प्रदेशले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयमा पनि लागू हुने
काठमाडौं, चैत २८ : प्रदेश सरकारले दिएको सार्वजनिक बिदा संघीय सरकार अन्तर्गतका कार्यालयमा लागू हुने भएको छ।
हालै बसेको मन्त्रिपरिषदको ब....
काठमाडौं, चैत २८ : प्रदेश सरकारले दिएको सार्वजनिक बिदा संघीय सरकार अन्तर्गतका कार्यालयमा लागू हुने भएको छ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदामा संघीय सरकारअन्तर्गतका कार्यालयमा समेत बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। तर, प्रदेश सरकारले दिएको बिदा काठमाडौं उपत्यकाको हकमा भने लागू हुने छैन। काठमाडौं उपत्यकाको बिदा गृह मन्त्रालयले गर्ने निर्णय हुने मन्त्री बाँस्कोटाले बताए।
बैठकले सागरनाथ वन विकास परियोजना तथा रतुवामाई वृक्षारोपण आयोजनालाई संघीय सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयमातहत राख्ने गरेको पनि उनले बताए।
बैठकले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिएको छ। साथै उद्यान विकास तथा व्यवस्थापन कार्यविधि, २०७५ स्वीकृत गर्ने बैठकले निर्णय गरेको उनले बताए। बैठकले सडक सुुरक्षासम्बन्धी विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत पनि दिएको छ।
मन्त्री बाँस्कोटाले निषेधित क्षेत्रसम्बन्धी संशोधन सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताए। उनले स्वास्थ्य चौकीमा रहने कूल सात हजार ६१९ अनमी पदको दरबन्दीका सम्बन्धमा संशोधन गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकले निजी क्षेत्रको नेतृत्वमा मिनी ग्रिड ऊर्जा पहुँच परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ऋण सहायता दुई मिलियन अमेरिकी डलर र अनुदान सहायता ५.६१ मिलियन डलर गरी जम्मा ७.६१ मिलयन डलर बराबरको रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ।






