Kathmandu Press

लुक्लामा जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्कियो, तीनको मृत्यु, विमानस्थल बन्द

काठमाडौं, वैशाख १ : समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि लुक्ला

लुक्लामा जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्कियो, तीनको मृत्यु, विमानस्थल बन्द
काठमाडौं प्रेस

काठमाडौं, वैशाख १ : समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि लुक्ला विमानस्थल बन्द गरिएको छ।

आज बिहान ९ः३० बजे समिट एयरको ९ एन एमएमएच जहाज मनाङ एयरको ल्यान्ड गरिराखेको हेलिकप्टरसँग ठोक्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका अनुसार, जहाज उड्ने क्रममा चिप्लिएको हो।

दुर्घटनामा जहाजका को–पाइलट एस. ढुंगानासहित दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीका अनुसार, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो।

को–पाइलट ढुंगाना र प्रहरी सहायक निरीक्षक खड्काको घटनास्थलमै र अर्का प्रहरी सहायक निरीक्षक श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा क्याप्टेन रवीन्द्र रोकायाका सहित तीन जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

दुर्घटनापछि लुक्ला विमानस्थल बन्द गरिएको छ । दिउसो २ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको लुक्ला विमानस्थलले जनाएको छ।

हिमाल आरोहणको याम भएकाले लुक्ला विमानस्थलमा यात्रुको चाप छ । विशेष गरेर पर्यटकहरूले भरिभराउ भएको छ।

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, वैशाख १, २०७६