Kathmandu Press

के तपाईं आफ्ना फोटो अनलाइनमा सेयर गर्न आमाबुवालाई रोक्न सक्नुहुन्छ?

छोराछोरीलाई मनपरोस्–नपरोस्। आमाबाबु पनि सामाजिक सञ्जालमा प्रवेश गरेका छन्। रमाउन थालेका छन्। ‘टच’मा रहने यो गज्जबको माध्यम हो। आमाको ‘सेल्फी&rs....

के तपाईं आफ्ना फोटो अनलाइनमा सेयर गर्न आमाबुवालाई रोक्न सक्नुहुन्छ?

छोराछोरीलाई मनपरोस्–नपरोस्। आमाबाबु पनि सामाजिक सञ्जालमा प्रवेश गरेका छन्। रमाउन थालेका छन्। ‘टच’मा रहने यो गज्जबको माध्यम हो। आमाको ‘सेल्फी’ हेर्नु र बुवाको ‘कमेन्ट’ पढ्नु कम्ता रमाइलो हुन्छ!

तर, छोराछोरीलाई नसोधी उनीहरूको फोटो पोस्ट गर्न पाइन्छ कि पाइँदैन? ‘प्राइभेसी सेटिङस’बारे कतिलाई थाहा छ? पोस्ट गरिएका फोटो हटाउन उनीहरूलाई कसरी राजी गराउने? प्रश्न गम्भिर छ।

‘श्यारेन्टिङ’ अर्थात् सन्तानको हालखबर र तस्वीर अनलाइनमा शेयर गर्ने गतिविधि आजभोलि चर्चामा छ। प्रसिद्ध अमेरिकी अभिनेत्री ग्वेनेथ पाल्ट्रोले १४ वर्षीया  छोरीसँग स्किइङ गरेको तस्वीर पोस्ट गरेपछि इन्टरनेट जगतमायसले थप चर्चा पाएको हो।

Hardik ivf

तस्वीरले डेढ लाखभन्दा धेरै लाइक पाएको छ ।तर छोरी एप्पल मार्टिन भने खुसी छैनन्। इन्स्टाग्राममा मार्टिनले लेखेकी छिन्,‘आमा, हामीले यसबारे छलफल गरेका थियौं। मेरो मञ्जुरी बेगर तपाईंले केही पनि पोस्ट गर्न पाउनुहुन्न।’

पाल्ट्रोले पनि जवाफ दिइन्,‘तिम्रो अनुहार पनि देखिँदैन।’ पाल्ट्रोका धेरै फ्यानले आमासँग छोरीको तस्वीर पोस्ट गर्न पाउने अधिकार भएको तर्क गरे। तर, बहसमा अन्य पनि छन्, जो सन्तानको गोपनियता सम्बन्धी हक–अधिकार हुने तर्क गर्छन्।

श्यारेन्टिङको आक्रोश

अधिकांश सामाजिक सञ्जाल साइटमा १३ वर्षको उमेर नपुगेसम्म खाता खोल्न पाइँदैन। त्यसैले अकस्मात अनलाइन हुँदा केहीलाई झट्का लाग्नु स्वाभाविक पनि हो।
स्पेनका १९ वर्षीय कोन्राद इतुर्बे‘सफ्टवेयर डिभेलोपर’ हुन्।  १४ वर्षको उमेरमा आमाबाबुले आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको थाहा पाउँदा झसङ भएको कोन्राद बताउँछन्। 

‘मैले फोन पाउनुअघि नै आमाको इन्स्टाग्राम थियो। मेरा तस्वीर पोस्ट हुन्छन् भनेर मलाई थाहा हुने कुरै भएन,’ उनले भने। इतुर्बेलाई अनलाइनमा फोटो पोस्ट गर्न मन पर्दैन। उनी इन्स्टाग्राममा पनि फोटो पोस्ट गर्दैनन्। आमाको प्रोफाइलमा आफ्नो फोटो देखेपछि उनले तुरून्तै हटाउन लगाए।

