स्कूल विभागमा पूर्वएमाले र माओवादीकाे बेग्लाबेग्लै मोर्चाबन्दी
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागको विवादका कारण गाँठो परेको एकता प
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागको विवादका कारण गाँठो परेको एकता प्रक्रिया फुकाउने प्रयासमा पूर्व एमाले नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन्। उता पूर्व माओवादीहरू नारायणकाजी श्रेष्ठलाई अघि सारेर बेग्लै मोर्चा कसेर बसेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज पूर्व एमाले पक्षका ६ जना सचिवालय सदस्यहरूबीच विभिन्न विकल्पमा छलफल भएको छ। बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व माओवादी पक्षले बैठक नै बसी अमूक व्यक्ति चाहिँ कुनै पनि हालतमा हुँदै हुँदैन भन्दै ‘पोजिसन’ बनाउनु पार्टी एकताको भावनाविपरीत भएको अडान राखेका थिए।
पूर्व माओवादीतर्फका एक केन्द्रीय नेताले दिएको जानकारीअनुसार, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित सो पक्ष कुनै पनि हालतमा ईश्वर पोखरेललाई पार्टी स्कुल विभाग नदिने अडानमा छ।
‘पार्टीको दस्तावेज एकातिर छ, अर्कोतिर बोल्ने नेतालाई कसरी स्कुल विभागको जिम्मेवारी दिन मिल्छ?,’ उनले भने, ‘उहाँलाई जनताको बहुदलीय जनवाद चाहिन्छ, त्यसैले उहाँले त्यहीँ बसेर काम गर्नु जाति हुन्छ। पार्टी स्कुल विभाग प्रमुख र प्रवक्ता पार्टीको आधिकारिक लाइन मात्र बोल्ने मान्छे चाहिन्छ।’ केही दिनअघि साविक माओवादीका नेताहरू बैठक बसी कुनै पनि हालतमा पोखरेललाई नदिने अडान राखेका थिए।
ती नेताले झलनाथ खनाललाई स्कुल विभाग दिएर जानसम्म सकिने झिनो आशा व्यक्त गर्दै भने, ‘एमालेका साथीहरूले ईश्वर पोखरेलको नाममा पुनर्विचार नगरेमा दुवै अध्यक्षसँग स्कुल विभाग राखेर अघि जाने विकल्प उपयुक्त हुन्छ।’
यता पूर्व एमालेलगायत अध्यक्ष केपी शर्मा ओली पक्ष चाहिँ कुनै पनि हालतमा नारायणकाजी श्रेष्ठलाई स्कुल विभाग दिन तयार देखिँदैन। अध्यक्ष ओली तयार नभएसम्म सो विभागको जिम्मेवारी श्रेष्ठकहाँ जाने संभावना छैन।
ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘कमरेड ईश्वर मालेको पूर्णकालीन कार्यकर्ता भएर भूमिगत हुँदा आफूलाई स्कुल विभागको आकाँक्षी दाबी गर्ने नेताजी कुन पार्टीको वकालत गर्दै हिँड्थे, त्यो पनि हेरिनुपर्छ।’
ओली पक्षको बुझाइमा अध्यक्ष प्रचण्डको भूमिका प्रधानमन्त्री ओलीको ‘पखेटा काट्ने’ र ‘मुख थुन्ने’मा केन्द्रित छ। प्रचण्डले प्रधानमन्त्रीको जानकारीबेगर भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखलाई भेट्ने, विद्रोही माओवादीका विप्लव, प्रकाण्ड र धर्मेन्द्र बास्तोलासँग भेटवार्ता गर्ने काम गरेको यही मिसन अन्तर्गत हो। त्यसैले पनि स्कुल विभाग उनले भनेको पक्षलाई सकेसम्म नदिने ओली पक्षको रणनीति छ।
