Kathmandu Press

राष्ट्रियताको सवालमा जनमतसंग्रह कुनै पनि देशले गर्न सक्दैन: प्रधानमन्त्री

काठमाडौं, चैत १०: प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउन जनमतसंग्रह ग

राष्ट्रियताको सवालमा जनमतसंग्रह कुनै पनि देशले गर्न सक्दैन: प्रधानमन्त्री

काठमाडौं, चैत १०: प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउन जनमतसंग्रह गर्ने सम्झौता नगरेको प्रष्ट पारेका छन्। प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले भने,‘राष्ट्रियताको सवालमा जनमतसंग्रहको कुनै पनि देशले गर्न सक्दैन।’

सिके राउत नेतृत्वको तत्कालीन ‘स्वतन्त्र मधेश गठबन्धन’ले विखण्डनवादी विचार त्यागेसँगै नेपालमा विखण्डनकारी संगठन नरहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘देशमा रहेको पृथकतावादी विचार, विखण्डनवादी विचार र उसका गतिविधि अन्त्य भएको छ। अब देशमा विखण्डनवादी संगठन छैन।’

विगतमा आफ्नै गान, झण्डा बनाएर हिँड्ने संगठनले राष्ट्रियगानबाट कार्यक्रम सुरु गरेको बताउँदै भने, ‘खुशी मनाउनुपर्ने हैन? आज सिंगो राष्ट्र विखण्डनको पक्षमा छैन, एकताको पक्षमा छ।’ राउतसँगको ११ बुँदे सहमतिमा कहीँ पनि जनमतसंग्रह नभनेको पनि प्रधानमन्त्रीले प्रष्ट पारे।

‘जनमत संग्रह लोकतान्त्रिक कुरा हो । जनताको अधिकारको कुरा हो यो त्याज्य हैन’, उनले भने, ‘तर केका लागि? राष्ट्रियताको सवालमा कुनै पनि देशले जनतमतसंग्रह गर्न सक्दैन, राष्ट्रियताबारे किमार्थ संवभ छैन । त्यो सहमतिमा भनिएको पनि छैन।’ सहमतिमा जनताको अभिमत अनुसार चल्ने भनेको उल्लेख गर्दै उनले व्याख्य गरे, ‘अहिलेको संरचना जनमतको सिर्जना हो। यो संविधान जनमतको आकांक्षा अभिव्यक्ति हो।  देशभरिका ७६१ वटा सरकार जनमतका अभिव्यक्ति हुन्। जनमत भनेको संविधानसभा थियो, त्यसले गबनाएको संविधान हो। यो संसद्ले बनाएका कानून हुन्। अहिलेको प्रणाली हो–त्यही हो जनमत।’

सिके राउतले पृथकतावादी बाटो त्यागेकोमा खुशी हुनुपर्ने ठाउँमा केही मान्छे राष्ट्रघात भन्दै कराएको बताउँदै प्रधानमन्त्रीले भने, ‘राष्ट्रघातको सम्भावना समाप्त भो। विखण्डनवादी समूह मूलधारको राष्ट्रिय राजनीतिमा आयो। यो ठूलो उपलब्धि हो।’ विरोध गर्नेहरूलाई दीपावलि गर्न आग्रह गर्दै उनले भने, ‘अस्ति भ्याइएन भने आज बेलुका भए पनि दीपावली मनाऊँ।’
 

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत १०, २०७५