बारा-पर्साका हावाहुरी प्रभावितलाई खानबस्नै समस्या
वीरगञ्ज, चैत १९ : वाहाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाका बासिन्दालाई खान बस्नै समस्या भएको छ।
वीरगञ्ज, चैत १९ : वाहाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाका बासिन्दालाई खान बस्नै समस्या भएको छ।
फेटाका अधिकासं घर भत्किएका छन् । उनीहरूको अन्नपात नष्ट भएको छ । आइतबार पहिलो रात खुला आकाशमै भोकभोकै विताएका पीडितहरूले सोमबार पनि भोकै बस्नु परेको बताए।
पीडितहरूले सोमबार राहत पाउन नसकेको बताएका छन् । सरकारले चार सय त्रिपाल पठाएको भएपनि तत्काल वितरण हुन नसकेको र अपूग भएको जनाएको छ । बारा र पर्सामा पाँच हजार त्रिपाल आवश्यक भएको प्रदेश २ सरकारले जनाएको छ।
त्यस्तै, राहत सामग्री पनि पुगेको छैन् । फेटा बजार क्षेत्रका बासिन्दाले राहत सामग्री पाएको भएपनि गाउँतिर नपुगेको गुनासो गरेका छन्।
उनीहरूले सोमबार रात पनि खुला आकशमै भोकभोकै विताएको दुःखेसो गरे । ‘मान्छे आए गए, कसैले केही छोडेर गएनन् । भोकै बस्नु पर्यो,’ फेटा–१ राममायाले भनिन् ।
सरकारले हावाहुरीपीडितको उपचार गर्ने निर्णय गरेको छ । तत्काल प्रभावित क्षेत्रमा आवश्यक राहत वितरण गर्न गृहमन्त्रालयलाई समन्वयको जिम्मा दिएको छ । तर, मंगलबार बिहानसम्म पनि पीडितहरू राहतकै पर्खाइमा छन्।
आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ । ६ सय भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको काठमाडौं, वीरगञ्ज, बुटबललगायतका अस्पतालमा उपचार भइरहेको छ।






