दरबार हत्याकाण्डमा परिवार गुमाएका गाेरख शमशेर परेवा प्रेममा
काठमाडौं, जेठ ४ : २०५८ साल जेठ १९ गते राति भएको नारायणहिटी दरबार हत्याकाण्डले नेपालको
काठमाडौं, जेठ ४ : २०५८ साल जेठ १९ गते राति भएको नारायणहिटी दरबार हत्याकाण्डले नेपालको इतिहासमात्रै बदलेन, गोरख शमशेर राणाको जिन्दगी पनि बदल्यो।
त्यो शाही नरसंहार नभएको भए ज्ञानेन्द्र शाह राजा हुँदैन थिए। २०६१ साल माघ १९ गते प्रजातन्त्रविरुद्ध शाही कु पनि हुँदैन थियो। २०६२–६३ सालको जनआन्दोलन पनि हुँदैन थियो की ?
त्यो दुःखद् घटना नभएको भए गोरख शमशेर राणा पनि आजपर्यन्त राजकुमारी श्रुती शाहसँगै हुन्थे। उनको हृदयमा कुनै गहिरो घाउ हुन्थेन।
त्यो रात कुमार गोरख शमशेर राणा नारायणहिटी दरबारभित्रै थिए, आफ्नी श्रीमती श्रुति शाहसहित। राति नौ बजेतिर अचानक गोली चल्न थल्यो। उनीहरू दुबैलाई गोली लाग्यो।
राजकुमारी श्रुति शाहलाई डाक्टरहरूले बचाउन सकेनन्। गोरख शमशेर बाँच्न त बाँचे, तर एक्लो र विक्षिप्त भई बाँचे। त्यो त्रासदिपूर्ण रात उनले आफ्नी श्रीमती मात्रै गुमाएनन्, राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित ११ जना प्रियजन र आफन्तहरू पनि गुमाए।
नारायणहिटी हत्याकाण्ड भएको यही महिनाको १९ गते ठ्याक्कै १८ वर्ष पुग्दैछ। भनिन्छ – जतिसुकै गहिरो आघातको औषधि पनि समय हो। तर, गोरख शमशेर राणाले आफ्नो हृदयको गहिरो घाउ पुर्न समयको लेप मात्रै लगाएनन्, शान्तिका प्रतीक परेवाहरूलाई पनि आफ्नै परिवारका सदस्य बनाए।
प्रायः कम बोल्ने र शान्त बस्न रुचाउने गोरख शमशेरले अहिलेसम्म सार्वजनिक रुपमा त्यो रक्तपातपूर्ण रातको वर्णन गरेका छैनन्। त्यो संवदेनशील घटनाको बारेमा मात्र होइन, परेवा पाल्ने–उडाउने शौखबारे समेत क्यामेराअगाडि बोल्न उनी तयार भएनन्।
भिडियाे
उनले यति मात्रै भने, ‘परेवा पाल्दा, परेवा उडाउँदा मनलाई शान्ति मिल्छ। एक छिन् मात्रै भए पनि आफ्ना दैनिक जीवनबाट टाढा पुगेको महशुस हुन्छ।’
गोरख शमशेरले आफ्नै घरको कौसीमा थुप्रै परेवाहरू पालेका छन्। विभिन्न देशबाट ल्याइएका यी हाई फ्लायर परेवाहरू धेरै माथिसम्म मात्रै उड्दैनन्, लामो समयसम्म आकाशमै कावा खाइरहन पनि सक्छन्।
नेपाल परेवा उडान खेल संघले बर्सेनि आयोजना गर्ने राष्ट्रिय परेवा उडान प्रतियोगिताका नियमित प्रतिष्पर्धी हुन्, गोरख शमशेर। उनले २०७३ र २०७४ सालमा दुईपटक लगातार यो प्रतियोगिता जिते। २०७५ सालमा पनि जित्न सकेका भए केयुर रनिङ शिल्ड उनकै हुन्थ्यो। तर, पोहोर साल उनले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।
गोरख शमशेर यस वर्ष भइरहेको १९ औं राष्ट्रिय परेवा उडान प्रतियोगितामा पनि प्रतिष्पर्धा गरिरहेका छन्। गत वैशाख १८ गते सुरु भएको यो प्रतियोगिताको फाइनल खेल यही जेठ महिनामा हुँदैछ।
गत जेठ १ गते विहान राष्ट्रिय परेवा उडान प्रतियोगिताको दोस्रो चरणको खेल हुने निधो भएको थियो। त्यस दिन १२ जना परेवा पालकहरू प्रतिष्पर्धामा उत्रिएका थिए।
पेशाले बैंकर गोरख शमशेर पनि ठमेलस्थित आफ्नो साढे तीन तले घरको छतबाट परेवा उडाउन तयार भएका थिए। राष्ट्रिय परेवा उडान खेल संघका निर्णायकहरू पनि त्यहाँ पुगेका थिए।
