शुरू भयो देशकै लामो रथ यात्रा
ललितपुर, वैशाख २५ : पाटनको पुल्चोकदेखि गाःबहालसम्म रथ तानेर आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्
ललितपुर, वैशाख २५ : पाटनको पुल्चोकदेखि गाःबहालसम्म रथ तानेर आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ। नेपालकै सबैभन्दा लामो रथ यात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्राका दौरान रथलाई पाटनका विभिन्न ठाउँमा तान्ने गरिन्छ।
पाटनको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याएसँगै मच्छिन्द्रनाथको ऐतिहासिक जात्रा शुरु हुन्छ। यो जात्रा झण्डै दुई महिनासम्म चल्छ।

जात्राको सुरूमा गत साता म्हेपी डाँडाको माटोबाट करुणामयको मूर्ति बनाइ सो रथमा प्रतिस्थापन गरिएको थियो। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि चौथी तिथिमा रथयात्रा आरम्भ हुन्छ। रथयात्रा शुरु भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गाःवहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा पुगेर टुंगिन्छ। जात्राको अन्त जावलाखेलमा भोटो देखाएपछि हुन्छ।

यो रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवी राजा नरेन्द्र मल्लको पालामा शुरु भएको मानिन्छ। रातो मच्छिन्द्रनाथलाई नेवारीमा ‘वुंगःद्य’ भनिन्छ।












