लुम्बिनी भ्रमण वर्ष : बुद्धको जन्म थलोबाट तीन प्रश्न
लुम्बिनी, जेठ ४ : आज २५६३ औं बुद्ध जयन्ती। आज लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु हुने दिन पनि।
लुम्बिनी, जेठ ४ : आज २५६३ औं बुद्ध जयन्ती। आज लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु हुने दिन पनि।
प्रदेश ५ सरकारले यस वर्ष करिब २५ लाख पर्यटक लुम्बिनी भित्र्याउने योजना बनाएको छ। यसका लागि मुख्य मन्त्री शंकर पोखरेलले चार करोड रुपैयाँ छुट्याएका छन्।
तर, अहिले धुलाम्मे सडक हुँदै लुम्बिनी जानुपर्ने बाध्यता छ। किनकि, लामो समयदेखि भैरहवा–लुम्बिनी सडक निर्माणाधीन छ। पानी पर्दा हिलैहिलो हुन्छ। पानी नपर्दा धूलैधूलो।

बेथरीको साँघुरो पुलबाट ओहोरदोहोर गर्न पनि सकस पर्छ। कहिलेकाहीँ त यहाँ घण्टौं जाम हुन्छ। यो हप्हपी गर्मीमा थोत्रा लोकल गाडीमा कोचिएर यात्रा गर्नुपर्दा त झन् सास्ती पाइन्छ।
तर, लुम्बिनीको महिमा र महत्ताअघि यो दुःख केही होइन। हरेक वर्ष नेपालबाट मात्र होइन, विश्वका विभिन्न देशबाट लाखौं मानिस यो धुलाम्मे सडक पार गरेर लुम्बिनी पुग्छन्।
गत साल पनि करिब १५ लाख मानिस लुम्बिनी पुगेका थिए। तीमध्ये तपाईं पनि एक हुनुहुन्थ्यो कि? हुनुहुन्थ्यो भने पनि यस वर्ष फेरि लुम्बिनी घुम्न किन नजाने?
भिडियाे : अप्पाे दीपाे भव
आखिर लुम्बिनी एक पटक पुगेर धीत मर्ने ठाउँ होइन। यो गन्तव्य होइन, प्रस्थान विन्दु हो। यहाँबाट सुरु हुन्छ – बुद्धलाई चिन्ने यात्रा।
बुद्धले भनेका छन् – अप्पो दीप्पो भव, अर्थात् आफ्नो दीप आफैं बन! आफ्नो दीप आफैं बन्ने यात्रा सुरु गर्ने सबैभन्दा उत्तम बिन्दु पनि लुम्बिनीबाहेक अर्को के होला र?
लुम्बिनी पुग्दैमा बुद्ध बन्ने त होइन, तर लुम्बिनी पुगेर आफूभित्रको उज्यालो खोज्न सकिन्छ। बुद्ध र बुद्धप्रति हाम्रो व्यवहारबारे आफ्नै मन, समाज र सरकारसँग केही प्रश्न मात्रै सोध्न सके पनि आफूभित्रको दीप खोज्ने यात्रा सुरु हुनेछ।

प्रश्न १ : लुम्बिनी वन खै?
बुद्ध रुखमुनि जन्मिएका थिए। बुद्धले रुखमुनि नै ज्ञान प्राप्त गरे। उनको आफ्नो देह पनि रुखकाे फेदमै त्यागे।
बौद्ध ग्रन्थहरूमा लुम्बिनीलाई एउटा सुन्दर वनको रुपमा वर्णन गरिएको छ। कल्पना गर्नुहोस् त – बुद्धको समयमा लुम्बिनी कस्तो थियो होला? अनि, अहिले लुम्बिनी गई हेर्नुहोस् त – वन कति बाँकी छ?
प्रश्न २ : कहाँ गए सारसहरू?
वुद्धको वाल्यकालबारे एउटा कथा छ। त्यस बेला उनी बुद्ध भइसकेका थिएनन्, सिद्धार्थ गौतम थिए। एक दिन उनले एउटा घाइते सारस भेटे। उनले त्यो सारसलाई घर लगी उपचार गरे। यसैले, बुद्धका कतिपय प्रतिमामा सारसको आकृति कुँदिएको देखिन्छ। गत साल सारसलाई ‘लुम्बिनीको चरा’ पनि घोषणा गरियो। तर, अहिले सारसहरू लुम्बिनीबाटै लोप हुँदैछन्।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पर्ने एउटा फराकिलो सिमसारलाई करिब दुई दशकअघि सारस संरक्षण क्षेत्रको रुपमा विकास गरिएको थियो। अहिले यो सिमसार क्षेत्र मास्ने र त्यहाँ पाँच तारे होटलहरू बनाउने प्रयास भइरहेको छ। बुद्धको जीवन र समयसँग जोडिएको सारसको वासस्थान विनाश गरी पाँचतारे होटल बनाउने व्यापारीहरूले त पैसा कमाउँलान्, तर त्यसले लुम्बिनीको एउटा इतिहास नष्ट गर्दैन र?

प्रश्न ३ : अशोक स्तम्भको धूलो कहाँबाट आउँछ?
लुम्बिनीको जति महत्व छ, त्यति नै महत्व मायादेवी मन्दिरसँगैको अशोक स्तम्भको पनि छ। ईशा पूर्व २४९ मा मौर्य सम्राट अशोकले यो ढुङ्गे खाँबो नगाडेका भए आज बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने प्रमाण हामीसँग हुन्थेन।
तर, अशोक स्तम्भले आफ्नो मौलिक चमक गुमाइसकेको छ। यसको कारण हो – लुम्बिनी क्षेत्रमा जथाभावी खुलेका सिमेन्ट कारखाना। ती सिमेन्ट कारखानाका चिम्नीहरूबाट निस्किने धूलोका कण हावासँग उड्दै मायादेवी मन्दिर क्षेत्रमा पनि आइपुग्छन् र अशोक स्तम्भमा गडेर बस्छन्। सन् २०१३ देखि सन् २०१६ सम्म युनेस्कोको एउटा टोलीले गरेको अध्ययनमा पनि अशोक स्तम्भमा सिमेन्टका कणहरू टाँसिएको देखियो। एउटा अर्को अध्ययनले लुम्बिनी क्षेत्रमा काठमाडौं जत्तिकै वा त्योभन्दा पनि बढी प्रदूषण हुने देखाएको छ।

सारा विश्वले गर्व गर्ने लुम्बिनी वरिपरि यति धेरै प्रदूषणकारी कारखाना खोल्ने अनुमति किन दिइयो?
तर, लुम्बिनी भ्रमणमा जाने लाखौ पर्यटकहरू यस्ता प्रश्न सोध्दैनन्। प्रायः सेल्फी खिच्न व्यस्त हुन्छन्। यो लुम्बिनी भ्रमण वर्षमा सेल्फीका लागि होइन, संज्ञानका लागि बुद्धको जन्मथलो गए कसो होला?







