प्रधानमन्त्रीभन्दा अघि प्रतिपक्षी दलका नेतालाई बोल्न दिनुपर्ने भन्दै संसद् अवरुद्ध
काठमाडौं, असार ३ : सभामुख कृष्णबहादुर महराले पहिले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई सदनमा ब
काठमाडौं, असार ३ : सभामुख कृष्णबहादुर महराले पहिले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई सदनमा बोल्न समय नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएकोमा विरोध जनाउँदै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
कांग्रेस सचेतक पुष्पा भुसालले सदन अवरुद्ध गर्नुको कारणबारे काठमाडौंप्रेससँग भनिन्, ‘कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग्नु भएको थियो तर सभामुखले प्रधानमन्त्रीसँग सल्लाह गरेर प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिनुभयो। सदन भनेको प्रतिपक्षको हो। प्रधानमन्त्री प्रमुख प्रतिपक्षप्रति अनुदार देखिनुभयो। सभामुखले पनि आफ्नो भूमिका निभाउन सक्नुभएन। त्यसैको विरोधमा हामीले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हौँ।’
कांग्रेस सचेतक भुसालले प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि मानवअधिकार आयोग विधेयक, गुठी विधेयकजस्ता विषयमा लगातार विरोध गर्दै आएको र यसबारे आज प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेताले यिनै विषयमा बोल्न समय मागेको बताइन्।
बैठकमा कांग्रेसको विरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले संसद् बैठकमा ‘पहिला प्रधानमन्त्रीको कुरा सुन्नुस्, त्यसपछि प्रतिपक्षी दललाई बोल्न दिन्छु’ भनी पटक–पटक आग्रह गरेका थिए।
उनले रोष्ट्रम अगाडि गएर नाराबाजी गरिरहेका कांग्रेस सांसद्हरूलाई पटक–पटक आ–आफ्नो सीटमा आसन ग्रहणका लागि आग्रह गरेका थिए। नारावाजी नरोकिएपछि सभामुख महराले भोलि ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।






