Kathmandu Press

नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घूस मागेको भिडियो

काठमाडौं, फागुन ९ : भ्रष्टाचारको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राजीनामा गरेका राज

नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घूस मागेको भिडियो
काठमाडौं प्रेस

काठमाडौं, फागुन ९ : भ्रष्टाचारको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राजीनामा गरेका राजनारायण पाठकले घूस मागेको भिडियो अख्तियारको जिम्मा लगाइएको छ ।

बिहीबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नै कार्यालयमा बोलाएर उक्त भिडियो जिम्मा लगाएका हुन् । “मैले अख्तियारका प्रतिनिधिलाई यहीँ बोलाएर दुई वटा पेनड्राइभमा भिडियो जिम्मा लगाएँ,” उपनेता नेम्वाङले काठमाडौंप्रेससँग भने ।

यस अघि पाठकमाथि महाभियोग लगाउने तयारी गरिएको उनले खुलाए । नेम्वाङले भने, “हामीले तीनै भिडियो प्राप्त भएपछि पाठकमाथि महाभियोग दर्ता गर्ने तयारी गरेका थियौँ । बीचैमा उहाँले राजीनामा गर्नुभयो । अब त्यो घुसकाण्ड छानबिन गर्ने जिम्मा अख्तियारको हो । भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउन सहयोग होस् भनेर हामीले सो भिडियो बुझाएका हौं ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सदस्य राजनारायण पाठकले घूस लिनेबारे ‘डिल’ गरेको भिडियो सार्वजनिक भएपछि अघिल्लो साता उनले राजीनामा गरेका थिए । उक्त विषयलाई छानबिन गर्न अख्तियारले सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

घूसकाण्डको न्यायिक छानबिन गरी विशेष अदालतमा मुद्दा दायर हुने नेम्वाङको विश्वास छ ।

 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, फागुन ९, २०७५