Kathmandu Press

चीनका ४ सामुद्रिक र ३ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने

काठमाडौं, वैशाख १६ : नेपाल र चीनबीच सोमबार पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ ।

चीनका ४ सामुद्रिक र ३ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने
रासस

काठमाडौं, वैशाख १६ : नेपाल र चीनबीच सोमबार पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी ली छियाङपेङले प्रोटोकलमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षरसँगै नेपालका लागि भारत मात्रैको समुद्रसम्म पुग्ने बाध्यताको अन्त्य हुने भएको छ । 

गत भदौमा काठमाडौंमा भएको नेपाल र चीनबीचको तेस्रो परामर्श बैठकमा सम्झौताको प्रोटोकलमा सहमति भएको थियो । सो सहमतिको प्रोटोकलमा नेपालले चीनका ४ सामुद्रिक र ३ सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । 

चीनका तियान्जेन, लियान्युन्झ्याङ, झाइजिङ र सेन्जेनस्थित समुद्री बन्दरगाह नेपालले प्रयोग गर्न पाउने भएको छ । तत्काललाई ल्हासा, लान्झाउ र सिगात्सेस्थित सुख्खा बन्दरगाह प्रयोग गर्न सकिने पनि सहमतिमा उल्लेख छ। 

सहमतिअनुसार चिनियाँ समुद्री बन्दरगाहबाट आएका सामान लिन नेपाली कन्टेनर सिगात्सेसम्म जान सक्नेछन् । अहिले नेपाली कन्टेनर केरूङसम्म मात्र जान पाउँछन् ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएर चीन भ्रमणमा गएका बेला सन् २०१६ मा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो । 
 

प्रकाशित मिति: २१:३५ बजे, सोमबार, वैशाख १६, २०७६