Kathmandu Press

वाइडवडी जहाजको जापान उडान फेरि रोकियो

काठमाडौं, जेठ २२ : नेपाल वायुसेवा निगमको जापान उडान पुनः रोकिएको छ। असार १९ देखि जापानको ओसाका उडान

वाइडवडी जहाजको जापान उडान फेरि रोकियो

काठमाडौं, जेठ २२ : नेपाल वायुसेवा निगमको जापान उडान पुनः रोकिएको छ। असार १९ देखि जापानको ओसाका उडान गर्ने भन्दै निगमले प्रचार गरेको थियाे।

निगमले वाइडवडी जहाज खरिदसँगै जापानकाे ओसाका उडान गर्ने बताउँदै आएको भएपनि अहिलेसम्म उडान गर्न भने सफल भएको छैन। निगमले जापान जाने यात्रु नपाएको भन्दै उडान तालिकालाई भदौमा सार्ने निर्णय गरेको जनाएकाे छ। तर निगम स्रोतका अनुसार ओसाकामा उडान अनुमतिनै पाएकाे छैन।

नारितामा उडान अनुमति पाइसकेको अवस्थामा कार्यकारी अध्यक्ष बनेका मदन खरेलले ओसाका उडानको लागि प्रक्रिया सुरु गरेका थिए। ‘अहिले दुवैतिर उडानको अनुमति लिन निगम नेतृत्वलाई हम्मेहम्मे परेको छ,’ निगम स्रोतले भन्यो।

निगमले एयरवस ३३०-२०० सिरिजको जहाज खरिद गरेको एक वर्ष पूरा भइसक्दा पनि लामो दूरीको उडान गराउन निगम व्यवस्थापन सफल भएकाे छैन। निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तयारी गरेको थियो।

निगमले सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान गरेको थियो। जहाज अभाव हुँदै गएपछि आकर्षक मानिएको जापानको गन्तव्य निगमले गुमाएको हाे।

विगतमा निगमले बोइङ ७५७ सिरिजको न्यारोवडी जहाजमार्फत ओसाका उडाउँदै आएको थियो।

जापानमा नेपाली विद्यार्थी तथा रोजगारी भिसामा वर्षेनी हजारौ नेपाली जाने गरेका छन्। हाल एक लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान छ। जापानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापनी पर्यटकको संख्यासमेत बढ्न सकेको छैन।

नेपालमा जापानबाट सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएकाे छ। सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार चार सय १२ पर्यटक नेपाल भित्रिएका थिए। पछिल्लाे समय त्याे संख्या घट्दै गएकाे छ।

निगमले अहिले दुईवटा वाइडवडी, दुईवटा एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एउटा बोइङ ७५७ सिरिजको न्यारेवडी जहाजमार्फत नाै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।

 

प्रकाशित मिति: १५:०३ बजे, बुधबार, जेठ २२, २०७६