ट्रेड युनियनको निर्वाचन कार्यक्रममा कांग्रेस निकट कर्मचारी संघको अवरोध
काठमाडौं, चैत २९ : नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली कांग्रेस निकट कर्मचारी संघले अवरोध ....

काठमाडौं, चैत २९ : नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली कांग्रेस निकट कर्मचारी संघले अवरोध गरेको छ।
आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार संघले तालाबन्दी गरेको हो। निर्वाचन बिथोल्न खोजिएको भन्दै अन्य प्रतिस्पर्धी सङ्गठनले विरोध गरेपछि प्रहरीले शुक्रबारै ताला खोलेको छ। निर्वाचन अवरोध गर्ने क्रियाकलापलाई भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आपत्ति जनाएको छ।
युनियनका संयोजक रामेश्वर पौडेलले पूर्व घोषित निर्वाचन कार्यक्रमअन्तर्गत सबै मतदान केन्द्रमा शुरु मतदाता नामावली प्रकाशन गरिँदै थियो। आधिकारिक ट्रेड युनियनको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने, केही मतदाता केन्द्रमा नामावली टाँस्न अवरोध सिर्जना गर्ने, नामावली च्यात्नेजस्ता गतिविधि भएको संयोजक पौडेलले आपत्ति जनाएका छन्।
संयोजक पौडेलले पूर्वघोषित कार्यक्रममा कुनै अवरोध नगर्नसमेत आग्रह गरेका छन्। प्राधिकरणले आगामी वैशाख १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ। निर्वाचन अधिकृत बेलप्रसाद शर्माका अनुसार आगामी वैशाख ५ गते उम्मेदवारी दर्ता गर्ने र निर्वाचनमा सहभागी युनियनको नामावली प्रकाशन गर्ने, ६ गते दाबी विरोध गरी स्वीकृत उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ।
निर्वाचनको प्रारम्भिक कार्यक्रम शुरु भएकै दिन कर्मचारी सङ्घले निर्वाचन अधिकृतको कार्यकक्षमा ताला लगाएको छ। संघले भने निर्वाचनको वातावरण नभएको भन्दै घोषित मितिमा निर्वाचनमा सहभागी हुन असमर्थ रहेकाले विरोध गर्नुपरेको जनाएको छ। संस्थाको हित विपरीत गतिविधि गरेको भन्दै प्राधिकरणले सङ्घका अध्यक्ष जनार्दन भट्टराईलाई केही दिन पहिले स्पष्टीकरण सोधिएको तर अध्यक्ष भट्टराईले स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आएका छन्। प्राधिकरणले भने पटक पटक आग्रह गर्दासमेत स्पष्टीकरणपत्र नबुझे सार्वजनिक सूचनामार्फत् स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
चैत २५ गते प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको मर्यादा र हित विपरीतका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिएको बताएका थिए। प्राधिकरणमा हाल तीन संगठन क्रियाशील छन्।











