नक्खु विष्फोटको नालीबेलीः विप्लवलाई नाफा–घाटादेखि लगानी सम्मेलनमा पर्ने असरसम्म
काठमाडौं, फागुन ११ : ललितपुरको नक्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार राति भएको बम विफोटमा परी घाइ
काठमाडौं, फागुन ११ : ललितपुरको नक्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार राति भएको बम विफोटमा परी घाइते तीनमध्ये एकको मृत्यु भएको छ । दुईको उपचार हुँदैछ ।
नक्खु विष्फोटमा विप्लव नेतृत्वको माओवादी समूहको हात रहेको आशंका गरिएको छ । तर, विप्लव समूहले अझै घटनाको जिम्मेवारी लिएको छैन । यो समूहका शीर्ष नेताहरू सम्पर्क बाहिर छन् ।
काठमाडौं प्रेसको टेलिफोन सम्पर्कमा आएका विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले नक्खु विष्फोटबारे बोल्न चाहेनन् । घटना तपाईंहरूले गराएको हो भन्ने प्रश्नमा उनले हो वा होइन केही भनेनन् । पछि कुरा गरौँ भन्दै फोन राखे ।
ललितपुर प्रहरीले आज शनिबार नक्खु विष्फोटमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । तीमध्ये केही विप्लव माओवादीका कार्यकर्ता छन् । उनीहरूको संलग्नता रहे वा नरहेको विषयमा अनुुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले काठमाडौं प्रेसलाई बताए ।
सुवेदीले आज उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको र ठाउँ–ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए । कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखा परे प्रहरीलाई तत्काल सूचित गर्न पनि उनले आग्रह गरे ।
कसले गरायो नक्खु विष्फोट ?
विप्लव माओवादीहरूले नै नक्खुमा बम विष्फोट गराएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ । यसैले, प्रहरीले शनिबार विप्लव कार्यकर्ताहरू बस्ने डेरा–घरहरूमा पनि छापा मारेको थियो ।
विप्लवको विगत र अन्य घटना हेर्दा पनि नक्खु विष्फोटमा यही समूहको हात हुनेसक्ने सम्भावना प्रबल छ । शुक्रबार राति नक्खुस्थित एनसेल मुख्यालयमा मात्रै विष्फोट भएको थिएन, देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा पनि आगजनी तथा तोडफोड भएको थियो ।

प्रहरी प्रवक्ता सुवेदीका अनुसार शुक्रबार राति करिब एकै समयमा कास्की, रोल्पा, कञ्चनपुर, काभ्रे, पूर्वी रुकुम र रुपन्देहीमा रहेका एनसेल टावरमा आगजनी भएका छन् । यसअघि, विप्लव माओवादीले एनसेलसँग ठूलो राशीको चन्दा मागेको र नदिए बमले उडाइदिने धम्की दिएको समाचार बाहिर आएको थियो ।
मलेसियास्थित एक्जिएटा कम्पनीको लगानी रहेको एनसेल केही वर्षयता नेपाल सरकारलाई पूँजीगत लाभकर नतिरेको विषयलाई लिएर विवादित छ । गत महिना सर्वोच्च अदालतले सरकारलाई एनसेलसँग पूँजीगत लाभकर असुल्न निर्देशन दिएको थियो । एनसेलको छवि ‘जनविरोधी’ बनेको निष्कर्षसहित विप्लव माओवादीले यो कम्पनीलाई केही समययता प्रमुख तारो बनाउँदै आएको छ ।
नक्खु विष्फोटबाट विप्लवलाई के फाइदा, के घाटा ?
नक्खु विष्फोटमा विप्लवकै हात रहेको हो भने उसको पार्टीलाई यो घटनाबाट के फाइदा भयो त ?
कसैको रगत नबगेको भए सायद विप्लव माओवादीलाई नक्खु विष्फोटबाट केही राजनीतिक फाइदा हुन्थ्यो । वुद्धिजीविहरूले विष्फोटको निन्दा गर्थे, तर सर्वसाधारणले कर छल्ने कम्पनीमाथि आक्रमण गरेकामा सायद विप्लवप्रति सहानुभूति राख्थे ।

