पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको चेतावनी<br>‘राजतन्त्र भनेर फटक–फटक नगर्नुस्’
काठमाडौं, चैत १०ः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले रगत बगाएर ल्याएको गणतन्त्रविरुद्ध कुनै
काठमाडौं, चैत १०ः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले रगत बगाएर ल्याएको गणतन्त्रविरुद्ध कुनै पनि क्रियाकलाप नगर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पूर्वराजाको नाम नलिई यस्तो धम्की दिएका हुन्। प्रधानमन्त्री ओलीले भने,‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाएको हैन। चित कि पट खेल्दा पाएको हैन। गाई कि त्रिशुल खेलेर पाएको हैन। यसको रक्षा नेपालीले गर्छ। म राजतन्त्र भनेर फटक–फटक नगर्न जनताको तर्फबाटट सचेत गर्न चाहन्छु।’
राजावादीतर्फ संकेत गर्दै उनले भने,‘कोही मित्रहरू फालिएको राजतन्त्रका लागि जनमतसंग्रह भन्दै छन्। केही मित्रहरू जोगीले जस्तो फेरी लगाएर हिँडेका छन्। २५० वर्षभन्दा पहिले गोर्खाका घलेले दौड जितेर मात्र राजा हुन पाइन्छ भन्ने बुझे तर अहिले विश्वविद्यालय पढेकाहरू रैतान हुन पाऊँ भनेर हिँडेका छन्। अब प्रतिगमनको कुनै सम्भावना छैन। नेपाली जनता यो सुन्न पनि तयार छैन।’
पूर्वराजा र राजावादीतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्छु भन्दा अधिनायकवाद आरोप लाग्न सक्छ। विकास र समृद्धि हुन नदिन कोही पनि हिँडेमा सम्पूर्ण तागतका साथ रक्षा गर्छौं।’






