Kathmandu Press

भेनेजुएलाको सत्ता पलटः बल्ल बोल्यो नेपाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा भएको सत्ता परिवर्तनमा अमेरिकी भूमिकाको निन्दा गरेको तीन दिनपछि सरकारले त्य

भेनेजुएलाको सत्ता पलटः बल्ल बोल्यो नेपाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा भएको सत्ता परिवर्तनमा अमेरिकी भूमिकाको निन्दा गरेको तीन दिनपछि सरकारले त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छ । 

परराष्ट्र मन्त्रालयले अहिले भर्खरै एक विज्ञप्ति जारी गर्दै भेनेजुएला संकटको समाधान संविधानको परिधिभित्र, प्रजातान्त्रिक तवरले र वाह्य हस्तक्षेपबिना हुनुपर्ने प्रतिक्रिया दिएको छ । 

भेनेजुएलाको आगामी संवैधानिक एवं राजनीतिक मार्गचित्र कोर्ने अधिकार त्यहीँका जनतामा निहित रहेको धारणा नेपालले व्यक्त गरेको छ ।

नेपालले आफू भेनेजुएलामा शान्ति, स्थिरता र एकताको पक्षमा रहेको भन्दै त्यहाँको संकटको शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा प्रकट गरेको छ ।

दाहालको विज्ञप्तिमा झै परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा पनि भेनेजुएलामा वाह्य हस्तक्षेप हुनु नहुने धारणा व्यक्त गरिएको छ, तर कुटनीतिक रुपमा । दाहालले चाहिँ भेनेजुएला प्रकरणमा अमेरिकाको कडा भत्सर्ना गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली डाभोस बैठकबाट फर्किन लागेको बेला गत शुक्रबार प्रचण्डको विज्ञप्ति आएको थियो । तर, प्रधानमन्त्री ओलीले चाहिँ यस विषयमा बोलेका थिएनन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले यस विषयमा दुई अध्यक्षबीच सल्लाह हुनै नपाएको बताएका थिए, जसले सत्तारुढ नेकपा रुपमा पार्टी भए पनि सारमा मोर्चा नै रहेको देखाएको थियो ।

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, माघ १५, २०७५