‘मेरो फोटो हटाउनुहोस्, मैले तपाईंलाई अनुमति दिएको छैन,’आमालाई यस्तो भनेका थिए। कोन्रादलाई गोपनियताको उल्लंघन भएजस्तो लाग्यो। उनको बाल्यकालका फोटो पोस्ट गरिएका थिए। त्यसमाथि आमाको इन्स्टाग्राम सबैले देख्ने गरी ‘ओपन’ थियो।

‘बाल्यकालको फोटो शेयर नहोस् भन्ने चाहन्थें। यो एकदमै निजी कुरा हो,’ उनले भने। उनी ‘फेसियल रिकग्निसन एल्गोरिदम’बाट पनि चिन्तित छन्। बुढेसकालमा कस्तो देखिएलान भनेर मानिसहरूले हेर्न सक्ने प्रविधि आएकोमा उनलाई तनाव छ।

पहिलो पटक ट्वीटर र फेसबुक चलाउँदा अमेरिकाकी १४ वर्षीया सोनिया बुखारीलाई यस्तै अनुभव भएको थियो। उनी भन्छिन्,‘आमाले वर्षाैंसम्म फेसबुकमा पोस्ट गरेका फोटोहरू देखेर मलाई एकदमै लाज लाग्यो। ठूलो धोका पाएजस्तो लाग्यो।’

‘आमाको फेसबुक जसले पनि हेर्न सक्थ्यो। त्यहाँ मेरो बाल्यकालका लाजैलाग्दो फोटो पोस्ट गरिएका थिए। कतिओटाको त मलाई सम्झना पनि थिएन।’
‘श्यारेन्टिङ’सँग कुनै आपत्ति नभएका मानिस पनि छन्। लन्डनमा अध्ययनरत २३ वर्षिया शार्लाेट क्रिस्टि यसलाई ‘एकदमै सामान्य’ मान्छिन। आमाले क्रिस्टिको फोटो फेसबुकमा अपलोड गर्न सुरू गर्दा, उनी १३ वर्ष पुगेकी थिइन्। 

‘मलाई ट्याग गर्नुहुन्थ्यो। न्युजफिडमा आउँथ्यो। सबैले देख्थे। लाज त लाग्थ्यो नि! तर फोटो हटाउन लगाउने गरी दुखी पनि भइनँ।’ ‘समाजमा सबै जना आफ्नो फोटो आकर्षक होस् भन्ने चाहन्छन्। तर, आमाले म राम्री नदेखिएको फोटो पोस्ट गर्नुभए पनि मलाई खासै चिन्ता हुँदैन।’

‘हामी एकअर्काको फोटो पोस्ट गरिरहेकै हुन्छौं। शेयर गर्नु स्वाभाविक हो जस्तो लाग्छ। अनि आमाले मेरो अनुमति किन लिनुपर्‍यो?’

श्यारेन्टिङ खतरनाक हुनसक्छ?

सारा (नाम परिवर्तन) २९ वर्षीया स्वास्थ्यकर्मी हुन्। उनी हङकङमा बस्छिन्। गोपनियता सम्बन्धी विषयले उनलाई चिन्तित बनाएको थियो।

‘२१ वर्ष पुगेकी थिएँ।आमाले फेसबुकमा ट्याग गर्नुभयो। म बच्चा हुँदादेखि २० वर्षपुग्दासम्मका फोटापोस्ट गर्नुभएको रहेछ।’ ‘सेटिङस पब्लिक थियो। सुरक्षित लागेन। मेरो बाल्यकालका फोटोहरू सबैसँग होस्, त्यो चाहन्नथें। गुगलबाट कसैको फोटो प्रयोग गरेर उनीहरूको नाम पत्ता लगाउन सकिन्छ भन्ने मलाई थाहा थियो। आमाले अनलाइनमा पोस्ट गर्नुभएको मेरो फोटोले, प्रविधि कम्पनीलाई म कस्तो देखिन्छु भनेर थप जानकारी दियो।’

