Kathmandu Press

‘ओम् शान्ति जय नेपाल, आजु जय हा’

श्रावण कृष्ण चतुर्दशी, यो दिनलाई काठमाडौं उपत्यकाका नेवाः समुदायले विशेष रुपमा मनाउने गरेका छन् । यो दिनलाई नेवाः समु

‘ओम् शान्ति जय नेपाल, आजु जय हा’
रेखा शाक्य

श्रावण कृष्ण चतुर्दशी, यो दिनलाई काठमाडौं उपत्यकाका नेवाः समुदायले विशेष रुपमा मनाउने गरेका छन् । यो दिनलाई नेवाः समुदायले गथांमुगः पर्वको रुपमा मनाउँछन् । हेर्दा रमाईलो, केही अश्लिलता वा यौन पक्षसमेत मिस्सिएको मनोरन्जनात्मक चाडको रुपमा हरेक वर्ष काठमाडौं उपत्यका वा भनौं तत्कालीन नेपालमण्डल खाल्डोमा गथांमुगः मनाइन्छ । यो चाडलाई उत्सवको रुप दिँदै स्थानीय समुदाय चिच्याउने पनि गर्छन्, ‘ओम् शान्ति जय नेपाल, आजु जय हा।’

गथांमुगः पर्वको शुरुवात कहिलेबाट भयो भन्ने कुनै स्पष्ट प्रमाण वा आधार भेटिएको छैन । ईतिहासको कुनै कालखण्डमा भएका प्रमाणहरु नष्ट भएका वा गरिएका हुन सक्छन् । यो पर्वको शुरुवात १४औं शताव्दितिर भएको जानकारहरु बताउँछन् । गथांमुगः पर्वलाई विशेष गरी अदृश्य शक्ति अथवा आसुरी वा भूतप्रेत आदिसँग जोडेर हेर्ने गरिएको छ।

अचेल त यो दिनलाई नेवार समुदायको अथवा नेपालको ‘हालोविन डे’ भनेर पनि भन्न थालिएको छ । यस रातमा आसुरी शक्ति प्रवल हुने विश्वास रहि आएको छ । तन्त्रविद्याको साथै कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरुले यो रातमा साधना गरे सिद्धि प्राप्त हुने पनि भनि आएको छ । कुविद्याको साधना गर्नेहरु यो रातमा आफ्नो औंलामा आगो बालेर निस्किन्छ भन्ने विश्वास रहिआएको छ । नेवार समुदायले यो दिनलाई आफ्नो घरबाट दुष्टात्मा र प्रेत पन्छाउने दिनको रुपमा अथवा गृह शान्तिको दिनको रुपमा मनाउने गरेका छन्।

यो पर्वको नामसँग पनि विभिन्न पक्षहरु, विषयहरु जोडिएका छन् । नामको अर्थमा जोडिनुभन्दा अघि यो पर्व कसरी मनाइन्छ भनी थाहा पाउनु आवश्यक छ । यो दिनमा नर्कटको तीनवटा खुट्टा भएको मानवाकृति बनाइन्छ । र नाङ्लोमा राक्षसको जस्तो आँखा, नाक, मुख इत्यादि लेखि अनुहार बनाएर यसमा राखिन्छ । यसैलाई नै गथांमुगः भन्ने गरिन्छ।

यसरी बनाइएका गथांमुगःहरु विभिन्न ठाउँमा राख्ने गरिन्छ । काठमाडौंमा ईन्द्रचोक, किलागल, नरदेवी, त्यंगल, न्हाय्कंटोल, थँहिति आदि स्थानहरुमा यसप्रकारका गथांमुगः ठड्याउने गरिन्छ । यहि गथांमुगःलाई घन्टाकर्ण पनि भन्ने गरिन्छ । रुद्रयामल तन्त्रमा वर्णन गरिएका घन्टाकर्ण एक नास्तिक पात्र हु्न्, जो भगवानको नाम नसुनियोस् भनेर कानमा घन्टा झुन्ड्याएर हिँड्थे । यहि घन्टाकर्णको नामबाट यस दिनलाई घन्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ । गथांमुगः स्थानीय नाम र घन्टाकर्ण भनेको शास्त्रीय नाम भनेर पनि व्याख्या गरेका छन्।

