Kathmandu Press

मन्त्री अधिकारीसहित सातैजनाकाे शव टुँडिखेलमा, श्रद्धाञ्जलि अर्पण गरिँदै

काठमाडौं, फागुन १७ : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकार

मन्त्री अधिकारीसहित सातैजनाकाे शव टुँडिखेलमा, श्रद्धाञ्जलि अर्पण गरिँदै
रिवाज राई

काठमाडौं, फागुन १७ : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

सातैजनाको शव श्रद्धाञ्जलिका लागि टुडिखेलमा राखिएको हो । राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाएका थिए । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यस्तै, नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन् ।

दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा पुगेको थियो । पाथीभराबाट काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा सातै जनाको मृत्यु भएको हो । उनीहरूको शव बिहीबार अपराह्न ताप्लेजुङबाट काठमाडौं ल्याइएको थियो ।

आज सातैजनाको शव श्रद्धाञ्जलिका लागि टुडिखेलमा राखिएको हो । आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, फागुन १७, २०७५