Kathmandu Press

गगन र विश्वप्रकाशको प्रश्न- जनताको सरकार हो कि विद्या भण्डारीको?

काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तत्का

गगन र विश्वप्रकाशको प्रश्न- जनताको सरकार हो कि विद्या भण्डारीको?

काठमाडौं, बैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तत्कालीन राजाले जस्तै ‘मेरो सरकार’ भन्ने भाषा प्रयोग गरेकोमा कांग्रेसका दुई युवा नेताले असहमति जनाउँदै कटाक्ष गरेका छन्।

काग्रेस युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक संजालमा जनताको सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर सम्वोधन गरेकोमा असहमति जनाएका हुन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजाले जस्तै ‘मेरो सरकारले गर्नेछ’ भन्ने शव्द प्रयोग गरेकी छन् । 

गगन थापाले फेसबुकमा टिप्पणी गर्दै लेखेका छन, ‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँने होला ? 

त्यस्तैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कटाक्ष गर्दै ट्वीटरमा लेखेका छन– ‘सम्माननीय मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला (श्री ५ को) सरकार थियोे, राजाले मेरो सरकार भनेर सम्बोधन गर्थे ,आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ?’ 

पञ्चायतकालमा राष्ट्रिय पञ्चायत बैठकमा र त्यसैलाई ‘क्यारी’ गर्दै बहुदलीय व्यवस्थामा पनि संसद्को संयुक्त बैठकमा राजाले सरकारको नीति–कार्यक्रम वाचन गर्दा ‘मेरो सरकार’ भनी सम्बोधन गर्थे। 

०६३ सालको राजनीतिक परिवर्तनपछि राजतन्त्र समाप्त भयो । ०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरिएपछि पहिलो राष्ट्रपति रामवरण यादवले ‘मेरो सरकार’ नभनी ‘सरकार’ वा ‘नेपाल सरकार’ भन्ने शब्द प्रयोग गर्थे । राष्ट्रपति भण्डारीको सम्बोधनमा भने राजाकै झल्को आएको छ।

राष्ट्रपतिले संसद्मा गरेको सम्बोधनमा सभामुख र अध्यक्षलाई पनि ‘सम्माननीय’ भनिनन् । उनले ‘माननीय सभामुख’, ‘माननीय अध्यक्ष’ र ‘माननीय सदस्यहरू’ भनेर सम्बोधन सुरु गरेकी थिइन् । राष्ट्रपतिले प्रयोग भएको शव्द प्रति समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, वैशाख २०, २०७६