Kathmandu Press

‘नेपालको ल्याबले भारतबाट आउने तरकारीमा विषादी भएकै देखाउँदैन’

भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षणबिनै नेपाल भित्र्याउने पूर्ववतः निर्णयबाट सरकार पछि हटेको छ। 

‘नेपालको ल्याबले भारतबाट आउने तरकारीमा विषादी भएकै देखाउँदैन’
रिवाज राई

भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षणबिनै नेपाल भित्र्याउने पूर्ववतः निर्णयबाट सरकार पछि हटेको छ। 

विषादी परीक्षणबिना तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको भन्दै चर्को आलोचना भएपछि सरकार त्यो निर्णयबाट पछि हट्न बाध्य भयो। त्यतिमात्रै होइन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विषादी परीक्षणबिनै तरकारी र फलफूल नेपाल भित्र्याउने निर्णय गर्न आफूलाई सचिवहरुले नै फसाएको भन्दै माफीसम्म माग्नु पर्‍यो। 

तरकारी र फलफूलमा हुने विषादी, भारतबाट आयात गर्दा गर्नु पर्ने विषादी परीक्षणलगायतका विषयमा केन्द्रित रहेर खाद्य प्रविधिमा विद्यावारिधी गरेका डा. जितेन्द्र उपाध्याय (जितु) सँग काठमाडौंप्रेसका लागि भोजराज भण्डारीले गरेको कुराकानीः

सरकारले तरकारी र फलफूलमा विषादी परीक्षणबिनै भारतबाट नेपाल भित्र्याउने निर्णयबाट पछि हटेको छ। वास्तवमा तरकारी र फलफूलमा विषादीको प्रयोग किन गरिन्छ? 

किसानहरुले तरकारीमा विषादीको प्रयोग दुई कारणले प्रयोग गर्दछन्। पहिलो, तरकारीमा लाग्ने किराहरुबाट बचाउनका लागि।  दोस्रो, लामो समयसम्म तरकारी वा फलफूल टिकाउनका लागि पनि किसानले तरकारी तथा फलफूलमा विषादीको प्रयोग गर्छन्। 

तरकारी र फलफूलमा कति र कस्तो विषादीको  प्रयोग गरियो भन्ने कुरा महत्वपूर्ण हो। त्यसमा उपभोक्ताले ध्यान दिन जरुरी छ।

तरकारी र फलफूलमा विषादी प्रयोग गर्न हुन्छ कि हुँदैन। यदि हुने हो भने कतिमात्रासम्म प्रयोग गर्दा मानिसको शरीरलाई हानी हुन्छ?

किसानले प्रयोग गर्ने विषादी विभिन्न किसिमका हुन्छन्। जस्तो  किटनास औषधि,  तरकारी र फलफूलमा लाग्ने भुसुना मार्ने औषधि लगायत थुप्रै हुन्छन्।

अब त्यसको मात्र कति हो भन्ने मात्र हो।  जस्तो–खानयोग्य  भनेको  ० देखि ३५ सम्मको क्याटेगोरीमा रहेका विषादी मानिसको स्वास्थ्यलाई कुनै पनि हानी गर्दैन र तरकारी र फलफूल खानयोग्य हुन्छन्। जसलाई हरियो चिन्हले संकेत गरिन्छ।

अर्को भनेको ३५ भन्दामाथि र ४५ भन्दा कम मात्रामा विषादीको प्रयोग भएको छ भने तरकारी र फलफूलाई केही दिन राखेर ओइलाउन दिएर खानु पर्ने हुन्छ। तत्काल बजारबाट किनेर ल्याउने वित्तिकै खानु हुँदैन। यस्ता खालको तरकारी र फलफूलमा पहेँलो चिन्हको प्रयोग गरिन्छ।

अर्को महत्वपूर्ण कुरा भनेको ४५ भन्दा माथिको क्याटेगोरीमा विषादीको प्रयोग गरिन्छ भने त्यस्ताखालका तरकारी र फलफूलले मानिसको स्वास्थ्यलाई असर गर्छ। जुन खान अयोग्य हुन्छ ती तरकारी र फलफूललाई रातो चिन्हले संकेत गरिएको हुन्छ। किसानहरुले तरकारीमा प्रयोग गर्ने विषादीको मात्र कति छ त्यसको जाँच गर्न जरुरी हुन्छ।

तपाईँले भन्नु भएजस्तै कुन तरकारी र फलफूलमा कति मात्रामा विषादीको प्रयोग भइरहेको छ भनेर एउटा उपभोक्ताले कसरी थाहा पाउने?

आम उपभोक्ताले विषादीको प्रयोग कति भएको छ भनेर थाहा पाउनु पर्ने नै अहिले उठेको मुख्य विषय हो।  कसरी थाहा पाउने भनेर।

हामीले सधैं कालिमाटी तरकारी बजारमा गएर तरकारी तथा फलफूलको परीक्षण गरेर मात्र खान सक्ने अवस्था छैन र त्यो कुरा सम्भव पनि छैन। यसका लागि राज्यले अनुगमन गर्नुपर्छ। सरकारले  विशेष अनुगमन र ल्याबको  प्रयोग गरी आम मानिसलाई  निश्चित मात्रामा  विषादी नभएका तरकारी तथा फलफूल खान सक्ने परिपाटीको विकास गर्न आवश्यक छ।

तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण नाकामै गर्नु पर्ने हो। त्यति हुँदा आम उपभोक्ताले विषादी कम भएका तरकारी तथा फलफूल खान पाउँथे। विषादी परीक्षण नगर्ने निर्णयबाट सरकार पछि हटेको छ। 

अब नेपालमा उत्पादन हुने तरकारीको कुरा गरौं। हाम्रो नेपालमा भारतमा जस्तो तरकारी तथा फलफूलमा विषादीको प्रयोग कम हुन्छ। नेपालमा प्रति हेक्टर ३८ ग्राम बराबर विषादीको प्रयोग हुन्छ।  जुन अन्य देशको तुलनामा कम हो। कोरिया, जापान जस्ता देशहरुमा प्रतिहेक्टर एक किलो बराबर विषादीको प्रयोग गरिन्छ। यो भन्दैमा ती विकासित देशसँग हामी तुलना गर्न सक्दैनौैं। हामीभन्दा निकै स्वस्थ्य छन्।

अब मुख्य कुरा भनेको उपभोक्ताले पनि तरकारी किन्दा ध्यान दिन आवश्यक छ। निकै ताजा र राम्रा देखिने तरकारीमा विषादी मात्रा अलिक बढी हुने सम्भावना हुन्छ। त्यस्ता तरकारीको कम प्रयोग गर्ने वा तरकारीलाई ल्याएको दुईदेखि तीन दिनपछि मात्र खाने, तरकारी तथा फलफूललाई केही समय कागतीपानी वा पानीमा डुबाएर खाने गर्दा विषादी कम हुन्छ। उपभोक्ताले बजारबाट किनेर ल्याएदेखि पकाएर कसरी खाइरहेको छ भन्ने कुरासँग पनि जोडिन्छ। तरकारी तथा फलफूल खाँदा उपभोक्ता आफू पनि सचेत हुनुपर्छ।

नेपालमा विषादीको परीक्षण गर्ने प्रयाप्त उपकरणहरु नभएर विषादी परीक्षणबिनै  हामीले विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भएका छौं उसो भए?

हो।  कम्तिमा विषादी परीक्षणका लागि २९ वटा उपकरण आवश्यक पर्छ। तर, नेपालसँग ती उपकरणहरु छैनन्। त्यसैले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण प्रभावकारी हुन सकेको छैन।

पछिल्लो २०७५–०७६ को तथ्यांक हेर्ने हो भने भारतबाट आएका तरकारी तथा फलफूलमा कुनैमा पनि विषादी देखिएको छैन। नेपालका तरकारीमा भने दुई वटा देखिएको छ। अब कसरी विश्वास गर्ने भारतबाट आएका तरकारीमा विषादी नै  हुँदैन भनेर? अब विषादी छैन भनेर ढुक्क भएर खाने त? त्यो अवस्था पनि छैन।

कालिमाटी तरकारी बजारको विषादी परीक्षण केन्द्रकै भरमा हामी पर्नु पर्ने अवस्था भने अझै छ।

आजभोलि अर्ग्यानिक तरकारी बजारका पसलहरु धेरै पाइन्छ। खासमा त्यस्ताखालका तरकारीमा विषादीको प्रयोग गरिएको हुँदैन भनेर ढुक्क हुने अवस्था छ त?

हो, आजभोलि बजारमा अग्र्यानिक फलफूल तथा तरकारी पाइन्छ भन्दै पसलहरु धेरै खुलेका छन्। यी पसलमा अग्र्यानिक तरकारी तथा फलफूल नै हुन्छ भनेर म आफै सन्तुष्ट छैन। तरकारी तथा फलफूलमा रासायनिक मलहरुको धेरै प्रयोग गरिएको हुन्छ। अनि ती तरकारी तथा फलफूल कसरी अर्यानिक भए त? वास्तवमा अर्यानिक तरकारी भनेको के हो? त्यो बुझ्न आवश्यक छ। 

अर्यानिक भन्दै कालिमाटी तरकारी बजारबाट ल्याएर बेचिरहेका धेरै उदाहरणहरु छन्। अहिलेको तरकारी तथा फलफूल प्रारङ्गारिक मलको प्रयोग गरेरमात्रै उत्पादन गर्न कमै सम्भावना छ। अर्ग्यानिक भनिएका तरकारी तथा फलफूलमा पनि केही हदसम्म विषादी हुन्छ नै। त्यसैले त्यसमा पनि सतप्रतिशत विश्वास गर्न सकिन्न। 

अन्तिममा आम उपभोक्तालाई के भन्न चाहनुहुन्छ?

आम उपभोक्ताले तरकारी तथा फलफूल विषादी परीक्षण गरेरमात्रै खान सक्ने अवस्था छैन।  त्यसैले हामी आफैले तरकारी बजारदेखि भान्सामा पकाउँदासम्म ख्याल राख्यौं भने धेरै मात्रामा विषादी नभएको तरकारी खान सकिन्छ। हामी आफैले घरेलु प्रविधिको प्रयोग गरेर विषादी कम गर्न सक्छौं। 

चरम दबाबपछि सरकारले जुन निर्णय लिएको छ त्यो स्वागतयोग्य छ। अब नाकामा उपकरणहरु जडान गरी भारतबाट आयात गर्दा तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्नु पर्छ। र, उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल खुवाउने पहिलो दायित्व सरकारकै हो।
 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, साउन १, २०७६