Kathmandu Press

ह्यात होटल चार दिनदेखि ठप्प

काठमाडौं, असार १ : काठमाडौंको चर्चित पाँचतारे होटल ह्यात चार दिनदेखि ठप्प रहेको छ।

मजदूरहर

ह्यात होटल चार दिनदेखि ठप्प

काठमाडौं, असार १ : काठमाडौंको चर्चित पाँचतारे होटल ह्यात चार दिनदेखि ठप्प रहेको छ।

मजदूरहरूले आन्दोलन गरेपछि ह्यात ठप्प रहेको हो। उनीहरूले बिहीबारदेखि कुनै पनि काम गरेका छैनन्।

कर्मचारीको तलव बृद्धि, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष तथा भारतीय उच्च तहका कर्मचारीको कामदारमाथि भइरहेको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै मजदुरहरू आन्दोलनमा उत्रिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहालले बताए।

‘व्यवस्थापनसँग आज चार घन्टा भएको छलफल पनि निष्कर्षबिना भएको छ, माग पूरा नभएसम्म मजदूरहरू काममा फर्कने छैनन्,’ दाहालले भने।

यता व्यवस्थापनले आफ्ना पाहुनलाई होटल याक एन्ड यतीमा सारेको छ। शनिबारदेखि हायत होटलले अधिकांश पर्यटकलाई दरबारमार्गमा रहेको होटल याक एन्ड यतीमा सारेको हो।

चार सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनसँग आवद्ध सबैले काम छाडेर माग पूरा गराउन दवाव दिइरहेका छन्। तीन सय २० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्।

‘हामीले व्यवस्थापन तहका कर्मचारीलाई काम गर्न अवरुद्ध गरेक छैनौं,’ दाहालले भने। वार्षिक नौ प्रतिशत तलव बृद्धि हुनुपर्नेमा व्यवस्थापनले पाँच प्रतिशतमा झारेको तथा भारतीय उच्च तहका कर्मचारीको ज्यादती भएपछि आन्दोलन गर्न बाध्य भएको दाहालको भनाइ छ।

विगतदेखि पाउँदै आएका सेवा सुविधा पछिल्लो समय व्यवस्थापनले खोसेको, काम गर्दा अपमानित गरेका कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ।

व्यवस्थापन र मजदुरबीच आइतबार भएको बार्तामा भारतीय उच्च तहका कर्मचारी हटाउन व्यवस्थापन तयार भएपनि अन्य विषयमा सहमति नभएको दाहालले बताए।

पछिल्लो समय व्यवस्थापनमा आएका चारजना भारतीय नागरिकले नेपाली श्रमिक तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको उनको आरोप छ। सन् २००० मा होटल तारागाउँ विकास समिति, आइसिटिसी ग्रुप र भारतीय राधेश्याम सर्राफबीच भएको सम्झौताअनुसार ह्यात होटलमा सञ्चालनमा आएको थियो।

व्यवस्थापन पक्षले भने वार्ता जारी रहेको भन्दै कुनै पनि प्रतिक्रिया दिन मानेको छैन।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, असार १, २०७६