वाइडबडी विमानः ६ महिनामै साढे १ अर्ब रुपैयाँ घाटा
काठमाडौं, चैत २९ : नेपाल वायु सेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी विमान सञ्चालन गर्न नसक्दा ६ महिनामै साढे १ अर्ब भन्दा बढी घाटा भएको छ।....
काठमाडौं, चैत २९ : नेपाल वायु सेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी विमान सञ्चालन गर्न नसक्दा ६ महिनामै साढे १ अर्ब भन्दा बढी घाटा भएको छ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा दुई वटा वाइडबडी जहाज पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्द्या ६ महिनामै १ अर्ब ६६ करोडभन्दा बढी घाटा भएको देखाएको हो। निगमले आफ्नो लक्ष्य अनुरुप वाइडबडी विमानको उडान गर्न नसक्दा घाटा भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा २०७५ साउनदेखि पुससम्मको ६ महिनामा निगमले १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी व्यहोरेको उल्लेख छ। निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २३ अर्ब ९९ करोड ६१ लाख ऋण लिएर २२ अर्ब ९० करोड १७ लाख १६ हजार रुपैयाँ विमान खरिदमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।
वाइडबडी विमान खरिद गर्दा अर्बौ रुपैयाँ अनियमितता भएको भन्दै लेखा समिति अन्तर्गत गठित उपसमितिले त्यसबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको थियो। अख्तियारले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे आवश्यक छानविन भइरहेको जनाएको छ।






