Kathmandu Press

डा.केसीको अनशन आजै तोडाउने तयारी

काठमाडौं, माघ १८ : झण्डै तीन सातादेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीले आजै अनशन तोड्ने  

 डा.केसीको अनशन आजै तोडाउने तयारी

काठमाडौं, माघ १८ : झण्डै तीन सातादेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीले आजै अनशन तोड्ने  सम्भावना छ । उनलाई अनशन तोड्न आग्रह गर्ने गरी अहिले छलफल चलिरहेको छ । 

सरकारले एकलौटी रुपमा डा.केसीसँग भएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधयक पारित गरेपछि उनका समर्थकहरूले समेत अनशन तोडेर अर्को चरणको छलफलमा जुट्न आग्रह गर्दै आएका छन् । 

डा.केसीको अनशन तोडाउने विषयमा छलफल गर्न अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारवादी दमननाथ ढुंगाना, यसअघि सरकारले चिकित्सा शिक्षाका विषयमा सुझाव लिन गठन गरेको केदारभक्त माथेमा कार्यदलका सदस्य लगायत छलफलमा छन् । 

“हामी अहिले आजै अनशन तोडाउने गरी छलफलमा छौँ, डा.केसी अझै मान्नु भएको छैन, तर अबेरसम्म अनशन तोडिन्छ,” डा.केसी निकट एक चिकित्सकले काठमाडौं प्रेससँग भने, “अहिले अनशन तोडेर अर्को किसिमको आन्दोलनमा जाने भन्ने विषयमा छलफल भइहेको छ ।’

डा.केसी आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गर्दै विगत २२ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अहिले निकै गम्भीर बन्दै गएको छ । उनका समर्थकहरूले पनि सरकारले सम्झौता गर्ने कुनै संकेत नगरेको भन्दै अहिले अनशन तोडेर दोस्रो चरणको आन्दोलनमा लाग्नुपर्ने सुभाव दिँदै आएका छन् । 
 

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, माघ १८, २०७५