ट्याक्सीमा हृदयाघात भएपछि यसरी बाटैमा फालेर हिँडे ट्याक्सी चालक (भिडियोसहित)
काठमाडौं, चैत १५ : ट्याक्सीमा हृदयाघात भएका बिरामीलाई अस्पताल लैजानुको साटो एक ट्याक्सीचालकले बाटाेम
काठमाडौं, चैत १५ : ट्याक्सीमा हृदयाघात भएका बिरामीलाई अस्पताल लैजानुको साटो एक ट्याक्सीचालकले बाटाेमै फालेका छन् । बाटाेमा फालिएका यात्रुकाे मृत्यु भएकाे छ । ट्याक्सीबाट निकालेर बाटैमा छाडी भाग्ने ट्याक्सी चालकलाई महानगरीय प्रहरी प्रभाग, गौशालाले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
ट्याक्सीचालक कमलबहादुर श्रेष्ठले चैत १३ गते बिहान करिब साढे ११ बजेतिर अस्पतालमा उपचार गराएर घर फर्कदै गरेका गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जितलाई ट्याक्सीमै हृदयाघात भएपछि चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल अगाडि सडक किनारमै झारेर भागेका थिए।
प्रहरी प्रभाग, गौशालाका प्रहरी नायव उपरीक्षक सुनील मल्लका अनुसार, त्यस दिन गोपाल कारञ्जित नियमित स्वास्थ्य परीक्षणका लागि घरबाट ट्याक्सीमा अस्पताल आएका थिए । पितालाई ट्याक्सीमा पठाएपछि गोपालका छोरा प्रवीण चाहिँ मोटरसाइकलमा अस्पताल आएका थिए । मेडिकेयर अस्पतालमा करिब सवा घण्टाको स्वास्थ्य परीक्षणपछि बाबुछोरा घर फर्कंदै थिए।
डीएसपी मल्लले दिएको जानकारीअनुसार, फर्किँदा पनि पितालाई बा १ ज ३८५१ नम्बरको ट्याक्सी चढाए । पिता ट्याक्सीको अगाडिको सीटमा बसे, प्रवीण चाहिँ मोटरसाइकलमै फर्के । गोपालले ट्याक्सी ड्राइभर दोलखा जिल्ला मेलुङ स्थायी घर भएका कपन बस्ने ५० वर्षीय कमलबहादुर श्रेष्ठलाई भने, ‘गोपीकृष्ण हलपछाडितिरबाट लैजाऊ ।’
ट्याक्सी ड्राइभर कमलले प्रहरीलाई दिएको बयान अनुसार, ट्याक्सी चढेर हिँडेका मात्र थिए, गोपाल सीटमै उफ्रन थाले । ट्याक्सी ड्राइभर डराए । उनले हेल्पिङ ह्याण्ड्स अस्पताल अगाडिको खाली ठाउँमा लगेर उनलाई तानेर ट्याक्सीबाट झारे । अनि हिँडे । स्थानीय र प्रहरी भएर गोपाललाई मेडिकेयर अस्पताल पुर्याएर तर उनको मृत्यु भयो।
कमललाई यो चाहिँ थाहा भएन, आफूले बिरामीलाई घिसारेर झारी छाडेर हिँडेको भिडियो सीसी क्यामराले खिचेको छ । प्रहरीले त्यही फुटेजका आधारमा ट्याक्सी खोज्ने प्रयास गर्यो।
डीएसपी मल्लले भने, ‘सुरुआतमा ट्याक्सी नम्बर पत्ता लागेन । त्यसपछि त्यसबारे जानकारी राख्ने प्रहरी हवल्दार वीपेन्द्रको सहयोगले बल्ल ट्याक्सी पत्ता लाग्यो । ट्याक्सी नम्बर बा१ख ३८५१ का चालक कमललाई पक्राउ गर्यौंँ।’
अहिले कमललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको पनि डीएसपी मल्लले जानकारी दिए । उनले भने, ‘हृदयाघात भएको भए ट्याक्सीवालाले अस्पताल लानु पर्थ्याे, बाटोमा छाड्न मिल्दैनथ्यो । उसैको कारण बिरामीको मृत्यु भयो । ट्राफिक महाशाखाले म्याद थपेर ट्याक्सी चालकमाथि थप अनुसन्धान गरिरहेको छ । हामी सार्वजनिक अपराधअनुसार उनीमाथि कारवाही चलाउछौँ।’






