Kathmandu Press

विप्लव समूहका नेता हेमन्त प्रकाशलाई थुनामा राख्न प्रहरीलाई बाटो खुला

काठमाडौं, चैत २७ : सर्वोच्च अदालतले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘....

विप्लव समूहका नेता हेमन्त प्रकाशलाई थुनामा राख्न प्रहरीलाई बाटो खुला
फाइल फोटो

काठमाडौं, चैत २७ : सर्वोच्च अदालतले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई थुनामा राख्न बाटो खुला गरिदिएको छ।

नेता ओलीकी छोरी विपनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएपछि थुनामा राख्न बाटो खुला भएको हो। सर्वोच्चका न्यायाधीशद्वय टंक मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्ने फैसला गरेको छ। 

चैत १३ गते आफ्ना बुवालाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गराउन माग गर्दै विपनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चलले नेता ओलीलाई अदालतमा उपस्थित गराउन यसअघि आदेश दिएको थियो।

ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयमा भएको बम विष्फोटनको जिम्मा विप्लव समूहको नेकपाले लिएपछि नेता ओलीलाई प्रहरीले पक्राउ गरेको थियो। नेता ओलीलाई प्रहरीले गत चैत ९ गते काभ्रेको खानीखोला गाउँपालिका–४ बरूणबेसीबाट पक्राउ गरेर थुनामा राखेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले नेता ओलीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, चैत २७, २०७५