गथेकाे प्रतिमा।

यसको साथमा गथांमुगःलाई महादेवको प्रतीकको रुपमा व्याख्या गरेको पनि देख्न सकिन्छ । कुनै बेलामा वैष्णव मत र शैव मतबीच द्वन्द रहँदा यसलाई राक्षसको प्रतीक भन्न थालिएको कथन छ । साथमा यसलाई कुमार कार्तिकेयको रुपमा लिइएको पनि पाइन्छ । यहि गथांमुगःलाई अर्धनारीश्वर अथवा शिवशक्ति पनि भनेका छन्।

तर, यहाँको स्थानीय समुदाय भने गथांमुगः यस्तो कानमा घन्टा बोकेर हिँड्ने कुनै पुराण वा धार्मिक ग्रन्थका पात्र नभई यहिँको स्थानीय समाजको पात्र रहेको भन्ने गरिन्छ । अचेल यस पर्वलाई गठेमंगल भनेर पनि भन्ने गरिएको सुन्न पाइन्छ । गथांमुगःलाई नै उच्चारणको कठिनाईका कारण गैर नेवारहरुले यसलाई गठेमंगल भन्न थालेको देखिन्छ । जहाँ जे जस्तो भनिए वा लेखिएतापनि स्थानीय नेवारहरुले भने यसलाई गथांमुगः नै भन्दै आएका छन्।

यस्तो खालको गथांमुगःलाई दिनभरी टोलको दोबाटोमा ठड्याउने गरिन्छ । यसको साथमा एकजना मान्छेलाई अर्धनग्न अवस्थामा शरीरभरि ओम शान्ति जय नेपाललगायत अश्लिल शब्दहरुसमेत लेखेर बसाइ राखेको हुन्छ। यस्तो व्यक्तिलाई हालाहुलु भनिन्छ । विगतमा तल्लो जातको भनिएको समुदायबाट हालाहुलु राख्ने गरिन्थ्यो। तर हाल सामाजिक जागरण आइसकेर जातीय छुवाछुत वा उँचनीचलाई समाजले वहिष्कार गर्दै लगेसँगै हालाहुलु बस्ने मान्छेहरु भने करीब नभईसकेको अवस्था छ । हाल भने विपन्न वर्गका व्यक्तिहरु खाना पाइने र केही पैसा पनि पाइने आशामा मात्र हालाहुल बस्ने गरेको देख्न सकिन्छ।

गथांमुगःलाई दिनभरि राखिसकेर हालाहुलुलाई टन्न दहि चिउरा ख्वाइन्छ र एक मुठा छ्वाली बालेर गथांमुगःलाई तीन पटक परिक्रमा गराइसकेर सोही गथांमुगःलाई ढालेर त्यसैमा हालाहुलुलाई बसाई तानेर नगरबाहिर नदिमा सेलाउन लग्ने गरिन्छ । त्यसपछि सबैजना नदिमा मुख धोइ घर फर्किने गर्छन् । सो क्षेत्रको नकारात्मक शक्तिको प्रतिकको रुपमा गथांमुगः र हालाहुलुलाई नगर बाहिर फाल्न लगिएको हो।

गथेकाे प्रतिमा।

यस विषयमा ईन्द्रचोक र किलागलको गथांमुगःको प्रचलन रोचक छ । काठमाडौंको ईन्द्रचोकमा महिला गथांमुगः राखिन्छ भने किलागल, न्हाय्कंटोल, त्यंगल, नरदेवीआदि स्थानमा पुरुष गथांमुगः राख्ने गरिन्छ । ईन्द्रचोकको गथांमुगः तानेर लगी किलागल पुगेपछि किलागलको गथांमुगःसँग सम्भोग गराइन्छ।