इस्टोनियाको युनिभर्सिटी अफ टार्टुमा मिडिया अध्ययनका प्राध्यापक आन्द्रा सिबाकले श्यारेन्टिङ सम्बन्धी थुप्रै अनुसन्धान गरेकी छिन्। ९ देखि १३ वर्षका इस्टोनियाली बालबालिका संलग्न अध्ययनमा, बालबालिकालाई ‘आमाबाबुले उनीहरूको सकारात्मक कुरा शेयर गरेको’ मनपर्ने देखियो तर ‘कस्तोलाई राम्रो फोटो मान्नेबारे दुवैबीच ठूलो मतभिन्नता छ।’

‘कपाल बिग्रिएको वा मन नपर्ने लुगा लगाएको तस्वीर शेयर गरेको बालबालिकालाई मन परेन।’‘आमाबाबु त्यसलाई ठूलो समस्या मान्दैनन् तर किशोरावस्थामा प्रवेश गर्नेहरूको छवि प्रभावित हुनसक्छ’ वा यसले ‘साइबर–बुलिङ’ पनि हुनसक्छ। ‘डिजिटल किडन्यापिङ’ श्यारेन्टिङको अर्काे सम्भावित जोखिम भएको सिबाकले बताइन। अपरिचित व्यक्तिले बालबालिकाका सार्वजनिक तस्वीर ठगी वा यौनजन्य प्रयोजनका लागि प्रयोग गर्नसक्छन्।

आमाबाबुले बालबालिकाको चासो गम्भिर रूपमा लिने कि?

धेरै आमाबाबुले बालबालिकाप्रति जिम्मेवार भएको अनुभव गर्ने सिबाक बताउँछिन्। तर फोटोले कुनै हानि नगरेको विश्वास लागेसम्म सन्तानको अनुमति आवश्यक नहुने पनि उनीहरू बताउँछन्। तर, गोपनियता सम्बन्धी सन्तानको चासो र चिन्तालाई आमाबाबुले‘एकदमै’ गम्भिर रूपमा लिनुपर्ने सिबाक बताउँछिन्।

‘छोराछोरीलाई कस्तो फोटो मनपर्छ र अपलोड गर्दा हुन्छ कि हुँदैन भनेर साधारण छलफल मात्रै गरे पनि आमाबाबु र सन्तानबीच राम्रो सम्बन्ध विकास हुन्छ।’
सन्तानको गोपनियता सुरक्षित गर्न आमाबाबुले इन्टरनेटको प्रयोग सम्बन्धि प्रायः निकै कडा नियम बनाउँछन्। तर त्यस्ता नियम ‘छोराछोरीलाई मात्रै लागू हुने र परिवारका वयस्कलाई लागू नहुने’ गरेको देखिएको छ।

‘इन्टरनेट प्राइभेसी’ सम्बन्धी ज्ञान नभएकोले आमाबाबुले आफ्नो चिन्ता बेवास्ता गरेको कोन्राद र साराले बताए। ‘सुरूमा त आमा हाँस्नुभयो। कसैले देख्दैन। साथीहरूले मात्रै हेर्छन् भन्नुभयो। तर, उहाँको इन्स्टाग्रामको प्रोफाइल सबैले हेर्नसक्थे,’ कोन्रादले भने। गोपनियताबारे बुझेपछि अचेल छोराको फोटो पोस्ट गर्नुअघि आमालेअनुमति लिने गरेकी छिन्।

