सामुदायिक वनले नेपालमा जङ्गल बढायाे, गरिबी घटायो: अन्तर्राष्ट्रिय विशेषज्ञ
काठमाडौं, वैशाख २६ : विश्वमै प्रशंसित सामुदायिक वनको उचित विकास र व्यवस्थापनका कारण नेपालमा वन
काठमाडौं, वैशाख २६ : विश्वमै प्रशंसित सामुदायिक वनको उचित विकास र व्यवस्थापनका कारण नेपालमा वन विनाश र गरिबी घटेको एक नयाँ अध्ययनले देखाएको छ।
स्थानीय समुदायलाई उनीहरूको वन आफैले व्यवस्थापन गर्ने अवसर दिनाले त्यस क्षेत्रमा वन विनाश र गरिबी दुबै घटाएको सो अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ म्यान्चेष्टर नेतृत्वको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको एउटा टोलीले गरेको उक्त अध्ययन हालसम्मकै ठूलो हो। सामुदायिक वन व्यवस्थापनले सापेक्ष रूपमा वन विनाश ३७ प्रतिशत र गरिबी ४.३ प्रतिशतले घटाएको अध्ययनको निष्कर्ष रहेको युनिभर्सिटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
न्यून आय भएको नेपालजस्तो देशका लागि यस्तो निष्कर्षको विशेष महत्व छ। नेपालको एक तिहाई वन जंगल देशको एक चौथाइ जनसंख्याले व्यवस्थापन गर्दछ। ‘नेचर सस्टेनेबिलिटी’मा प्रकाशित उक्त अध्ययनको निष्कर्ष समुदायमा आधारित वन व्यवस्थापन सम्बन्धी सबैभन्दा ठूलो अध्ययन हो। अध्ययनले नेपालका १८ हजारभन्दा धेरै सामुदायिक वन अभियानको प्रभाव मुल्यांकन गरेको छ। नेपालमा सामुदायिक वन व्यवस्थापनको सक्रिय प्रवद्र्धन गर्न थालेको दशकौं भएको छ।
दिगो विकासका लागि वन जंगलको ठूलो महत्व छ। वन जंगलले विश्वको जलवायु नियन्त्रण गर्छ। वायुमण्डलबाट कार्बन हटाउँछ। जैविक विविधतालाई प्रश्रय दिन्छ र विश्वभरि लाखौं मानिसको स्थानीय जीविकामा योगदान पुर्याउँछ। चार दशकदेखि, प्राकृतिक श्रोतको संरक्षणलाई मानवीय विकाससँग संयोजन गर्न सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सक्रिय रूपमा समुदायमा आधारित वनजंगल अभियानको प्रवर्द्धन गर्दै आएका छन्। अहिले विश्वको अनुमानित १३ प्रतिशत वन स्थानीय समुदायले वैधानिक रूपमा व्यवस्थापन गर्दछन्।
तर, समुदायमा आधारित वन व्यवस्थापनको प्रभावको प्रमाण धेरै हदसम्म सानो–परिमाणको मुल्याङ्कन वा साँघुरा अध्ययनमा मात्रै हालसम्म सिमीत थिए। अध्ययन प्रतिवेदनका मुख्य लेखक तथा युनिभर्सिटी अफ म्यान्चेष्टरका डा. योहान ओल्डकोपले भने,‘सामुदायिक वन व्यवस्थापनले समग्र देशवासी र वातावरणका लागि प्रष्ट रूपमा जित–जितको अवस्था हासिल गरेको हाम्रो अध्ययनले देखाएको छ। जमिनको सुरक्षित अधिकारबाट स्थानीय समुदायले श्रोतको संरक्षण र वातावरणीय क्षयीकरण रोकथाम गर्नसक्ने नेपालले पुष्टि गरेको छ।’
स्थानीयको हितमा कुनै प्रभाव नपारी वनविनाश न्यूनिकरण भएको छ। सामुदायिक वन व्यवस्थापन भएका क्षेत्रमा वनविनाश र गरिबी घटेर जाने सम्भावना ५१ प्रतिशत रहेको अध्ययनले पत्ता लगाएको छ।
प्रतिवेदनका सहलेखक तथा न्यूकासल युनिभर्सिटीका प्राध्यापक मार्क व्हिट्टिङहमले भने,‘मानव जातिको आवश्यकता वा चाहनाका विरूद्ध वातावरणको दिगो व्यवस्थापनको सन्तुलन सजिलो छैन। यी निष्कर्षहरूले एउटा सकारात्मक समाधानमाथि प्रकाश पारेका छन्।’
पर्यावरणविद्, अर्थविद् र राजनीतिक वैज्ञानिकहरूको अन्तर्विषयगत समूहद्वारा लिखित अनुसन्धानले वन, मानिस र संस्था सम्बन्धी सार्वजनिक रूपमा उपलब्ध तथ्यांक विश्लेषण गर्न कठिन विधि प्रयोग गरेको छ। यसले अघिल्ला तथ्याङ्कहरूको सीमा हटाएको छ। समूहले नेपालको राष्ट्रिय जनगणना अनुसार १३ लाख ६० हजार घरधुरीको तथ्याङ्क र १८ हजारभन्दा धेरै सामुदायिक वन सम्बन्धी जानकारीलाई वनविनाशको ‘स्याटेलाइट’ तस्वीरमा आधारित अनुमानसँग संयोजन गर्यो।
सहलेखक तथा युनिभर्सिटी अफ मिसिगनका प्राध्यापक अरूण अग्रवालले भने,‘एउटै समयमा कार्बन उत्सर्जनको न्युनिकरण र गरिबको अवस्थामा सुधार गर्ने संयन्त्रको पहिचान –सामुदायिक वन– जलवायु परिवर्तन नियन्त्रण र जोखिममा रहेको सुरक्षा गर्ने विश्वव्यापी प्रयासमा अघि बढेको एउटा महत्वपूर्ण पाइला हो।’
मेक्सिको, मेडागास्कर र ताञ्जानियामा पनि उस्तै सामुदायिक वन व्यवस्थापन कार्यक्रम सञ्चालित छन्। इन्डोनेसिया र अन्य देशले पनि यस्ता कार्यक्रमको विकास गरिरहेका छन्। सहलेखक तथा एमहस्रट कलेजकी क्याथरिन सिम्सले भनिन्,‘संरक्षणको एउटा नवीन नीति कार्यान्वयन गर्ने नेपालको अनुभवबाट हामी सिक्न चाहन्थ्यौं। विभिन्न सन्दर्भमा भविष्यमा गरिने सामुदायिक वनको अध्ययन र वैकल्पिक शासन संरचनाको तुलनामा हाम्रा विधिहरू उपयोगी हुनेछन् भन्ने आशा गरेका छौं।’
नेपालको सफलतालाई अन्य क्षेत्रले अनुकरण गर्नसके, सामुदायिक वन व्यवस्थापनले थुप्रै ‘दिगो विकासका लक्ष्य’हरू हासिल गर्न अझ ठूलो भूमिका खेल्न सक्ने कुरा पनि सो अध्ययनको निष्कर्ष छ।