ईन्द्रचोकको गथांमुगःमाथि किलागलको गथांमुगः राखिन्छ र सबैले त्यसलाई कुल्चिएर दुइटै गथांमुगः तानेर लगी नदिमा सेलाइन्छ । नरदेवीमा ठड्याइने गथांमुगःमा बसेर जाने हालाहुलु महिला थिए भन्ने कथन छ । अन्य स्थानको गथांमुगः तानेर नदिमा सेलाउन लगिँदा सबैजना नाचगान गर्दै एउटा उत्सवको रुप दिन्छन् । तर नरदेवीको गथांमुगः भने राती सेलाउन लग्ने र यो कसैले हेर्नुहुन्न भन्ने मान्यता रहेको छ।

घरघरबाट पनि छ्वालीको तीनखुट्टे गथांमुगः बनाएर छ्वास (नेवार समाजमा टोलटोलमा तोकिएको निश्चित ठाउँ) मा फाल्न लग्ने गरिन्छ । छ्वालीको गथांमुगःको साथमा काँचो माटोको भेगतमा वा सलिँचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर छ्वासमा अथाव टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । नर्कटको गथांमुगः जस्तै छ्वाली र योसँगैको सामग्रीहरु पनि घरमा भएका भूतप्रेत लगायतका नकारात्मक शक्तिको रुपमा बाहिर फालिने हो।

यसरी राखिसकेर घरमा छिर्नु अघि मूलढोकाको माथि चौकोसमा तीनखुट्टे काँटि ठोकिदिइन्छ । यो काँटि ठोकिसकेपछि घरभित्र कुनै नराम्रो अदृश्य शक्ति प्रवेश गर्न सक्दैन भन्ने धार्मिक मान्यता छ । यो काँटि वा किल्लालाई स्थानीय नेपालभाषामा प्याकिं भनिन्छ । यसै दिनमा बालबच्चाहरुलाई फलाम वा पञ्चधातूको औंठी लगाइदिने चलन छ।

गथांमुगःलाई छुवाएर बाबालिकाहरुलाई यसरी फलाम वा पञ्चधातुका औंठी लगाइदिनाले नराम्रो शक्तिले बालबच्चलाई छुन नसक्ने जनविश्वास रहेको छ । विगतमा महिलाहरु यस दिनमा आ–आफ्नो हातमा लैंचा लगाउने गर्थे । घाँसलाई कुटेर पेस्ट बनाई लगाइने प्राकृतिक लैंचाको स्थान अचेल मेहेन्दीले लिएको छ।

यसप्रकारले गथांमुगः विभिन्न जनविश्वासका साथ मनाईँदै आएको छ भने यौन पक्षसँग पनि यसको सम्बन्ध देखियो । यसको साथमा यो एउटा सरसफाईको दिन पनि हो भने रोपाईँ वा खेतीपातिसँग प्रत्यक्ष सम्बन्ध जोडिएको चाड पनि हो । यसलाई नेवारहरुको पहिलो चाड भनिन्छ । वर्षको हिसाबले हेरिएमा यो नेपाल सम्वत, विक्रम सम्वत वा अन्य कुनै पनि सम्वतको हिसाबले पहिलो चाड होइन । तर रोपाईँ सकिए लगत्तै मनाइने पहिलो चाड भने यो पक्कै हो । त्यसैले नै यसलाई पहिलो चाड भनिएको हो।