निर्णायकहरूले एक–एक गरी गोरख शमशेरका सात वटै परेवाको पखेटामा छाप लगाए। घडीको सूईले विहानको ६ बजेको देखाएपछि सबै परेवाहरूलाई एकैसाथ भुर्र उडाइयो। अरु बेला खोरभित्रै थुनिने परेवाहरू एकैचोटी मुक्त आकाशमा स्वच्छन्द उड्न तयार थिएनन्।
गोरख शमशेरले बाँसको लामो भाटाको टुप्पामा बेरिएको रातो झण्डा फर्फराउँदै आफ्ना परेवाहरूलाई आकाशमा उड्न घच्घचाए। त्यो दिन उनका पाँच वटा परेवाहरू २५घण्टा ३१ मिनेट आकाशमा उडेछन्।
प्रत्येक परेवा यति लामो समयसम्म आकाशमा उडेको भने होइन। पाँच वटा परेवाले आकाशमा बिताएको कुल समय गणना गरिएको हो। हुन त गोरख शमशेरले सात वटा परेवा उडाएका थिए। तर, सबैभन्दा बढी उड्ने पाँच वटा परेवाको उडान अवधि मात्रै गणना गरिएको हो। यो नै परेवा उडान प्रतियोगिताको नियम हो।
प्रतिष्पर्धाका लागि उडेका केही परेवाहरूलाई आकाशमा बाजले झम्टेर खाइदिन्छन् भनेर पाँचको सट्टा सात वटा परेवा उडाइने नियम बसाइएको हो। सात वटै परेवा सकुशल फर्के पनि गणना भने पाँच वटाको मात्रै गरिन्छ।
आफ्ना पाँच वटा परेवाहरूले २५ घण्टाभन्दा बढी लामो समय आकाशमा बिताए पनि गोरख शमशेर पहिलो भएनन। किनकि, त्यो दिन प्रकाश महर्जनले आफ्नै घरको कौशीबाट उडाएका पाँच वटा परेवाहरू २६ घण्टा २४ मिनेटसम्म आकाशमा उडेका थिए।
प्रतियोगिताको दोस्रो चरणमा दोस्रो स्थानमात्रै हासिल गरे पनि गोरख शमशेर आक्रोशित वा निराश थिएनन्। उनी सधैं शान्त रहन्छन्। गत साल उनलाई हराएर केयुर रनिङ शिल्ड जितेका भक्तपुर, लोकन्थलीका परेवा पालक सुवास पौडेल भन्छन्, ‘उहाँ (गोरख शमशेर) जहिले पनि शान्त रहनुहुन्छ। मैले उहाँलाई रिसाएको देखेको छैन।’
हुन त परेवा पाल्नु–उडाउनु गोरख शमशेर राणाको खानदानी शौख हो।
उनका बुवा केयुर शमशेर जङ्ग बहादुर राणा पनि परेवा उडाएर आनन्द लिन्थे। आफ्ना भाइ लोकभक्त राणासँग मिलेर केयुर शमशेरले आफ्नो जमानामा परेवा उडाउने प्रतियोगिता नै सञ्चाल गर्थे।
आफ्नै बुवा–काकाले परेवा उडाउने प्रतियोगित गर्ने गरे पनि २०५७ सालमा राष्ट्रिय परेवा उडान प्रतियोगिता सुरु हुँदा गोरख शमशेर सहभागी थिएनन्। २०५८ सालमा त दरबार हत्याकाण्ड नै भयो। त्यसपछि निकै वर्ष उनी पीडामा रहे।
२०६६ सालमा दोस्रो बिहे गरेपछि भने गोरख शमशेरको नयाँ जीवन सुरु भयो। त्यस बेलादेखि नै उनी परेवा उडाउने खेलमा फर्किएका हुन्। उनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा केयुर रनिङ शिल्ड पनि स्थापना गरे। राष्ट्रिय परेवा उडान प्रतियोगिता जित्नेले यो चाँदीको परेवा आकृतिको शिल्ड सहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्छन्।
तीन वर्षसम्म राष्ट्रिय परेवा उडान प्रतियोगिता जित्नेले यो शिल्ड घर लैजान पाउँछ। पोहोर साल पनि प्रथम स्थान हासिल गरेका भए गोरख शमशेरले पोहोर नै केयुर रनिङ शिल्ड कब्जा गर्ने थिए। तर, उनको विजय श्रृंखला टुट्यो। तर, उनी तेस्रो पटक प्रतियोगिता जितेर शिल्ड कब्जा गर्ने दाउमा छन्।











-1755255383.jpg)
