Kathmandu Press

गाउँ निकाला गर्न खोज्ने समाजकै अगुवा बनेकी मथुरा

काठमाडौं, असार ७ : अछाम, साँफेबगरकी मथुरा कुवँरका श्रीमान् काम गर्न भारत गएका थिए। घर फर्किदा पैसा ल

गाउँ निकाला गर्न खोज्ने समाजकै अगुवा बनेकी मथुरा
इन्द्रसरा खड्का

काठमाडौं, असार ७ : अछाम, साँफेबगरकी मथुरा कुवँरका श्रीमान् काम गर्न भारत गएका थिए। घर फर्किदा पैसा ल्याएनन्, एचआईभी एड्स ल्याए।

श्रीमान दुब्लाउँदै गए। के भयो भनी सोध्दा कहिले पेट दुख्यो भन्थे, कहिले टाउको दुख्यो भन्थे। सिकिस्त भएपछि अस्पतालमा रगत जचाउँदा थाहा भयो – उनलाई एचआईभी एड्स भएको रहेछ।

मथुराले आफ्नो पनि रगत जँचाइन्। उनलाई पनि एचआईभी एड्स भएको रहेछ। कुवँर दम्पत्तिलाई एचआईभी एड्स लागेको खबर डढेलोसरि साँफेबगरभरि फैलियो। 

Hardik ivf

सबै उनीहरूलाई छिछि र दुर्दूर गर्थे। कोही नजिक आउँदैन थिए। एचआईभी लागेको थाहा भएको एक वर्षपछि उनकाे श्रीमानकाे मृत्यु भयो। तर, मलामी जान कोही तयार भएनन्। 

गाउँभरि हल्ला फैलियो – एड्स सङ्क्रमितलाई जलाउँदा रोगका किटाणु धूवाँमा मिसिएर सबैलाई एचआईभी सर्छ!

कतिपयले लाश जलाउनु हुन्न, गाड्नुपर्छ भने। मथुरा सम्झिन्छिन्, ‘मैले मानिनँ। आफैँ डोकोमा बोकेर भए पनि श्रीमानको लाश हिन्दू परम्परा अनुसार जलाउनै लान्छु भन्ने अडान लिएँ। त्यसपछि बल्ल १०–१२ जना मलामी जुटे।’

यो २०५० सालको कुरा हो। त्यसबेला एचआईभी सङ्क्रमितहरू समाजमा खुलेर बाँच्ने अवस्था थिएन।  

श्रीमानको दाहसंस्कारपछि मथुरालाई आफन्त र गाउँलेले अनेकौ लाञ्छना लगाउन थाले। उनी भन्छिन्, ‘बस्ने ठाउँमा बस्न पाइनँ, खाने बेला खान पाइनँ। चाडबाँड र धार्मिक कार्यमा सरिक हुन दिइएन।’

उनी थप्छिन्, ‘म हिँड्ने बाटो अलग भयो। मैले जाने जङ्गल फरक भयो। मेरो कान्छो छोरा एक वर्षको थियो। उसलाई विद्यालयमा भर्ना गर्न समस्या भयो। हिँड्ने बेला नाकमुख छोप्दै हिँड्न थालेँ।’

उनी भन्छिन्, ‘दिउँसो धारामा पानी थाप्न पाउँदिन थिएँ। राति पानी भर्थेँ। विद्यालयमा छोरालाई बस्न बेञ्चसमेत दिइएन।’

तर, उनले सामाजिक लाञ्छनाविरुद्ध संघर्ष गरिन्। आफूलाई एचआईभी लागेको कुरा लुकाइनन्। आफ्नो परिचय सार्वजनिक गरिन्। उनी एचआईभी सङ्क्रमितको रुपमा सार्वजनिक हुने नेपालकै पहिलो महिला हुन्।

त्यो बेला र अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ। अहिले मथुरा कुवँरजस्ता धेरै एचआईभी सङ्क्रमित महिला र पुरुष यही समाजमा खुला रुपमा बाँचिरहेका छन्।  

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले नेपालमा ३२ हजार ७ सय ३५ जना एचआइभी सङ्क्रमित छन् । तीमध्ये १२ हजार ५ सय ३ जना महिला छन्। 

अहिले मथुरालाई एकैछिन फुर्सद छैन। आठ वर्षअघि एचआइभी संक्रमित महिलाहरूको राष्ट्रिय महासंघमा आवद्ध भई काम गर्न थालेयता उनी एक दिन पनि घरमा चैनले बसेकी

छैनन्। हरेक दिन एचआईभी सङ्क्रमित महिलाहरूको अधिकार र सुरक्षाका लागि लडिरहेकी छिन्। 

उनी भन्छिन्, ‘हुन त अहिलेको अवस्था पहिले जस्तो छैन। पहिले पनि अहिले जस्तो अवस्था भइदिएको भए मलाई कती जाती हुन्थ्यो! मलाई त समाजले जिउँदै मारेको थियो।’

उनको मुख्य चासो छ – गाउँमा रहेका एचआईभी सङ्क्रमित महिलामा कसरी जनचेतना जगाउने? 

उनी एचआईभी सङ्क्रमितमाझ जनचेतना फैल्याउन अछामका ७५ मध्ये ७२ गाविस पुगेकी छिन्। अधिकांश गाउँमा घर–घर पैदल डुलेकी छिन्। अछामबाहेक पनि धेरै जिल्ला घुमेकी छिन्। 

कसैका मतारी छैन कसैका बा छैन, 
एच आइभी कसरी आउँछ महिलालाइ था छैन

जहाँ जसको घर पुग्दा पनि उनी यही गीतबाटै कुरा गर्न सुरु गर्थिन्। यो देउडा गीत हो। 

मरिजाँउ कसरी मरुँ बाँच्ने साहारा नाइँ,
टुहुरा कसरी पालुँ, खान्या आहारा नाइँ 

यसरी उनी आफ्ना पीडा अरुलाई सुनाउँथिन्, र अरुलाई पनि बाँच्ने साहास दिन्थिन्। 

मथुराले एचआइभी संक्रमित अछाम, कैलालीका १६ जना बालबालिकालाई काठमाडौंका विभिन्न संघसस्थामा पुर्‍याइन्।अहिले उनीहरु कोही १२, कोही १० कक्षा पढिरहेका छन्।

‘मेरो कामको सम्मानले घरभरि सम्मानपत्र मात्र छन्। म यता छु घरमा त्यत्तिकै राखेको छु। अब घर बनाएर सबै घरमा सजाउनुछ,’ उनले भनिन्।

अहिले पनि अछाम, बझाङ, बाजुरालगायत सुदूरपश्चिम प्रदेशका अधिकांश पुरुष धन कमाउन छिमेकी देश भारत जान्छन्। घरबाट टाढा बस्दा श्रीमानहरुकै गलत आचरणका कारण महिलाले पीडा खेप्नु परेको छ। अहिले अछाम जिल्लामा १ हजार ६ सय ५० एचआईभी संक्रिमतहरू रहेको वाक नेपाल अछामले जनाएको छ। 

जुन समाजले उनलाई एचआईभी सङ्क्रमित भन्दै गाउँ निकाला गर्न खोजेको थियो, अहिले उनी त्यही समाजको अगुवा बनेकी छिन्। 

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्