पूर्व एमाले ६ मध्ये तीन जना सदस्यहरू वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतमको मत आफूले रोजेका तीन विभाग लिने र नारायणकाजीलाई स्कुल विभाग दिन तयार छन्। उनीहरू पोखरेलभन्दा श्रेष्ठलाई नै ‘फेवर’ गरिरहेका छन्। प्रचण्डले पनि श्रेष्ठ भनेकाले पोखरेललाई कुनै पनि हातलमा नदिने पक्षमा नै पल्डा भारी देखिन्छ।
नेकपाका ३२ वटा विभागहरूको टुंगो लगाउन आज अपरान्ह ३ बजेका लागि तोकिएको सचिवालय बैठकको तयारीस्वरुप डाकिएको बैठकमा ओली पोखरेललाई स्कुल विभाग प्रमुख दिने कुरामै अडिग छन् भने प्रचण्ड नारायणकाजीकै पक्षमा। यसमा कुरो नमिल्ने संभावना भएकाले स्कुल विभाग अध्यक्षसँगै राखेर अरु विभाग मात्र बाँड्ने विकल्प पनि छ।
नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्षसँग राख्नु समाधान नहुने र समस्यालाई ज्युँका त्युँ राखेर अघि बढ्ने प्रयास भएको बताइसकेका छन्।
दोस्रो विकल्प, सचिवालयमा रहेका सबैले जिम्मेवारी पाइरहेकाले त्योभन्दा तल स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यलाई विभागीय प्रमुखको जिम्मेवारी दिएर निकास निकाल्ने विकल्प पनि अघि सारिएको छ। ईश्वर पोखरेलले अघि सारेको यो विकल्पमा सचिवालय सदस्यहरुले समग्र पार्टीको नेतृत्व गर्ने भएकाले विभागको सीमाभित्र रहन नहुने तर्क छ।
यो विकल्पमा धेरै स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य सहमत देखिन्छन्। यसअघि नै तीन शीर्षनेताहरू- विदेश विभागमा माधवकुमार नेपाल, नीति अनुसन्धान विभागमा झलनाथ खनाल र संगठन विभाग वामदेव गौतमले लिने तय भइसकेकाले सचिवालयले विभाग नलिने विकल्पमा सहमति हुने संभावना चाहिँ कम देखिन्छ।
स्कूल विभागको विवाद मिलाउने प्रयासमा अध्यक्ष दाहालले हिजो दिनभरि गृहकार्य गरेका छन्। उनले प्रधानमन्त्री केपी ओलीसँग दुईपटक छलफल गरे भने माधवकुमार नेपाल र विष्णु पौडेलसँग पनि यसबारे छलफल गरेका छन्।
प्रचण्ड सकेसम्म नारायणकाजीलाई दिने, नभए अध्यक्ष सँग राख्ने तर पोखरेललाई कुनै पनि हालतमा नदिने पक्षमा दृढ रहेको उनीनिकट एक केन्द्रीय सदस्यको दाबी छ।
साविक एमालेका भागमा परेका विभागहरू
१. अर्थ तथा योजना
२. उद्योग तथा वाणिज्य
३. निर्वाचन
४. न्याय, कानून तथा मानवअधिकार
५. पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन
६. प्रादेशिक मामला
७. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
८. युवा तथा खेलकुद
९. विदेश मामला
१०. श्रम तथा रोजगार
११. संगठन
१२. संघीय संसदीय
१३. समाज कल्याण
१४. सहकारी तथा गरिबी निवारण
१५. सहरी विकास
१६. सामान्य प्रशासन
१७. स्वास्थ्य तथा जनसंख्या
१८. नीति अध्ययन प्रतिष्ठान
साविक माओवादी केन्द्रकाे भागका विभागहरू
१. उपभोक्ता हित तथा आपूर्ति
२. कृषि तथा भूमिसुधार
३. कोष तथा आर्थिक व्यवस्थापन
४. खानेपानी तथा सरसफाइ
५. जलस्रोत, सिँचाइ तथा ऊर्जा
६. प्रचार तथा प्रकाशन
७. पुस्तकालय तथा अभिलेख
८. राजकीय मामला तथा सुशासन
९. राष्ट्रिय सुरक्षा पर्वद्धन
१०. वन तथा वातावरण
११. विज्ञान तथा प्रविधि
१२. शिक्षा तथा मानवस्रोत
१३. साहित्य, कला तथा संस्कृति
१४. स्थानीय तह






