Kathmandu Press

चीनले भन्यो–जेठ १७ देखि तातोपानी नाका खोलौं

काठमाडौं, चैत २७: चिनियाँ पक्षले आगामी जेठ १७ गते (३१ मे) देखि तातोपानी नाका सञ्चालन गर्न लागेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ। भूकम्पपछ....

 चीनले भन्यो–जेठ १७ देखि तातोपानी नाका खोलौं

काठमाडौं, चैत २७: चिनियाँ पक्षले आगामी जेठ १७ गते (३१ मे) देखि तातोपानी नाका सञ्चालन गर्न लागेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ। भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीनले पत्र पठाएर जानकारी दिएको हो।

०७२ वैशाख १२ गते भूकम्पमा भौतिक संचरना भकिएपछि चीनले तातोपानी नाका बन्दको घोषणा गरेको थियो। तीन वर्षपछि चीनसँगको नाका पुनः खुल्न लागेको हो।दुबै देशले जेठ १७ गतेबाट चीनसँगको सबैभन्दा छोटो तातोपानी नाका खुलाउनका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जनाएका छन्।

भूकम्प लगत्यै चीनले खासा शहरलाई सारेको थियो। चीनले भूकम्पनमा भत्किएका संरचना पुनर्निर्माण गरिसकेको छ। नेपालतर्फ भने खासै पुनर्निर्माण भएको छैन। सडक निर्माणको काम भने अन्तिम चरणमा पुगेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नाका संचालनको विषयमा चासो दिएपछि सरकारी प्रतिनिधि मण्डल दुई दिन अघि निरीक्षणको लागि तातोपानी नाका पुगेको थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले तातोपानीको निरीक्षण गरेको थियो।

निरीक्षणपछि टोलीले प्रधानमन्त्री ओलीलाई आगामी जेठ १७ बाट नाका सञ्चालनमा ल्याउन सकिने ब्रिफिङ गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए। 

यस अघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले तातोपानी नाका संचालन गराउने पहल गर्न माग गरेका थिए। यता निरीक्षणको क्रममा गएका सिन्धुपाल्चोकै सांसद अग्नि सापकोटाले पनि अब नाका सञ्चालनमा आउन समस्या नरहेको बताएका छन्।

‘जेठ १७ देखि नाका सञ्चालन गर्न नेपाल र चिनियाँ पक्ष तयार रहेकाले अब तातोपानी नाका खुल्ने छ,’ पूर्वमन्त्री समेत रहेका सापकोटाले भने, ‘भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न सीमा क्षेत्रदेखि बसेरीसम्म चीनियाँ पक्षले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय, चरिकोटले सडक निर्माण गरिरहेको छ।’

त्यस्तै, चीनले सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। तातो पानी नाका बन्द हुँदा सामान ढुवानी तथा निकासीमा समस्या हुँदै आएको थियो। केरुङ नाका सञ्चालनमा ल्याइएको भएपनि धेरै लामो बाटो पर्ने भएकाले ढुवानी खर्च महँगो पर्ने व्यवसायीले बताउँदै आएका छन्।

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, चैत २७, २०७५