Kathmandu Press

समाजवाद उन्मुख आर्थिक मार्गदर्शन : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख २७ : अर्थमन्त्री डा.युवराज खतिवडाले २०३० अगाडि नै दीगो विकास लक्ष्य हासिल गर्ने गरी

समाजवाद उन्मुख आर्थिक मार्गदर्शन : अर्थमन्त्री खतिवडा

काठमाडौं, वैशाख २७ : अर्थमन्त्री डा.युवराज खतिवडाले २०३० अगाडि नै दीगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट आउने बताएका छन्।

संसद्मा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक न्याय र उच्च आर्थिक वृद्धिको दिशामा आगामी आर्थिक वर्षको बजेट केन्द्रीत हुने संसद्लाई जानकारी गराएका छन्।

आगामी वर्षको बजेटले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा हासिल हुने गरी काम गर्ने समेत बताएका छन्।

ठूला पूर्वाधार र राष्ट्रिय आवश्यकता र प्राथमिकतामा केन्द्रीत हुने पनि अर्थमन्त्री खतिवडाले बताए। गैरसरकारी संस्थालाई सरकारले प्राथमिकता तोकेका काम गर्न प्रोत्साहन गर्ने पनि उनले बताए।

आगामी आर्थिक वर्षलाई  अधुरा कार्यक्रम सम्पन्न हुने वर्षका रुपमा अघि बढाइने पनि अर्थमन्त्री खतिवडाले बताए। भूमिगत, जलमार्ग, रेलमार्ग अघि बढाइने पनि उनले उल्लेख गरे। विद्युतीय सवारी साधन प्रोत्साहित गर्ने पनि बजेटको प्राथमिकता हुने उनले बताए।

स्वास्थ्य क्षेत्र, महिला सशक्तीकरणमा जोड दिइनेसमेत खतिवडाले बताए। सहरकारी र सामूहिक कृषिमा केन्द्रित गरिनुको साथै भूउपयोग नीति ल्याउने समेत खतिवडाले बताए। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने कार्यक्रम आउने जनाएको छ।

उनले संविधानमा उल्लेखित समाजवाद उन्मुख आर्थिक कार्यप्रणालीलाई मार्गदर्शनका रुपमा लिएर मौलिक हक कार्यान्वयन र नीति तथा कार्यक्रमलाई विनियोजन विधयेकको मुख्य आधार बनाइएको समेत बताए।

उनले विकास र वातावरणको सन्तुलन कायम गरिने बताए। ‘वामपन्थी घोषणापत्र, विकासका दीर्घकालीन लक्ष्य र दीगो विकास लक्ष्य हासिल हुनेतर्फ ध्यान दिइनेछ,’ खतिवडाले भने।

नागरिकका मौलिक हक र अधिकारसँग सम्बन्धित कानुनहरुको परिपालना, गुणस्तरीय जीवन, सबै नेपालीलाई आफ्नो सीप उपयोगको अवसर, न्यायपूर्ण सामाजिक आर्थिक विकासर लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयनमा बजेट तर्जुमा हुने उनले बताए।

मूल्य बृद्धिलाई नियन्त्रण गरिने र साझा अधिकारका सूचिमा निश्चित मापदन्ड तयार पारिने समेत बताएका छन् । दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्नेतर्फ बजेट केन्द्रित हुने उनको भनाइ छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाइने खतिवडाले उल्लेख गरे। जोखिमयुक्त बस्तीमा रहेका सबै बस्तीलाई जोखिममुक्त क्षेत्रमा स्थानान्तरण गरिने पनि उनले बताए।

सबै नागरिकलाई रोजगारी र उत्पादनमा जोड्ने गरी कार्यक्रम तर्जुमा हुने उल्लेख गरे। सबै नागरिक राज्यबाट संरक्षित भएको महसुस हुने गरी सामाजिक सुरक्षाको दायरामा ल्याउने उनले बताए। यसैगरी आगामी वर्षलाई युवा परिचालनको वर्षका रुपमा अघि बढाइने पनि उनले जानकारी दिए।

कृषिको आधुनीकीकरण र यान्त्रीकरणमा जोड दिइने उनले उल्लेख गरे। अनुदान वितरणको विद्यमान व्यवस्थामा परिवर्तन गरिने उनले बताए। खतिवडाले कृषिको अनुदान उत्पादनमा जोडिने गरी कार्यक्रम तय हुने बताए।

खतिवडाले उत्पादन कुशलतामा जोड दिइने, खर्च प्रणालीलाई न्यायोचित वितरणमा ध्यान दिने, आयोजनाको प्रतिफल हेरेर बजेट विनियोजन हुने पनि उल्लेख गरे।  

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, वैशाख २७, २०७६