मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं पठाइँदै
सुकेटार, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श
सुकेटार, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं पठाउने तयारी गरिएको छ ।
बुधबार पाथीभराबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटनाहुँदा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको छ । चार जनाको शव बुधबार साँझ नै ल्याइएको थियो भने तीन जनाको शव बिहीबार बिहान ल्याइएको हो ।
मौसम खराबीका कारण शव ल्याउन ढिलाइ भएको थियो । सो क्षेत्रमा वर्षा र हिमपात भएको जनाएको छ ।
सुकेटार विमानस्थल ल्याइएका सातै जनाको शव मुचुल्का गरिएको छ । हेलिकप्टरमा काठमाडौं पठाउँन आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला सुरक्षा समितिको बैठक विमानस्थलमै बसेको छ । बैठकले दुर्घटनामा मृत्यु भएका सातै जनाको शवको पोस्टमार्टम ताप्लेजुङमा नगर्ने निर्णय गरेको छ । ताप्लेजुङमा पोस्टमार्ट गर्न नसकिने ठहर गर्दै काठमाडों पठाउँने निर्णय गरेको हो ।
आजै शव काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
ताप्लेजुङमा हिमपात र वर्षा भइरहेको छ । सुकेटरा विमानस्थल क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । मौसममा सुधार आउने वितिक्कै सबै शव काठमाडौं पठाइने प्रजिअ भण्डारीले बताए ।






