स्कुल विभाग प्रमुखमा योग्य घनश्याम, सम्भावना नारायणकाजीको : झलनाथ खनाल
काठमाडौं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले पार्टी स्कुल विभाग प्रमु
काठमाडौं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले पार्टी स्कुल विभाग प्रमुखका लागि सबैभन्दा योग्य घनश्याम भुसाल भए पनि अहिलेको समीकरणमा उनले पाउने संभावना नभएको बताएका छन् । उनले आफूलाई सो जिम्मेवारी दिएमा त्यसको स्वागत गर्ने बताए।
पार्टी स्कुल विभाग प्रमुख विवादले एकता प्रक्रिया नै अवरुद्ध भएको बारे काठमाडौंप्रेससँगको संक्षिप्त कुराकानी गर्दै खनालले भने, ‘पार्टी स्कुल विभाग प्रमुखका लागि सबैभन्दा उपयुक्त व्यक्ति घनश्याम भुसालजी नै हो । पार्टीको अहिलेको समीकरणले उहाँलाई त्यो जिम्मेवारी दिने संभावना छैन । अहिले पनि सबैभन्दा बढी संभावना नारायणकाजी श्रेष्ठजीकै छ।’
नेकपा सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग प्रमुख हुने प्रतिस्पर्धा चलिरहेको बेला दुवैको विकल्पका रूपमा उक्त जिम्मेवारी वरिष्ठ नेता खनाललाई नै दिने तयारी भएको चर्चा नेकपा वृत्तमा चलेको छ। यसबारे जिज्ञासा राख्दा उनले भने, ‘अहिलेसम्म मलाई प्रस्ताव आएको छैन । मलाई दिने टुंगो भएको हैन । मलाई दिइयो भने त म त्यो निर्णयको स्वागत गर्छु।’
एक–दुई दिनभित्रै सचिवालय बैठक बसेर यसबारे टुङ्गो लगाइने बताउँदै वरिष्ठ नेता खनालले भने, ‘नारायणकाजी र ईश्वरमध्ये अहिलेसम्म बढी संभावना नारायणकाजीकै छ । हामी एक–दुई दिनमा बस्छौँ । यो विवाद टुङ्ग्याउँछौँ।’
यसअघि सचिवालय बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन विभाग प्रमुखमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र सङ्गठन विभाग प्रमुख वामदेव गौतमलाई बनाउने भनी टुङ्गो लगाइसकेको छ।
वरिष्ठ नेता खनालले आमसञ्चार माध्यममै सार्वजनिक रुपमा आफू नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख भएको र आफूले पार्टीको गुटबन्दी अन्त्य गर्ने नीति बनाउने बताइसकेका छन् । पार्टी स्कुल विभागकै विवादका कारण पार्टी एकता प्रक्रिया नै अवरुद्ध भएको छ । मंगलबार फेरि बैठक बस्ने भनेर उठेका सचिवालय सदस्यहरू फेरि बैठक बसेका छैनन् । बैठक बस्ने भनिए पनि पटक–पटक सरेका छन् । आज १ बजे बस्ने भनिएको बैठक पनि नबस्ने भएको छ।
याे पनि हेर्नुस् :
नेकपा स्कुल विभाग प्रमुखका लागि योग्य को?
सकिए भनिएका वामदेव नेकपामा फेरि शक्तिशाली
माधव नेपालको शीरमाथि बालुवाटार प्रकरणको तरबार
नेकपा कार्यविभाजन : कुन-कुन शक्तिशाली विभागमा कसकाे पल्ला भारी
सर्वसम्मत अध्यक्ष बन्ने प्रचण्ड रणनीति
आफ्नै गुटको असहयोगले प्रधानमन्त्री ओलीलाई अप्ठेरो






