Kathmandu Press

नेपाल एयरलाइन्सको विमान होल्ड प्रकरणः छानविन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, चैत २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चार मिनेट ढिला हुँदा नेपाल वायु सेवा निगमको विमानलाई दुबई उडान भर्न नदिएको विषयमा छानविन ....

नेपाल एयरलाइन्सको विमान होल्ड प्रकरणः छानविन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, चैत २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चार मिनेट ढिला हुँदा नेपाल वायु सेवा निगमको विमानलाई दुबई उडान भर्न नदिएको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। 

एयर ट्राफिक कन्ट्रोलर र क्यापटेनको अपरिपक्व निर्णयका कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेको निष्कर्षसहितको २२ पृष्ठ लामो प्रतिवेदन समितले शुक्रबार पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको हो। छानविन समितिका संयोजक बुद्धि सागर लामिछानेले एयर ट्राफिक कन्ट्रोलर र क्याप्टेनको अपरिपक्व व्यवहारका कारण यात्रुले रातभर सास्ती झेल्नु परेको बताए।

चैत १९ गते मंगलबार नोटाम व्यवस्था देखाएर दुबईका लागि उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ विमानस्थलमै रातभर रोकिनु परेको थियो। जसले गर्दा एक सय ८० यात्रु रातभर जहाजभित्रै बसेका थिए। त्यसबारे छानविनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको थियो। एक साता समयावधि तोकिएको भएपनि समितिले दुई दिन ढिला गरेर प्रतिवेदन बुझाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान बन्द अन्तर्राष्ट्रिय नियम (नोटाम) जारी गरेको अवस्थामा उडान गर्न नमिल्ने भन्दै निगमलाई उडानमा रोक लगाएको थियो। तर, त्यसको एक सातापछि मंगलबार राति विमानस्थलले नोटाम उल्लंघन गर्दै फ्लाई दुबईलाई उडान अनुमति दिएको थियो।

फ्लाई दुबईलाई विमानस्थल बन्द भएको १७ मिनेट पछि खुलाएर उडान अनुमति दिएको पाइएको छ। तर, एक साता अघि नेपाल वायुसेवा निगमको जहाजलाई चार मिनेट समय थप नगर्दा रातभर यात्रु जहाजभित्रै बस्नु परेको थियो । विमानस्थलको धावनमार्ग मर्मतका लागि भन्दै गत चैत १८ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ। 

फ्लाई दुबईलाई उडान अनुमति दिएको विषयमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयले छानविन गरिरहेका छन्। विमानस्थल प्रमुख राजकुमार क्षेत्रीलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो। क्षेत्रीले बिहीबार नै जवाफ बुझाइसकेका छन्। 
 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, चैत २९, २०७५