मन्त्री अधिकारीको निधनमा आज सार्वजनिक विदा
काठमाडौं, फागुन १५ : सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने नेपालको झण्डा आधा झुकाइने भएको छ । त्यस्तै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद बैठकले अकल्पनीय, अप्रत्यासित र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको भन्दै यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना पनि गरेको छ ।







