२०७५ सालका चार मृत्युले जन्माएकाे प्रश्न – के याे नेपालीकाे चरित्र हाे?
काठमाडौं , चैत ३० : नेपालीहरू बहादुर, शान्तिप्रेमी र मानवीय धर्म नभुल्ने जाति भएकामा गर्व
काठमाडौं , चैत ३० : नेपालीहरू बहादुर, शान्तिप्रेमी र मानवीय धर्म नभुल्ने जाति भएकामा गर्व गर्छन्। तर, आजदेखि विदा हुन लागेको विक्रम सम्वत् २०७५ सालमा यस्ता चार घटना भए, जसले केही नेपालीहरू कायर, हिंस्रक र अमानवीय पनि हुँदा रहेछन् भन्ने प्रमाणित गरे।
यी घटनाले धेरै नेपालीलाई सोच्न बाध्य पारे – हामी कसरी यति कायर, हिंस्रक र अमानवीय बन्न सक्छौँ?
वि.स. २०७५ का ४ मृत्यु जसले नेपालीलाई सोच्न बाध्य पारे – के यो हाम्रो चरित्र हो?
घटना १
आपराधिक पनि, अमानवीय पनि
विक्रम सम्वत् २०७५ चैत १३ गते चावहिलमा बा. १ ज ३८५१ नम्बरको ट्याक्सी रोकियो। चालक कमलबहादुर श्रेष्ठ गाडीबाट ओर्लिए। पछाडि सिटको ढोका खोले। त्यहाँबाट एक यात्रीलाई घिसार्दै बाहिर निकाले। र, उनलाई त्यहीँ छाडेर भागे।
ती यात्री थिए, ६० वर्षीय गोपाल कारञ्जित। उनी अस्पतालबाट घर फर्किदै थिए। ट्याक्सीभित्रै उनलाई हृदयघात भयो। उनी फत्र्याक–फत्र्याक गर्न थाले। चालक श्रेष्ठले उनलाई नजिकै रहेको अस्पताल लैजानुको सट्टा सडकमा त्यसै फ्याँके। प्रहरी र अन्य बटुवाले उनलाई अस्पताल त लगे। तर, ढिलो भइसकेको थियो। कारञ्जित बाँचेनन्।
त्यो घटना ट्राफिक प्रहरीको सीसीटीभीमा कैद भयो। सीसीटीभी फुटेजको आधारमा ट्याक्सी नम्बर पहिचान गरियो। चालक श्रेष्ठ समातिए। उनी अहिले प्रहरी हिरासतमै छन्।
नेपालीहरू अरुलाई गाह्रोसाह्रो पर्दा सहयोगका लागि अघि सर्छन्। तर, ट्याक्सी चालक कमल बहादुर श्रेष्ठले मुटु रोगी गोपाल कारञ्जितलाई सडकमै मर्न छाडेर हिँडे। त्यो सीसीटीभी फुटेज हेरेपछि धेरै नेपालीको मनमा एउटै प्रश्न उब्जियो – हामी कसरी यति अमानवीय बन्न सक्छौँ?
घटना २
श्रीमती पिट्ने कायर
वीरगञ्जका चर्चित मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सच्चितानन्द यादव अहिले प्रहरी हिरासतमा छन्। उनलाई आफ्नै श्रीमती सुनिता यादवको हत्या गरेको आरोप छ। सुनिताको माइती पक्षका अनुसार, डा. यादवले उनलाई शरीरभरि तातो आइरनले डामेका थिए। सुनिताको चैत १५ गते उपचार हुँदाहुँदै मृत्यु भयो।

सुनिताका माइती पक्षका अनुसार, डा. यादवले यसअघि पनि उनलाई पर्याप्त दाइजो नल्याएको भन्दै कुटपिट गरेका थिए। सुनिताले प्रहरीमा श्रीमानविरुद्ध उजुरी पनि दिएकी थिइन्। तर, डा. यादवले आइन्दा श्रीमतीमाथि हातपात नगर्ने भन्दै मिलापत्र गरे। अलि पछि उनले आफ्नी श्रीमतीले बच्चा पाउन नसकेको भन्दै दोस्रो बिहे गरे। त्यसपछि सुनिताले झन् धेरै यातना पाउन थाले। अन्ततः उनको मृत्यु नै भयो।
सुनिताको मुत्युले धेरैको मनमा उब्जाएको प्रश्न हो – नेपाली पुरुषहरू किन अझै श्रीमतीलाई कुटेर बहादुरी देखाउँछन्?
घटना ३
फेरि हिंसाको सामान्यीकरण
माओवादी युद्धको क्रममा धेरै नृशंस हत्याहरू भए। शान्तिप्रेमी नेपालीहरू कसरी यति हिंस्रक भए भन्ने प्रश्नले धेरैलाई रिङ्ग्यायो। अझै रिङ्ग्याइरहेकै छ। शान्ति–प्रक्रिया सुरु भएपछि नेपालीहरू विगतको घाउ बिर्सन प्रयत्नमा छन्। र, अब नेपाली समाजमा हिंसा वर्जित छ भन्ने मान्यता स्थापित हुने क्रममा छ।
तर, माओवादीकै एउटा भङ्गालोको नेतृत्व गरिरहेका विप्लवले फेरि हत्याहिंसाको बाटो समातेका छन्। विप्लव समूहले गत फागुन ११ गते ललितपुरको नक्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउँदा सिंहबहादुर गुरुङको मृत्यु भयो। त्यो घटनापछि बीबीसी नेपाली सेवालाई अन्वर्तार्ता दिने क्रममा विप्लव समूहका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीले ‘क्रान्तिका दौरानमा यस्ता सानातिना घटना’ हुने बताए।
नक्खु विष्फोट र हेमन्त प्रकाश ओलीको अन्तर्वार्तापछि उब्जिएको प्रश्न हो – एक निर्दोष व्यक्तिको हत्यालाई सानातिना घटना भन्नु नेपाली जातिको चरित्र हो र?
घटना ४
निर्मलालाई अन्याय
२०७५ सालभरि सर्वाधिक चर्चामा रहेको घटना हो – निर्मला पन्तको बलात्कार र हत्या। कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक विद्यालयमा कक्षा ९ मा पढ्ने १४ वर्षीया निर्मलाको सामुहिक बलात्कारपछि हत्या गरिएको थियो। उनको शव गत असार ३२ गते उखुबारीमा भेटिएको थियो। निर्मलाको बलात्कार र हत्या कसले गर्यो भन्ने स्पष्ट भइसकेको छैन। प्रहरीले धेरैलाई समातेको छ, तर प्रमाणको अभावमा छाड्नु परेको छ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणले सारा नेपालीलाई लज्जित बनाएको छ र एउटा प्रश्न पैदा गरेको छ – एक नाबालिकामाथि यस्तो निर्मम हर्कत गर्न कसरी सकिन्छ?






