नियम उल्लंघन गरी विमानस्थल बन्द भएको १७ मिनेटपछि फ्लाई दुबईलाई उडान अनुमति
काठमाडौं, चैत २७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललले उडान बन्दसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान ....
काठमाडौं, चैत २७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललले उडान बन्दसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिएको छ।
विमानस्थले धावनमार्ग मर्मतका लागि १० बजेदेखि विमानस्थल बन्द गरेको थियो । बन्द भएको विमानस्थल १७ मिनेटपछि खुलाएर उडान अनुमति दिएको पाइएको छ । तर, एक साता अघि नेपाल वायुसेवा निगमको जहाजलाई चार मिनेट समय थप नगर्दा रातभर यात्रु जहाज भित्रै बस्नु परेको थियो।
विमानस्थलको धावनमार्ग मर्मतका लागि भन्दै गत चैत १८ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ। नोटाम उल्लंघन गर्दै फ्लाई दुबई उडान नं. एफजेड ५७४ लाई मंगलबार राति उडान अनुमति दिएको हो । गत साता भने नोटाम व्यवस्था देखाएर दुबईका लागि उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ विमानस्थलमै रातभर रोकिनु परेको थियो । जसका लागि सरकारले छानविन समिति समेत गठन गरेको छ।
विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने निगमको जस्तै यात्रुहरू रातभरी जहाजमा पर्ने देखिएर उडान अनुमति दिएको जनाएका छन् । ‘यात्रुको मानवियतालाई हेरेर अनुमति दिएका हौ,’ क्षेत्रीले भने।
तर छानविन प्रतिवेदन नआउदै विमानस्थल व्यवस्थापनले भने पुनः गम्भीर गल्ती गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए । ‘नोटाम लगाएको १७ मिनेटपछि विमानस्थल खोलेर उडान गराउनु भनेको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो,’ मन्त्रालयका ती अधिकारीले भने।
मंगलबार राति १०ः१७ बजे फ्लाई दुबईको बोइङ–७३७ विमानले विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान भरेको थियो । फ्लाई दुवईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका राखेको थियो। निगमको गत १९ गते मंगलबार राति ९ः१५ मा उडान तालिका भएपनि त्रिभुवन विमानस्थलले १० बजेसम्म पनि उडान भर्ने अनुमति दिएको थिएन।






