Kathmandu Press

पिसकोर स्वयंसेवकको नेपाल मिशन : हिमाली बालबालिकालाई काठमाडौंमा होइन, हिमालमै शिक्षा

काठमाडौं – किङ बिच ४० वर्षअघि पहिलोपटक पिसकोर स्वयंसेवकको रुपमा नेपाल आएका थिए। 

<
पिसकोर स्वयंसेवकको नेपाल मिशन : हिमाली बालबालिकालाई काठमाडौंमा होइन, हिमालमै शिक्षा

काठमाडौं – किङ बिच ४० वर्षअघि पहिलोपटक पिसकोर स्वयंसेवकको रुपमा नेपाल आएका थिए। 

धुलिखेलमा तीन महिना नेपाली भाषा सिकेर सुर्खेतको गुमी गाउँस्थित एउटा सरकारी विद्यालयमा पढाउन गएका उनी झण्डै तीन वर्ष उतै बसे। दुई–तीन महिनामा एकचोटि मात्रै केही दिनका लागि काठमाडौं आउँथे। 

अमेरिका फर्केर कलेज भर्ना भए। प्राध्यापक भए। पाँच वर्षअघि प्राध्यापनबाट पूर्णतः अवकाश लिएपछि उनी फेरि नेपालमै सक्रिय हुन थालेका छन्। 

उनको नयाँ मिशन छ – नेपालको हिमाली भेगमा शिक्षा क्षेत्रमा काम गर्ने, ताकि त्यहाँका बालबालिका वर्षौंसम्म परिवार–समुदायबाट अलग भई काठमाडौंका गुम्बाहरूमा बस्न नपरोस्।

You Can read this story in English here:

A Peace Corps Volunteer Returns To Nepal To Provide Education In Mountain Communities 

कम्युनिटी गुम्बा एजुकेशन इनिसिएटिभमार्फत् हिमाली भेगका बालबालिकालाई शिक्षा दिलाउने अभियानमा सक्रिय बिचसँग गरिएको कुराकानी– 

चालीस वर्षअघि काठमाडौं कस्तो देख्नुभएको थियो?
म विक्रम सम्वत २०३३ सालमा पहिलोपटक नेपाल आएको थिएँ। र, २०३६ सालसम्म नेपालमै बसेँ। त्यस बेला काठमाडौं धेरै सानो थियो, भौतिक र मनोवैज्ञानिक दुबै रुपमा। मानिसहरू साइकल–रिक्सा चढेर वा हिँडेरै सहरको एउटा कुनाबाट अर्को कुनासम्म पुग्थे।

पिसकोर स्वयंसेवकहरूले तीन महिना नेपाली भाषा सिक्न पाउँथे। त्यो तीन महिने भाषा सिकाईको भरमा गाउँ गएर नेपाली भाषामै हाइस्कुल तहका विद्यार्थीहरूलाई गणित र विज्ञान पढाउनुपर्थ्याे।

४० वर्षअघि सुर्खेतको गुमी गाउँमा पिसकोर स्वयंसेवकको रुपमा किङ बिच

मैले पढाउनका लागि गुमी गाउँ रोजेँ। यो गाउँ सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट २० माइल दक्षिण पूर्वमा पर्छ। गुमीमा मभन्दा अघि कुनै पिसकोर स्वयंसेवक गएका थिएनन्। त्यहाँ एक अंग्रेजी शिक्षक मात्रै अंग्रेजी बोल्थे। गुमी पुग्न डाँडैडाँडा हिँड्नु पथ्र्यो। गाडी जाँदैन थियो। 

सुरुको ६ महिना त मलाई एकदमै गाह्रो भयो। तर, ६ महिनापछि सबै कुरा सामान्य लाग्न थाल्यो। म स्थानीय रहनसहनमा भिजेँ।

अझै पनि म बेलाबेला गुमी गाउँ जान्छु। त्यो बेला म गाउँका नौजवानमध्येमा पर्थेँ। अहिले गुमीकै वृद्ध व्यक्तिको पंक्तिमा पर्छु। 

त्यो बेला काठमाडौं मनौवैज्ञानिक रुपमा पनि सानो ठाउँ थियो भन्नुभयो। यसको तात्पर्य के हो?

त्यो बेला काठमाडौंका प्रायः सबै मानिस एक–अर्कालाई चिन्थे। पर्यटक र हिप्पीलाई छाड्ने हो भने नेपाल आउने प्रायः सबै विदेशीले छोटो समयमै काठमाडौंका प्रायः सबै मानिसलाई भेटेका वा कमसेकम चिनेका हुन्थे। काठमाडौंको त्यो सामाजिक निकटता अहिले हराइसकेको छ। सायद काठमाडौंको आकार र जनसंख्या बढेर पनि होला। 

चालीस वर्षअघिको पिसकोर स्वयंसेवक कसरी नेपालको हिमाली भेगका बालबालिकाको शिक्षाका लागि काम गर्ने अभियन्तामा रुपान्तरित हुन पुगे?

