Kathmandu Press

बदलिएको बारपाक (आठ तस्बीर)

काठमाडौं, वैशाख १२ : आजकै दिन अर्थात १२ वैशाख, २०७२ को विनासकारी भुइँचालोको केन्द्र बिन्दु थियो, बार

बदलिएको बारपाक  (आठ तस्बीर)
राष्ट्रिय पुनर्निमाण प्राधिकरण।

काठमाडौं, वैशाख १२ : आजकै दिन अर्थात १२ वैशाख, २०७२ को विनासकारी भुइँचालोको केन्द्र बिन्दु थियो, बारपाक । ७.६ रेक्टर स्केलको भुइँचालोले यसरी हल्लायो, बार्पाकका एक हजार तीन सयभन्दा बढी घरमध्ये दुई–चारबाहेक सबै ढले, ७२ जनाले ज्यान गुमाए।

बारपाक मात्र होइन, त्यस भुइँचालोको प्रभाव देशभरी नै रह्यो। मध्य नेपालका पहाडी जिल्लाका त आठ हजार नौ सय ७० व्यक्तिले ज्यान गुमाए भने २२ हजारभन्दा बढी घाइते भए। भ्mण्डै आठ लाख निजी घर ध्वस्त भए भने सयौंको संख्यामा सरकारी भवन, स्कूल, स्वास्थ्य संरचना र सयौं सांस्कृतिक धरोहर धरासायी भए। ठुलो क्षति त भयो नै, नेपालको आर्थिक स्थितिमा पनि नराम्रोसंग प्रभाव पार्‍यो।

भूचालोले ध्वस्त हुनु अघिको बार्पाक।

अहिले चार वर्षपछि भुइँचालोको केन्द्रबिन्दु बार्पाक ब्युंतिएको छ। सरकारले पुनर्निर्माण र पुनःस्थापनाका लागि प्राधिकरण गठन गर्नु अगाडि नै बार्पाकका बासिन्दाले आ–आफ्ना घर बनाउन थालेका थिए। अहिले बार्पाकले नयाँ रुप पाएको छ।

एक हजार नौ सय मीटर उचाईमा अवस्थित ढुंगाको गारो र कालो स्लेटको छानो राखेर बनाइएका घरहरु, एउटा उच्च थुम्कोमा झुरुप्प रहेको बार्पाकको पहिचान भिन्न थियो पहिले। अहिले भने पहिचान फेरिएको छ।

पुनर्निर्माण गरिएको बार्पाक।

भुइँचालो लगत्तै परम्परा जोगाएर गाउँलाई पुरानै स्वरूपमा फर्काउने कि आधुनिक र बलियो घर बनाउने भन्ने बहस नभएको होइन। तर, अधिकांसले बलियो घरमै जोड दिएपछि बार्पाकको स्वरुप बदलिएको हो। पहिले ‘ब्ल्याक भिलेज’ भनेर चिनिएको बार्पाक अहिले निलो छाना छाएको घरहरुले रंगीचंगी देखिएको छ।

बार्पाक सुलिकोट गाउँपालिका–१ का अध्यक्ष रोशनकुमार बिकका अनुसार बार्पाकका झण्डै ८८ प्रतिशत घरहरु बनिसकेका छन् भने अरु घरहरु बन्ने क्रममा छन्। कतिपयले भने रकम जोहो गर्न नसकेका कारण अझै पनि घर बनाउन सुरु गर्न सकेका छैनन्। उनीहरू सहयोगको प्रतिक्षामा छन्।

बेलायतको गोर्खा सेनामा रहेर बहादुरीको उच्च सम्मान भिक्टोरिया क्रस पाउने गजे घलेको गाउँको रुपमा पनि चिनिन्छ बार्पाक। यहाँका अधिकांश बासिन्दा आर्थिक रुपले सबल रहेका कारण पनि घरहरु पुनर्निर्माण गर्न त्यति अप्ठेरो नभएको स्थानीय बासिन्दा बताउँछन्। सरकारले दिएको तीन लाख अनुदानभन्दा धेरै नै खर्च गरेर अहिले यहाँका घरहरु ठडिएका छन्।

पहिले पनि बार्पाक पुगेका र फोटाहरुमा बार्पाकको पुरानो रुप देखेका व्यक्तिहरू पुरानै स्वरूपले पर्यटक आकर्षित गर्ने बताउने गरेका छन्। यहाँ अहिले पनि हजारौं पर्यटक पुग्ने गरेका छन्।

मनास्लु हिमालतिर ट्रेकमा जाने पर्यटकको बाटो हो बार्पाक। तर, भुईचालोपछि गाउँमा दुई चार कंक्रिट घरहरु मात्र ठडिएको देखेका स्थानीय बासिन्दा भने सुरक्षित घर बन्नुपर्छ भन्ने सोच मै देखिए।

‘पहिले सबैको समान किसिमका घरहरु थिए, धनी गरिब छुट्याउन गाह्रो हुन्थ्यो,’ बार्पाक सुलिकोट गाउँपालिका–२ का अध्यक्ष लालबहादुर गुरुङ भन्छन, ‘अहिले हुनेले दशौं लाख सकाएर घर बनाएका छन्, नहुनेको हालत त उस्तै छ।’

अहिले पुनर्निमाण गरिएको बार्पाक।

तैपनि धेरैको भनाइ भने सुरक्षित रहने भन्ने नै छ। बार्पाकले पुरानो पहिचान त गुमाएको छ, तर अहिले बलियो घरहरु ठडिएका छन्।  

कतिपय  स्थानीय बासिन्दामा पहिलेजस्तै पर्यटक नआउने हो कि भन्ने चिन्तामा छन्। तर, बार्पाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको भिन्दै तर्क छ। उनी भन्छन्, ‘अहिलेको मुख्य कुरा भनेको सुरक्षित आवास नै हो।’

उनका अनुसार, पर्यटक त फेरी पनि आउने नै छन् तर फरक कारणले– पहिले परम्परागत घलेहरुको गाउँ हेर्न भनेर आउथे भने अहिले २०७२ को विनासकारी भुइँचालोको केन्द्रबिन्दुको रुपमा।

	पुनर्निर्माण गरिएको बार्पाक। तस्बीरहरू सौजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।

प्रकाशित मिति: ११:०७ बजे, बिहीबार, वैशाख १२, २०७६