तर, विष्फोटमा घाइते सिंहप्रसाद गुरुङको उपचारकै क्रममा मृत्यु भयो । अन्य दुई घाइते प्रतीक्षा खड्का र अनुषा डंगोल अहिले मेडीसिटी अस्पतालमा उपचाररत छन् । गृहमन्त्री रामबहादुर थापाले शनिबार अस्पताल पुगेर घटनाको निन्दा गरे । उनले गुरुङको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारको जिम्मा सरकारको भएको घोषणा गरे ।
नक्खु विष्फोटमा निर्दोषको रगत बगेकोले वुद्धिजीविहरू मात्र होइन, सर्वसाधारण पनि विप्लवविरुद्ध खनिएका छन् । कतिले सामाजिक सञ्जालमा यो घटनालाई आतङ्ककारी आक्रमणको संज्ञा दिएका छन् ।
नक्खु विष्फोटपछि प्रहरीलाई अब विप्लव समूहमाथि दमन गर्न झन् आधार मिलेको छ ।
लगानी सम्मेलनमा असर
विदेशी लगानी रहेको कम्पनी एनसेलमा त्यो बेला आक्रमण गरिएको छ, जब प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार आउँदो मार्चमा लगानी सम्मेलन गर्न अन्तिम तयारीमा जुटेको छ ।

ओली सरकारको कम्युनिष्ट छबि र विदेशीप्रति अनुदार व्यवहारलगायतका कारणले यसै पनि नेपालमा वैदेशिक लगानी आउने वातावरण बनेको छैन । पोहोरको तुलनामा यो साल प्रत्यक्ष वैदेशिक लगानी झन् घटेको छ । तर, विदेशी लगानी रहेको कम्पनीमै सशस्त्र विद्रोह गर्ने तयारीमा रहेको पार्टीले आक्रमण गरेपछि त्यसको प्रत्यक्ष असर लगानी सम्मेलनमा पर्नेछ ।
यही कारणले लगानी सम्मेलन रोकिँदैन, तर सम्मेलनमा भाग लिन आउने विदेशी लगानीकर्ताहरू संशयमा हुनेछन् ।
के अर्को ‘जनयुद्ध’ सुरु भएको हो ?
शुक्रबार राति जुन तरिकाले विष्फोट र आगजनीका घटनाहरू भए, ठ्याक्कै त्यही शैलीमा माओवादीले २०५२ साल फागुन १ गते ‘जनयुद्ध’ सुरु भएको घोषणा गरेको थियो ।

त्यस बेला पनि माओवादीले काठमाडौंको पेप्सीकोला, सिन्धुली, काभ्रे र रोल्पामा एकैपटक आक्रमण गरी ‘महान जनयुद्ध’ सुरु भएको घोषणा गरेका थिए । शुक्रबार राति नक्खु लगायत सात जिल्लामा एकैचोटि एनसेलमाथि आक्रमण हुँदा कतिलाई पूर्व–माओवादी अध्यक्ष प्रचण्डले केही समयअघि भने झै ‘अर्को जनयुद्ध’ सुरु भएको प्रतीत भयो ।
तर, के ‘अर्को जनयुद्ध’ सुरु भएकै हो त ?
विप्लव माओवादीहरूले विदेशी लगानी रहेको र पछिल्लो समय ‘जनविरोधी’ को रुपमा चित्रण गरेको कम्पनीमाथि आक्रमण गरी जनताको सहानुभूति बटुल्न खोजेको र आफ्नो शक्ति देखाउन खोजेकै हुनसक्छ । तर, नक्खु विष्फोट नै नयाँ ‘जनयुद्ध’को सुरुवात हो कि होइन भन्ने चाहिँ आउँदा दिनमा हुने घटनामा निर्भर गर्छ ।
किनकि, युद्ध यत्तिकै चर्किदैन । २०५२ सालमा माओवादीले युद्ध सुरु भएको घोषणा गरेपछि पनि काटमारको श्रृंखला सुरु भइसकेको थिएन । तर, प्रहरीले दमन गर्न थालेपछि चाहिँ काटमार सुरु भएको थियो । यसपटक पनि प्रहरीले हिंसात्मक दमन गरे विप्लवलाई युद्ध सुरु गर्न झन् सजिलो हुन्छ ।
आखिर विप्लव माओवादीहरूले आफू अर्को सशस्त्र संघर्षको अन्तिम तयारीमा रहेको र राज्यले दमन गरे सशक्त प्रतिरोध गर्ने चेतावनी पटक–पटक दिँदै आएका छन् ।