पिसकोर स्वयंसेवकको जिम्मेवारी सकेर नेपाल छाड्दा मैले अठोट गरेको थिएँ – अब म विद्यालय पढाउँदिनँ। अमेरिका फर्केर कलेज पढाई पूरा गरेँ। प्रोफेसर भएँ। तर, नेपालको शिक्षा र विकासको क्षेत्रमा म कुनै न कुनै रुपमा सक्रिय नै थिएँ।

अवकाशपछि नेपाल फर्केका किङ बिच

पाँच वर्षअघि दीर्घकालीन रुपमा शिक्षा र विकासको क्षेत्रमा काम गर्ने गरी म नेपाल फर्किएँ। समाज विज्ञान पढेको, विकासको क्षेत्रमा काम गरेको र वौद्धमार्गी भएको नाताले मैले बाँकी समय नेपालको हिमाली भेगमा बसोबास गर्ने बौद्धमार्गी समुदायका बालबालिकाको शिक्षाका लागि काम गर्ने निधो गरेँ।

हिमाली भेगका बालबालिका ६–७ वर्ष पुग्नेबित्तिकै शिक्षाका लागि काठमाडौंका गुम्बाहरू आउँछन्। वर्षौंसम्म परिवार र समुदायबाट अलग हुन्छन्। धेरै त कहिल्यै गाउँ फर्कदैनन्। फर्के पनि दुई चार दिन बुवा–आमालाई भेटेर काठमाडौं फर्किहाल्छन्। गत साल बनेको वृत्तचित्र ‘चिल्ड्रेन अफ द स्नोल्यान्ड’मा पनि यो परिस्थितिको राम्रो चित्रण गरिएको छ। 

हामी हिमाली भेगमा शिक्षा पुर्‍याउन चाहन्छौँ, ताकि स–साना बालबालिकाले पढाईका लागि घर छोड्न नपरोस्। कमसेकम आठ कक्षासम्म घरमै बसेर पढ्ने वातावरण होस्। 

भिडियाे

आठ कक्षासम्म परिवारमै बसेर पढेका बालबालिका र समुदायबीच बलियो सम्बन्ध हुन्छ र उनीहरू उच्चशिक्षा हासिल गरेपछि पनि गाउँ फर्किने सम्भावना ज्यादा हुन्छ। यो एकदमै ठूलो र महत्वकांक्षी परियोजना हो। अहिले नै यसमा हामी सफल हुन्छौँ कि हुन्नौँ भन्न मुश्किल छ। हामीले एकपछि अर्को पाइला विस्तारै चाल्ने हो। 

यो काम हामी कम्युनिटी गुम्बा एजुकेशन इनिसिएटिभ मार्फत गर्दैछौँ। दुई वर्षअघि हामीले नेपाल बुद्धिस्ट फाउन्डेशनसँग मिलेर ४० वटा गुम्बाका गुरु र अन्य साझेदारहरूको सम्मेलन गरेका थियौँ। सम्मलेनको उद्देश्य थियो – हिमाली भेगमा शिक्षाका समस्या र चुनौतीबारे छलफल गर्नु। त्यो सम्मेलनको क्रममा थाहा भयो – हिमाली समुदायको शैक्षिक चुनौती र सम्भावनाबारे हामीसँग वृहत्त ज्ञानको अभाव रहेछ। यसैले, हामी गुम्बा समुदायको सर्भे गर्ने तयारीमा छौँ। यो सर्भेको नतिजाको आधारमा हामी शैक्षिक कार्यक्रमको स्वरुप निर्धारण गर्न सक्षम हुनेछौँ।

काठमाडौं प्रेससँगको अन्तर्वार्तामा किङ बिच । तस्वीरः रिवाज राई

यो शैक्षिक कार्यक्रमको स्वरुप चाहिँ कस्तो हुनेछ?

काठमाडौंमा रहेका अधिकांश ठूला गुम्बामा राम्रो पढाई पनि हुन्छ। हिमाली भेगबाट आएर गुम्बामा शिक्षा लिनेहरूले १७–१८ वर्ष पुगेपछि सम्भवतः जिन्दगीकै कठिन निर्णय गर्नुपर्ने हुन्छ – थप ९–१० वर्ष बौद्ध धर्म र दर्शनको अध्ययन गर्ने कि समुदायमा फर्किने? भर्खर १७–१८ वर्ष पुगेका युवालाई यति ठूलो निर्णय लिनु निकै गाह्रो हुन्छ। 

हामीले यी गुम्बाहरूसमक्ष एउटा प्रस्ताव राख्दैछौँ – १७–१८ वर्ष पुग्नेबित्तिकै युवालाई यति ठूलो निर्णय गर्न नलगाउने, बरु त्यसको सट्टा उनीहरूलाई ग्रामीण हिमाली भेगमा गएर दुई वर्ष स्वयंसेवकको रुपमा बालबालिकालाई पढाउने अवसर दिने। दुई वर्षपछि उनीहरू पूर्णकालीन शिक्षक बन्न सक्छन्, अथवा गुम्बा नै फर्केर बौद्ध दर्शन र धर्मको गहिरो अध्ययनमा लाग्न सक्छन्। समुदायमा रहेर दुई वर्ष बालबालिकालाई पढाएपछि सायद उनीहरूलाई भविष्यको बाटो कोर्न सहज हुनेछ।

हाम्रो अवधारणा धेरै हदसम्म टिच फर नेपालको कार्यक्रमसँग मिल्दो–जुल्दो छ। हामी पनि गाउँमा शिक्षक पठाउँछौँ। शिक्षकहरूलाई तालिम दिन्छौँ। विद्यालयमा आवश्यक सामग्रीहरू उपलब्ध गराउँछौँ। तर, यो अवधारणालाई मूर्त रुप दिन गुम्बाहरूको पनि साथ र सहयोग आवश्यक छ। 

किङ बीचका दुई पुराना तस्वीर

हिमाली भेगका विद्यालयमा

प्रकाशित मिति: १८:५६ बजे, शुक्रबार, असार ६, २०७६