रोबोटबाट पाठेघर प्रत्यारोपण गराएकी महिलाले जन्माइन् बच्चा
रोबोटको सहयोगमा पाठेघरको प्रत्यारोपण गराएकी महिलाबाट पहिलो सन्तान जन्मिएको छ। पहिचान नखुलाइएकी ती महिलाले सन् २०१७ मा आमाको पाठेघर प्रत्यारोपण गरेकी थिइन्। शल्यक्रियाक....

रोबोटको सहयोगमा पाठेघरको प्रत्यारोपण गराएकी महिलाबाट पहिलो सन्तान जन्मिएको छ। पहिचान नखुलाइएकी ती महिलाले सन् २०१७ मा आमाको पाठेघर प्रत्यारोपण गरेकी थिइन्। शल्यक्रियाका क्रममा आमाको पेटमा एक सेन्टिमिटर लामो ‘इन्सिजन’ गरिएको थियो।
चिकित्सहरूले रोबोट हातको प्रयोग गरेर पाठेघर काटे। त्यसपछि अंगदाताको शरीरबाट पाठेघर निकाले लगत्तै ‘ओपन सर्जरी’ गरेर प्रत्यारोपण गरिएको थियो। यो विधि अंगदान गर्ने व्यक्तिका लागि पनि सहज हुने चिकित्सहरुले आशा गरेका छन्।
‘दाताहरूका लागि हामी यो प्रक्रिया सकेसम्म जोखिममुक्त बनाउन चाहन्छौं,’ डा. लिजा योहान्सनले भनिन्। उनी डाल्लासस्थित बेलर युनिभर्सिटी मेडिकल सेन्टरकी गाइनेकोलोजी ओङकोलोजी सर्जन हुन्। सन् २०१२ मा उनले नै स्वीडेनमा पहिलो पटक पाठेघर प्रत्यारोपण गर्न सहयोग गरेकी थिइन्।
पाठेघर प्रत्यारोपण गरेकी महिला स्वीडेनमा बस्छिन्। आमाको पाठेघर प्रत्यारोपण गर्नुअघि उनले ‘भिट्रो फर्टिलाइजेसन’ उपचार गरेकी थिइन्। शल्यक्रिया गरेको दश महिनापछि, एउटा भ्रुण प्रत्यारोपण गरियो। त्यसको केही सातामै, महिला गर्भवती भएको चिकित्सकले पुष्टि गरे। उनीहरूले बच्चाको मुटुको धड्कन पनि सुने।
‘उनीजस्तो विशेष, र लामो समयदेखि प्रतिक्षा गरिएको बच्चा जन्माउन पाउनु गज्जबको अनुभव हो,’ डा. पेर्निला डाह्म–कालरले बताइन्। उनी पनि प्रत्यारोपण शल्यक्रिया टोलीका सदस्य थिए।
पाठेघर प्रत्यारोपणबाट विश्वभर १५ जना बच्चा जन्मिएका छन्। तर, रोबोटको सहयोगमा गरिएको पाठेघर प्रत्यारोपणबाट बच्चा जन्मिएको यो नै पहिलो घटना हो।
‘पाठेघर प्रत्यारोपण गरेर गर्भवती भएपछि पाठेघर निकाल्नुअघि अर्काे बच्चा पाउन चाहे–नचाहेकोबारे सम्बन्धित महिलालाई सोधिन्छ,’ योहान्सनले भनिन्।