यसको साथमा माथि वर्णन गरिएको छ्वालीको गथांमुगः र विभिन्न सामग्रीहरु घर बाहिर सेलाउन लग्ने चलनलाई गथांमुगः ब्यंकेगु भनिन्छ । किसान परिवारमा रोपाईँ सम्पन्न नभएसम्म गथांमुगः ब्यंकेगु गरिन्न । बरु श्रावण कृष्ण चतुर्दशी पछि भएपनि रोपाईँ सम्पन्न भएपछि मात्रै गथांमुगः ब्यंकेगु गरिन्छ । यहाँनेर नकारात्मक शक्ति वा आसुरी शक्तिको रुपमा गथांमुगः फालिएको विषय पनि स्मरण गरौं । रोपाईँलाई नेपालभाषामा सिनाज्या भनिन्छ।

सिनाको अर्थ मरेर, र ज्या भनेको काम हो। मरी मरी गरिने काम सिनाज्या । रोपाईँको क्रममा किसानको घरमा कसैको मृत्यु भएमा उसको अन्त्येष्टिसम्म पनि गरिन्न । मृत शरीरलाई सुकुलमा बेरेर राख्ने गरिन्छ र रोपाईँको काम सकिएपछि मात्रै मृत व्यक्तिको अन्तिम संस्कार गरिन्छ । त्यस्ता व्यक्तिहरुको सद्गतिको कामनासहित पनि गथांमुगः नदिमा सेलाउन लगिने हो।

फेरी एकपटक यहाँ सिनाज्याको सन्दर्भलाई स्मरण गरौं । रोपाईँको काम थोरै मात्र गार्हो पनि होइन । निकै गार्हो काम रोपाईँ गर्न आफ्नो सहयोगको लागि किसानहरुले राक्षसलाई निमन्त्रणा गर्ने गर्छन् रे । काम सम्पन्न भइसकेपछि राक्षसलाई डाँडा कटाएको हो रे गथांमुगःलाई नगर बाहिर सेलाउन लगिएको।

यी विषयहरुलाई दार्शनिक दृष्टिकोणले हेरियो भने यसमा सामाजिक अर्थ पनि लुकेको देख्न सकिन्छ । रोपाईँको क्रममा खेतमा माटोमा, हिलोमा धेरै रहनुपर्ने हुन्छ । त्यो समयमा नुहाई धुवाई पनि कम हुन्छ वा नहुन पनि सक्छ । त्यस्तो अवस्थामा खेतमा वा बाहिरका किटाणुहरु घरमा आउन सक्छन् । कसैको मृत्यु हुँदा अन्त्येष्टि नगरी सुकुलमा बेरेर कयौं दिन मृत शरीर घरमा राखिँदा त्यसबाट पनि संक्रमणको खतरा रहने नै भयो।

फेरी वर्षातकै मौसम हो । किटाणु वा जीवाणुको खतरा रहन्छ नै । यस्तो समयमा काँचो माटोको भेगतमा राखिने मासु, रगत लगायतका विभिन्न सामग्री, दहि चिउरा आदिले घरमा भएका किटाणु, जीवाणुलाई आकर्षिक गर्ने भयो । त्यस्ता किटाणु, जीवाणुलाई एकै ठाउँमा तानेर तिनीहरुलाई बालेर वस्तीभन्दा टाढा फालिएको पनि हो यो चलन।

यो पर्वले कलाकारिता क्षेत्रलाई पनि छोएको छ । यसै पर्वपछि बाजागाजा वा नाच सिकाउन पनि शुरु गरिन्छ । विभिन्न देवी नाच वा मुकुण्डो नाचको प्रशिक्षण पनि यसै दिनबाट शुरु गर्ने गरिन्छ।

गथांमुगः पछि नै विभिन्न चाडहरु पनि शुरु हुने गर्दछ । हाम्रो सँस्कृति, चाडबाडहरु मात्र मनोरन्जन वा परम्पराको निरन्तरताको लागि होइन । यसमा विभिन्न सामाजिक, व्यवहारिक अर्थहरु लुकेर रहेका छन् । ती अर्थहरु बुझेर सँस्कृति मनाइएमा त्यसले हाम्रो घरपरिवारको साथै समाजको पनि भलो नै गर्नेछ।

प्रकाशित मिति: १०:३५ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्