निर्मलाकी दिदी मनिषा भन्छिन्-यो देशमा न्याय नपाइँदो रहेछ
काठमाडौं, साउन १० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखमकी १३ वर्षीया निर्मला पन्तको बलात्का
काठमाडौं, साउन १० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखमकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको एक वर्ष पुग्यो। उनका परिवारले अझै न्याय पाएका छैनन्। गरिब भएकै कारण न्याय नपाएको उनका परिवारजनले अनुभूति गरेका छन्।
‘एक वर्ष भयो कसले अपराध गरेको भन्ने समेत पत्ता लागेको छैन,’ निर्मलाकी दिदी मनिषाले काठमाडौं प्रेससँग भनिन्, ‘यो देशमा हामीजस्तो सामान्य मान्छेले न्याय नपाउदोरहेछ। हाम्रा लागि त न्याय नहुँदो रहेछ। कानूनले काम नगर्ने रहेछ।’
गत वर्ष आजकै दिन निर्मला साथीको घर जान्छु भनेर निस्केकी थिइन्। त्यतिबेला दुवै दिदी बहिनी घरमै थिए। दिउँसोतिर निर्मला आफ्नी साथी रोशनीको घर जान्छु भनेर ठिक्क परेकी थिइन्। त्यहि बेला आफूले भनेको सम्झिँदै मनिषाले भनिन्, ‘एकछिन पछि जानु म पल्लो घरमा जान्छु भन्दै छिमेकीको घरमा गएकी थिएँ। म घर फर्किदा उनी गइसकेकी रहेछन्।’
साथीको घरमा गएकाले खासै वास्ता गरिनन्। साँझपख पनि घर नफेर्कपछि उनको खोजी सुरू भयो। कामबाट फर्केकी आमा दुर्गाले सोधखोज गर्दा मनिषाले साथीको घर गएको सुनाइन्। त्यो साँझ उनी साथी रोशनीको घर पुगे। यत्रथत्र खोजे। प्रहरीमा चौकीमा समेत पुगे। अबेर रातिसम्म सोधखोज गर्दा पनि कतै भेटिएन्। ‘साथीको घरमा जान्छु भन्दै निस्केकी उनी कहिल्यै घर फर्किनन्,’ मनिषाले भनिन्, ‘अपराधीले बहिनीको ज्यानै लिएछन्।’
एक वर्ष उनकै यादमा वितेको सुनाउँछिन् मनिषा। दुवै दिदीबहिनी सँगसँगै स्कुल जान्थे। यताउता जादा पनि सँगै जाने गरेको उनी बताउँछिन्। ‘संगै स्कुल जान्थ्याैं, सँगै काम गर्थ्याैं। बजार जाँदा पनि सँगै जान्थ्यौं,’ मनिषाले भनिन्, ‘उनी ९ कक्षा र म १० कक्षा पढ्थे। नाताले पो बहिनी भएपनि उ मेरी साथीजस्ती थिइँ। गाह्रोसाह्रो उसैलाई सुनाउथेँ।’
त्यसयता मनिषाले एक्लो महसुस गरेकी छन्। उनी डराउन पनि थालेकी छन्। ‘एक्लै हिड्न डराउँछु, बजार जाँदा पनि कि साथी, कि आमासँग मात्र जान्छ,’ मनिषाले भनिन्, ‘एक्लै जादिँन। साह्रै डर लाग्छ। उसकै झझल्को आउछ।’
निर्मलाभन्दा कान्छी बहिनी पनि छन्। मनिषा उनीसँगै भुल्न त खोज्छिन तर, निर्मलाको झल्को आइरहन्छ। ‘त्यो बाटोनै (निर्मलाको घटना भएको) हिड्न छोकेको छु,’ मनिषाले भनिन्।
उनी कक्षा ११ मा पढ्छिन्। निर्मलाका बारेमा आउने समाचार पढि रहन्छिन्। तर, अब न्याय पाइएला भन्ने आश मर्दै गएको उनी सुनाउछिन्। निर्मलाको न्यायका लागि देशैभर आन्दोलन हुँदा न्याय पाइएला भन्ने उनलाई पनि लागेको थियो। ‘अब त सबै सुनसान छ। त्यत्रो आन्दोलन भएका बेला त केही भएन, अब त के न्याय मिल्ला र!’ मनिषा विस्तारै बोल्छिन्।
उनलाई लाग्न थालेको छ, सामान्य मान्छेका लागि न्याय पाउन गाह्रो हुँदोरहेछ। राज्य, कानुन केही काम नगर्दो रहेछ। तैपनि उनलाई बहिनीका हत्यारालाई कारवाही गरिएको सुन्न मन छ। मनिषा भन्छिन्, ‘अब जे गरेपनि बहिनी त फर्केर आउँदैन। तैपनि, हत्यारालाई भए बहिनीको आत्माले शान्ति पाउथ्यो।’