Kathmandu Press

ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक

काठमाडौं, चैत २७ : मानव जातिले यसअघि कहिल्यै नदेखेको रहस्यमयी बस्तुको तस्वीर बुधबार देखेको छ। यो तस्वीर हो – ब्ल्याक होलको।

ब्ल्य....

ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक

काठमाडौं, चैत २७ : मानव जातिले यसअघि कहिल्यै नदेखेको रहस्यमयी बस्तुको तस्वीर बुधबार देखेको छ। यो तस्वीर हो – ब्ल्याक होलको।

ब्ल्याक होल शताब्दियौंदेखि वैज्ञानिक बहसको विषय बन्दै आएको थियो। धेरै वैज्ञानिकहरूले ब्रम्हाण्डमा ब्ल्याक होल छ भन्ने दाबी–तर्क पेश गर्दै आएका थिए। तर, कसैले पनि ब्ल्याक होलको तस्वीर खिच्न सकेका थिएनन्।

अहिलेसम्म चलचित्र निर्माता, कलाकार र कम्प्युटर ग्राफिक डिजाइनरहरूले तयार पारेका काल्पनिक तस्वीरहरूकै आधारमा ब्ल्याक होल यस्तो होला भन्ने अनुमान गरिँदै आएको थियो।

तर, अमेरिकी खगोलशास्त्रीहरूले बुधबार वाशिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा  ब्ल्याक होलको पहिलो वास्तविक तस्वीर सार्वजनिक गरे। तस्वीरमा रातो–पहेँलो आगोजस्तो घेराबीचको एउटा कालो भाग देखिन्छ। यो कालो भाग नै ब्ल्याक होल हो।

चिलीमा रहेकाे एक इभेन्ट होराइजन टेलिस्कोप एन्टेना

ब्ल्याक होल ब्रम्हाण्डको एउटा यस्तो दूलो हो, जुन अत्यन्तै गहिरो, सघन र अनन्त छ। ब्ल्याक होलमा पस्ने हरेक कणहरू यसैको अनन्ततामा बिलाउँछन्। यो प्वालमा प्रकाशसमेत छिर्न सक्दैन। यहाँ समयको कुनै माने हुँदैन।

ब्ल्याक होलको पहिलो तस्वीर प्रस्तुत गर्दै हावर्ड–स्मिथसोनिएन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलशास्त्री शेप डोलेम्यानले भने, ‘हामीले ब्रम्हाण्डको त्यो हिस्सा देखेका छौँ, जुन कहिल्यै देख्न पाइएको थिएन। जसलाई देख्नु असम्भवप्रायः ठानिएको थियो।’

बुधबार सार्वजनिक गरिएको तस्वीर पृथ्वीबाट ५५ मिलियन प्रकाश वर्ष टाढाको ब्ल्याक होलको हो। यो तस्वीर लिन इभेन्ट होराइजन टेलिस्कोप भनिने रेडियो एन्टेनाहरू प्रयोग गरिएका थिए। यी एन्टेनाहरूको सञ्जाल मार्फत संकलित आकृतिहरूलाई दुई वर्षसम्म कम्प्युटरमा राखेर विश्लेषण गरिएको थियो। ती आकृतिहरू सन् २०१७ को अप्रिल महिनामा विभिन्न चार महादेशका ६ हिमाल–पहाडमा राखिएका रेडियो एन्टेनाहरूले १० दिन लाएर सङ्कलन गरेका थिए।

वाशिङ्टनमा बुधबार पहिलोपटक यो तस्वीर सार्वजनिक गरिँदा पत्रकार सम्मेलन हलमा तालीको गडगडाहट सुनिएको थियो। 

प्रकाशित मिति: २१:३९ बजे, बुधबार, चैत २७, २०७५