आमालाई ‘प्राइभेसी सेटिङ्स’ परिवर्तन गर्न लगाउँदा ‘सुरूमा निकै रिसाएको’साराले बताइन्। ‘मप्रति गर्व गर्ने र मेरा कुराहरू अनलाइनमा शेयर गर्न चाहने बताउनुभयो। गोपनितयाको विषयमा बुझाउन खोज्दा आमाले बुझ्नुभएन। सबै कुरा अनलाइनबाट अनुगमन भइरहेको उहाँको तर्क थियो।’ ‘मेरो विचारमा हामीले जस्तो धेरै आमाबाबुले साइबर सुरक्षाबारे बुझेका छैनन् किनभने उनीहरू इन्टरनेटको युगमा जन्मिएका पुस्ता होइनन्।’

अन्ततः साराकी आमाले ‘प्राइभेसी सेटिङ्स’लाई ‘फ्रेन्ड्स अन्ली’ बनाइन्। उनको फेसबुकमा एक हजारभन्दा धेरै ‘फ्रेन्ड्स’ छन्। तीमध्ये अधिकांशलाई उनी चिन्दिनन्। अर्को तरिकाले उनको फेसबुक अझै पनि ‘पब्लिक’ नै छ।  ‘मलाई ट्याग गरेपछि, उहाँको साथीबाट पनि ‘फ्रेन्ड रिक्वेस्ट’ आउन थाल्यो। मैले तत्कालै अस्वीकार गरें,’ साराले भनिन्। ‘धन्य भगवान।आमालाई अहिलेसम्म इन्स्टाग्राम चलाउन आउँदैन।’

‘सेटिङ्स’ परिवर्तन गर्न आमाबाबुलाई कसरी विश्वास दिलाउने?

जटिल छ। पोस्ट गर्नबाट उनीहरूलाई रोक्ने कुनै भौतिक वा कानूनी उपाय पनि छैन। त्यसैले कि त आमाबाबुलाई फकाउनुपर्छ नभए सम्झौता गर्नुपर्छ।
आमाबाबुको सहानुभूति जितेर बुझाउनुपर्ने कोन्रादको सुझाव छ। ‘सोध्थें – पत्रिकाको मुख्य पृष्ठमा तपाईंको लज्जास्पद तस्वीर बाजेबोजुले पोस्ट गरेको भए तपाईंलाई कस्तो लाग्थ्यो? उहाँहरूको समयमा, फोटोहरू हराउँथे। अहिले सबै कुरा अनलाइन छ। कहिले हराउँदैन।’

सारा भन्छिन्,‘तथ्यलाई आधार बनाउनु र भावुक नहुनु नै मेरा लागि राम्रो भयो।’ ‘बच्चाको फोटोमा राम्री देखिएकी छैन। लुगा लगाएको छैन, फोटो अभद्र छ भनेर भावना प्रयोग गर्दा, उल्टै मानिसहरूलाई ‘क्युट’ लाग्ने उत्तर पाउँथे।’  ‘इन्टरनेट सुरक्षा सम्बन्धी तथ्य र मानिसले ती फोटो कसरी प्रयोग गर्छन् हामीलाई थाहा हुँदैन भनेर बुझाउँदा, आमा सावधानी अपनाउन तयार हुनुभयो।’ 

अझै पनि आमाले साराको अनुमति नलिई फोटो पोस्ट गर्छिन्। तर, ‘प्राइभेसी सेटिङ्स’मा भएको सुधारसँग उनले सम्झौता गरेकी छिन्। उनले अर्काे उपाय पनि निकालेकी छिन्। ‘आमाले ट्याग गर्नुभएको फोटो मेरा साथीहरूले नदेखुन् भनेर आफ्नै सेटिङ्स परिवर्तन गरेकी छु।’  सन्तानको फोटो शेयर गर्नु धेरै आमाबाबुको ‘प्रेम अभिव्यक्त गर्ने’ तरिका भएको उनी मान्दछिन्। ‘सँगै नबस्ने सन्तानको सम्झना कति आउँछ भनेर देखाउने एउटा तरिका हो। त्यसैले पनि आमालाई नरोक्ने निर्णय गरें।’
-बीबीसीबाट

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, चैत २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्