स्नान गरेर चोखोनितो गरी वेद उच्चारण गर्दै विधिपूर्वक पुरानो जनै निकाल्छन् र नयाँ जनै धारण गर्छन् । सम्पूर्ण रुपमा शुद्ध भइसकेर पितृको नाममा तर्पण पनि दिने गर्छन्। त्यसपछि यो दिनमा नुन नखाइ, अन्न एक छाक मात्रखाने गरिन्छ । वर्षभरिको अरु पितृतर्पण भन्दा श्रावण शुक्ल पुर्णिमाको दिनको तर्पण सवैभन्दा ठुलो मानिन्छ।
काठमाडौं उपत्यकाका प्राय सवैजसो चाडपर्व वा साँस्कृतिक गतिविधिहरुसँग कुनै न कुनै खाद्य पदार्थलाई विशेष स्थान दिइएको हुन्छ । ती खाद्य पदार्थको पनि आफ्नै महत्व र अर्थ रहेको हुन्छ । गुंपुन्हिसँग पनि क्वाति र अन्य प्रत्यक्ष देखिने गतिविधिहरुले निरन्तरता त पाइरहेको छ।
तर यसको मोक्षको कामना जस्तो महत्वपूर्ण पक्षबारे भने अहिलेको पुस्ता अनभिज्ञ रहेको देखिन्छ । आस्थाको साथमा यस्ता विषय भनेको आफ्ना पितृको, पुर्खाको सम्मानको विषय पनि हो । यस्ता विषयवस्तुहरुको बारे यूवा पुस्तालाई पनि ज्ञान दिनु आवश्यक छ । मात्र औपचारिकताको लागि निरन्तरताले केही अर्थ राख्दैन।











-1784808429.png)