कोइराला परिवारका भाञ्जा कम्युनिष्ट नेता
काठमाडौं, फागुन १८ : कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता थिए भरतमोहन अधिकारी । प्रथम कम्युनिष्ट
काठमाडौं, फागुन १८ : कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता थिए भरतमोहन अधिकारी । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका कान्छा भाइ हुन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारका चर्चित अर्थमन्त्री थिए । एक पटक उपप्रधानमन्त्री र तीन पटक अर्थमन्त्री भएका अधिकारीको पहिचान नै बन्यो अर्थमन्त्री ।
पिताजी कृष्णप्रसाद कोइरालाका भानिजका छोरा हुन् भरतमोहन । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले पिताजी कृष्णप्रसाद कोइरालाले खोलेको विराटनगरको आर्दश माविबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए । भारतको इलाहावादबाट इन्टरमिडियट गरे । उनले बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बीएल गरेका थिए ।
१९९३ साल बैसाख २२ मा महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका अधिकारी छ दशकलामो सक्रिय राजनीतिक जीवनमा उनी उपप्रधानमन्त्रीसहित चार पटक मन्त्री भएका थिए । २०५१ सालमा बनेको एमालेको नौ महिने अल्पमत सरकारमा उनी अर्थमन्त्री थिए । मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ‘हाइहाइ’ बनाउने बजेट पेश गर्ने अर्थमन्त्री उनै भरतमोहन थिए । ‘आफ्नो गाउँ आफैं बनाऊँ’, ‘नौ स’, जेष्ठ नागरिकलाई वृद्धभत्ता, सुत्केरीभत्ता, ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ लगायत कार्यक्रमले यो सरकारको लोकप्रियता ह्वात्तै बढेको थियो । कम्युनिष्टहरुले बुढापाकालाई मार्छन् भन्ने त्यसअघिको भ्रम चिरेको थियो ।
सन् १९५२ मा १६ वर्षको हुँदा भारतको बनारसमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी २००८ मा गठन भएको आदर्श विद्यालयको छात्र संघका अध्यक्ष पनि भएका थिए । उनले लामो समय वकालतमा पनि बिताए ।
२०१९ सालमा कम्युनिष्ट पार्टीमा विभाजन आएपछि उनी पुष्पलाल समूहमा लागे । २०४६ सालको आन्दोलनका बेला मनमोहन अधिकारी, सहाना प्रधान रहेको नेकपा माक्र्सवादीका नेता थिए भरतमोहन । ०४६ सालको आन्दोलनको सफलतापछि ०४७ सालमा गठन भएको संविधान सुझाव आयोगमा उनी सदस्य भए । मदन भण्डारी नेतृत्वको माले र मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीबीच एकीकरण भएपछि बनेको एमालेका स्थायी समिति सदस्य भए ।
भरतमोहन २०४८, ०५१ र ०५६ मा मोरङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । बिराटनगरको मोरङ क्याम्पसमा उनले अध्यापन गराएका थिए ।
वि.सं. २०१५ मा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका पनि निभाएका थिए । २०१७ सालको राजा महेन्द्रको ‘कु’ पछि उनले सोभियतसंघमा अध्ययन गर्न पाएको पिएचडीको छात्रवृत्ति त्यागेर राजनीतिमा लागेका थिए ।
०४९ सालको नेकपा एमालेको पाँचौँ महाधिवेशनबाट पनि स्थायी कमिटी सदस्य चुनिएका उनी छैठौँ, सातौँ र आठौँ महाधिवेशनबाट लगातार स्थायी समितिमा चुनिए । २०७१ एमालेका महाधिवेशनले सक्रिय राजनीतिका लागि ७० वर्ष उमेर हद तोकेपछि उनले २०७१ असार २५ गते महाधिवेशन हलबाटै अवकाशको घोषणा गरेका थिए । तथापि, उनी ०७४ सालसम्म संविधानसभा (दोस्रो) सदस्यका रूपमा काम गरे । ०४७ को संविधान सुझाव आयोगमा काम गरेका उनले ०७२ सालको संविधान मस्यौदा समितिमा पनि काम गरेका थिए ।
२०६१ सालमा राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिँदा उनी उपप्रधानमन्त्रीकै अवस्थामा पक्राउ परेर तीन महिना घरमै नजरबन्द बसेका थिए ।
अधिकारीका पत्नी ओमकुमारी र तीन जना छोरी छन् । अधिकारीका अर्थराजनीतिका चार पुस्तक पनि प्रकाशित छन् ।






