भारत गएका सुदूरका एक सय ६५ कामदार बेपत्ता
डोटी, चैत २९ : मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका एक सय ६५ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक गरिएको छ।
सुदूरपश्चिमका....

डोटी, चैत २९ : मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका एक सय ६५ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक गरिएको छ।
सुदूरपश्चिमका अछाम, कञ्चनपुर र डोटीका बासिन्दा भारतमा बेपत्ता भएको गैर सरकारी संस्था निड्स नेपालले तथ्यांक सार्वजनिक गरेको हो।
तीन जिल्लामा गरिएको सर्वेक्षणमा मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो संख्यामा नेपाली हराएको तथ्यांक पहिलो पटक सार्वजनिक गरिएको हो । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीनै जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएको तथ्यांक सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए।
उनले भने, ‘यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने हो भने हजारौंँ बेपत्ता भएका हुन सक्छन् ।’ उनीहरूको बारेमा स्थानीय प्रशासनमा उजूरी नपर्दा पनि यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको उनले बताए।
रोजगारीका लागि स्थानीयवासी वर्षेनी भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरु बढेका हुन्। डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको बताए।
‘निड्स नेपालले एक सय ६५ जना बेपत्ता भए भनेर सार्वजनिक गरेपछि, खास कुरो के हो भनेर हामीले पनि आफ्ना तर्फबाट बुझने काम गरेका छौं,’ उनले भने, ‘बेपत्ता भएकाको कारण र विवरण बुझेर खोजीमा लाग्नेछौं।’ (रासस)











